|

जुम्ला : नेपाल विद्युत प्राधिकरण जुम्ला शाखाले बिजुली नियमित प्रवाह नगरेपछि जुम्लावासी आक्रोशित बनेका छन्‌। एक सातासम्म पनि जुम्ला खलंगा अन्धकारमा बस्दा विकल्प खोज्न नसक्ने विद्युत प्राधिकरणको शाखा जुम्लामा बस्नुको औचित्य नरहेको उनीहरूले बताएका छन्‌।

जिल्ला प्रशासनमा भएको सर्वपक्षीय छलफलमा प्राधिकरणले जसरी पनि जुम्लामा बिजुली नियमित गर्नुपर्ने माग राखेका हुन्‌। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जेनेरेटरबाट भएपनि जुम्लावासीलाई बत्ती दिनुपर्ने बताए। उनले भने, ‘विद्युतगृहको मेसिन बिग्रेपनि दुईवटा डिजेल प्लान्टबाट विद्युत आपुर्ति गर्नुस या नियमित बत्ति दिनुस्‌। नसक्ने भए कार्यालय बन्द गरेर फिर्ता जानुहोस्‌, हामी अन्धकारमै बस्न सक्दैनौँ, विद्युत नियमित गर्न जुम्लावासी सधैँ साथ दिन तयार छौँ, तर काम गर्नुस्‌।’

उनले सबै भीआइपी लाइन काटेर एकै प्रकारको विद्युत सेवा दिन पनि आग्रह गरेका छन्‌। बजारमा विद्युतका कर्मचारीले तलब नपाउँदा विद्युत बन्द गरिएको हल्ला फैलिएको बताउँदै अध्यक्ष महतले भने, ‘भिआइपीको लाइन काट्नुस, कर्मचारीको आन्तरिक समस्याका कारण विद्युत बन्द गर्नुपर्ने अवस्था तत्काल बन्द गर्नुहोस्।’

बिजुली अभावले सञ्चारमाध्यम प्रभावित 

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले बिजुली अभावले यहाँस्थित सञ्चारमाध्यम प्रभावित भएको बताए।

उनले भने, ‘पत्रपत्रिका प्रकाशन गर्न कठिन छ, रेडियो सबै बन्द हुने अवस्थामा पुगिसके, मोबाइलमा चार्ज नहुँदा निकै ठूलो समस्या छ, विद्युत प्राधिकरणले विकल्प दिनुपर्छ।’

स्मार्ट सिटीको नारा दिएको नगरपालिका वर्षौंदेखि अन्धकार 

स्मार्ट सिटीको नारा दिएर बनाइएको चन्दननाथ नगरपालिकामा बिजुली प्रवाहको अवस्था निकै दयनीय छ।

जुम्ला विद्युत गृहमा रहेका दुई मेसिनबाट २ सय ४० किलोवाट विद्युत निस्कन्छ। तीन हजारभन्दा बढी ग्राहक छन्। २०४० सालमा स्थापना भएको विद्युतगृह जीर्ण हुँदै जाँदा पनि प्राधिकरणले कुनै विकल्प अघि सारेको छैन।

प्रयोग भइरहेको तार पुरानो हुँदै जाँदा उत्पादन भएको विद्युत प्रवाह कम हुने समस्या भइरहेको नेपाल विद्युत प्राधिकरण जुम्ला शाखाका प्राविधिक प्रमुख हिमन्त शाहुले बताए।

जुम्लाको गाउँतिर बत्ती झिलिमिली हुँदा बजार अँध्यारो हुनेगर्छ। सुक्ष्म तवरले अनुसन्धान गरी दीर्घकालिन रूपमा समस्या समाधान निम्ति पहल गर्न राजनीतिक दल र सरोकारवाला सबैलाई जुम्लावासीले आग्रह गरेका छन्‌।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.