‘घरमै बसेर निको हुन खोज्दा संक्रमितको अवस्था गम्भीर’

|

काठमाडौं : सरकारले सार्वजनिक गरिरहेको तथ्याङ्कलाई पत्याउने हो भने पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितसंख्या दिनहुँ घटिरहेको छ। संक्रमितको सम्पर्कमा आएकाहरूमा गरिने 'कन्ट्याक्ट ट्रेसिङ' र परीक्षणदर नै कम गर्दा संक्रमितको पहिचान पनि घटेको हो।

केही समयअघि नेपालमा दैनिक चार हजारभन्दा बढी संक्रमित भेटिन्थे। तर, हाल दैनिक दुई हजार हाराहारीमा संक्रमित भेटिन थालेका छन्। सक्रिय संक्रमितसंख्या पनि घटिरहेको छ।

हालसम्म नेपालमा २ लाख ३७ हजार ५ सय ८९ जनालाई कोरोना संक्रमण भएको छ। यतिखेर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ छ। कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।

यसअघि मंगलबार ४ सय ३३, सोमबार ४ सय ३३ र आइतबार ४ सय १४ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत थिए। नयाँ संक्रमित र सक्रिय संक्रमित घट्दै गएपनि भेन्टिलेटर र आइसीयूमा उपचार गराउनेको संख्यामा भने घट्न नसकेको यो तथ्यांकले देखाउँछ।  

किन घटेनन् बिरामी ?

नेपालमा ​चिसो शुरू भइसकेको छ। यस्तो अवस्थामा जोखिमयुक्त समूह (ज्येष्ठ नागरिक, दीर्घरोगी) मा रहेकाहरू बढी जोखिममा छन्।

पछिल्लो समय संक्रमितहरू ढिलो गरी चिकित्सककहाँ पुग्ने गरेका छन्। ढिलोगरी अस्पताल पुग्दा उनीहरूको स्वास्थ्य बिग्रिसकेको हुन्छ। ​त्यहीकारण उनीहरूलाई आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बाध्यता निम्तिएको शिक्षण अस्पतालमा कोभिड संक्रमितको उपचार गरिरहेका छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन्।

उनका अनुसार लकडाउन खुलेसँगै धेरै मानिस नियमित काममा फर्किएका छन्। पर्याप्त हेरचाह नपाउँदा होम आइसोलेसनमा रहेका संक्रमित अप्ठ्यारोमा परेका छन्। उनीहरू स्वास्थ्य बिग्रिसके पछिमात्रै चिकित्सकको सम्पर्कमा आउने गरेका छन्। त्यहीकारण आइसीयू र र भेन्टिलेटरमा जाने संक्रमित बढेका हुन्।

‘लकडाउन हटेपछि संक्रमण घरघरमा पुगेको बेला मानिसहरू आफ्नो पेसा व्यवसायमा फर्किए, जसले गर्दा घरमा बसेका संक्रमितले राम्रो हेरचाह पाएनन्', डा. बम भन्छन्‌, 'अर्कोतर्फ मानिसले कोभिडलाई केही होइन भनी बेवास्ता गर्दै ढिलो अस्पताल पुग्दा धेरैलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएको छ।'

पछिल्लो समय अस्पतालमा कोरोनाको नि:शुल्क उपचार हुन छाडेको छ। संक्रमण हुने डर मानिसहरूमा घट्दै गएको छ। कडा लक्षणसहितका संक्रमित पनि रुघाखोकी लाग्दा झैं घरेलु उपचारबाटै निको हुन थालेका छन्‌। त्यहीकारण ढिलो परीक्षण गराउने र समयमै उपचार नगराउँदा आइसीयूमा जाने संक्रमित नघटेका हुन्‌।

शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘कडा लक्षणसहितका संक्रमित पनि कोरोनासँग डराउने गरेको देखिएन, त्यहीकारण संक्रमितहरू चिकित्सक र स्वास्थ्य संस्थाको सम्पर्कमा आउन छाडेका छन्, यो क्रम बढेको छ। एकदमै गाह्रो भएपछि मात्रै बिरामी आउने गर्दा सीधै आइसीयू र भेन्टिलेटरमा राख्नुपरेको छ।'

होम आइसोलेसनमा बसेका युवा अवस्थाका संक्रमितहरू विभिन्‍न माध्यमबाट चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको सम्पर्कमा रहने गरेका छन्। तर, धेरै उमेर भएका संक्रमितहरू होम आइसोलेसनमा बसेर पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा सजिलैगरी पुग्न सकेका छैनन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.