|

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन्। 

थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहले भेला गरेका हुन्। नेकपामा दुई अध्यक्षबीच विवाद चर्किदै गएका बेला दाहाल–नेपाल समूहका विद्याथीहरु भेला भएका हुन्।

विद्यार्थीहरुको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन्। भेलालाई सम्बोधन गर्न गएकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने बताइन्। 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भाग लिन्न भन्न नपाउने उनले बताइन्। बैठकमा भाग लिएर निकास दिनुपर्ने शाक्यले बताए। उनले भनिन्, ‘भोलिको सचिवालयको बैठक हुनैपर्छ। ​अस्ति अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठकमा म आउँदिनँ, म बस्दिनँ, म छलफलमा भाग लिन्नँ भनेर भन्नुभयो। प्रचण्डको प्रतिवेदन पनि म मान्दिनँ भन्नुभयो। यो भन्न उहाँले पाउनुहुन्न। त्यसैले निकास बैठकबाटै हुनुपर्छ।’

दुईवटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा गइनसक्ने पनि नेता शाक्यले बताइन्। भोलिको सचिवालयमा बसेर संयमताका साथ बहस गर्न नेताहरुलाई आग्रह गरिएको पनि शाक्यले बताइन्। ‘दुईवटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छ भन्ने मलाई पटक्कै लाग्दैन।

त्यसैले पहिलो कुरा भोली सचिवालयको बैठकमा बस्ने र उहाँले दुई वटै प्रतिवेदन अगाडि राखेर अत्यन्तै संयमतताका साथ, नैतिकताका साथ लागेका कुराहरु खुलस्त ढंगले एक अर्कामा आलोचना नै गरेर प्रस्तुत भएर छलफल गर्ने हो भने एक दुई दिन जान्छ होला। त्यसपछि एउटा निष्कर्ष आउँछ। अब कसरी एक ढिक्का बनाएर पार्टीलाई लैजाने भन्ने कुरामा निष्कर्षमा पुग्नैपर्छ। त्योभन्दा अरु विकल्प खोज्नुभयो भने नोक्सान हुन्छ।’

भेलालाई सम्बोधन गर्न पुगेकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरुसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गरिन्।

समस्या समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्न भन्नुभएको हो। भोलिको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन। आफैंले ३८ पेजको प्रस्ताव पेस गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ। ती प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुन्न। उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्या सामना गर्नुपर्छ। समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन।’

उनले जसले समस्याको छलफल गर्न सक्छ वा अन्तर विरोधको हल गर्न सक्छ त्यो मात्रै सही नेतृत्व हुने बताइन्। 

भेलालाई दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरे लगायतले सम्बोधन गरेका थिए। भेलामा पत्रकारहरुलाई प्रवेश गर्न दिइएको थिएन। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.