|

काठमाडौं : प्रहरीले काठमाडौंका विभिन्न स्थानलगायत सुनसरी, धादिङ, बैतडी र झापाका विभिन्‍न स्थानबाट लागुऔषधसहित कारोबारीहरूलाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित एमाउन्ट धौलागिरी ग्यारेजबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर, नगद ७३ हजार रुपैयाँ, २ थान डिजिटल तौल मसिन, १ थान मोटरसाइकल र ४ थान मोबाइल सहित काठमाडौं बनस्थली बस्ने गोरखा भिमसेन गाउँपालिका-७ घर भएका ३० वर्षीय राजु ढकाललगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, काठमाडौंको सुविधानगरबाट २ सय ७० चक्की नियन्त्रित लागुऔषध नाइट्राभेट सहित भक्तपुर दुवाकोट डेरा गरी बस्ने काभ्रे कालढुङगा घर भएका २५ वर्षीय जीवन बोलखेलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ। लागूऔषध बिक्री  गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ।

त्यस्तै, सुनसरी, धरान उपमहानगरपालिका- १० धर्मपथ बस्ने ४८ वर्षीय पूर्णबहादुर लिम्बू र सोही उपमहानगरपालिका-११ बस्ने ५० वर्षीय साखुरा लिम्बुलाई नियन्त्रित लागूऔषध एकसय एमएलको ३६ थान डाइलेक्स डिसी, ७२ क्याप्सुल स्पास्मो प्रोक्सभिन, १ थान ईयर गन, १ थान तरवार, २ थान चक्कु र प्लाष्टिकको

१ थान नक्कली पेस्तोलसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनीहरुले  घरमा लागूऔषध संचित गरी राखेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र  ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र हतियारसहित पक्राउ गरेको थियो।

त्यस्तै, धादिङ, गजुरी गाउँपालिका-२ मलेखु बजारबाट करिब २ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने ४० वर्षीय खिलमान बुवाजु र दाङ लमही नगरपालिका-५ बस्ने २१ वर्षीय प्रकाश गाह मगर छन्।

त्यस्तै, बैतडी, पुर्चौडी नगरपालिका-६ मुडेली धारबाट करिब १० किलो अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित पुर्चौडी नगरपालिका-४ शिबाओ घर भई हाल बझाङ बुङ्गल नगरपालिका-९ बस्ने ३० वर्षीय मान बहादुर धानुकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

झापा, झापाको विभिन्न स्थानबाट ४८ ग्राम ५ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका-६ बस्ने २५ वर्षीय  आशिष थापा र बुद्धशान्ति गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रिन्स खनाल रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.