तनहुँमा रामचन्द्रलाई रोक्नु गलत भएको जिकिर

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बिहीबार बोल्दै पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। पार्टीको समस्या मिलाउन ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्रै लिनुपर्ने उनले जिकिर गरे। 

'ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,' उनले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताउँदै भने, 'पार्टी कसैले फुटाउनु हुँदैन, एक बनाउनैपर्छ।'

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलले बताए। उनले ओलीले पार्टीको निर्णय मान्‍नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए। 

‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले जोड दिँदै भने। पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिएका छन्। ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए।

नेकपा विवादले संकटपूर्ण अवस्था ल्याएको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए। सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमा गहन छलफल गरेर मात्रै निकास निस्कने उनले बताए। त्यसका लागि ओली पद त्याग्‍न तयार हुनुको विकल्प नभएको पौडेलले बताए।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनले उल्लेख गरे। प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उनले बताए। छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उनको तर्क छ। ‘ओली र दाहालबीच मिल्नुको विकल्प छैन,’ उनले अगाडि थपे। 

फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको बताएका छन्। 'लोकतन्त्र हाम्रो जीवनपद्धति हो, पौडेललाई नियन्त्रणमा लिन दुखद कुरा हो', उनले भने। 

वरिष्ठ नेतालाई सम्मान गर्नुपर्ने भन्दै उनले तनहुँको घटनामा पार्टीको संलग्‍नता नरहेको दावी गरे। 'पार्टीको संलग्‍नता छैन, जिल्ला प्रशासनको काम हो। कार्यक्रममा रोक लगाउनु हुँदैनथ्यो। निषेधाज्ञा जारी गर्नु गलत हो', उनले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.