|

काठमाण्डौं : कोरोना भाइरस (कोभिड–१९) महामारीको बीचमा पनि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायबाट निर्माणाधीन विकास आयोजनाहरुको प्रगति सन्तोषजनक देखिएको छ।

मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (एम्ड्याक) बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनहरुले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति औंल्याएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित बैठकमा ऊर्जा मन्त्रालयतर्फका ९, जलश्रोत तथा सिँचाइतर्फका ४ निकायका प्रमुख तथा प्रतिनिधिले योजनाको प्रस्तुतीकरण गरेका थिए।

जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत् विकास विभाग, विद्युत् विकास दशक कार्ययोजना आयोजना, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, जलश्रोत तथा सिँचाइ विभाग, जल तथा मौसम विज्ञान विभाग, जलश्रोत  अनुसन्धान तथा विकास केन्द्र, भूमिगत जलश्रोत विकास समिति र जल तथा ऊर्जा आयोगको सचिवालयले प्रगति विवरण पेस गरेका हुन्। 

ऊर्जा मन्त्रालयले पछिल्ला चार महिनामा ७८ प्रतिशत वित्तीय र ७७.८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। यस्तै सिँचाइतर्फको वित्तीय प्रगति ४२.६६ र भौतिक प्रगति ७३. ६४ छ।

मन्त्रालयको समस्टिगत वित्तीय प्रगति ६८.७३ प्रतिशत र भौतिक प्रगति ७६. ७४ प्रतिशत छ। मन्त्रालयको  ०७७/७८ का लागि कुल बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो।

जसमा १४ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ। यो कुल चौमासिक बजेटको ६८.७३ प्रतिशत हो । ऊर्जा तर्फका ४० मध्ये ११ आयोजनाको प्रगति ८० देखि १ सय प्रतिशतसम्म देखिएको छ।

यस्तै १२ वटा आयोजनाको प्रगति ५० देखि ८० प्रतशितसम्म छ। यस्तै ५० प्रतिशत वा सोभन्दा कम प्रगति भएका आयोजनाको संख्या १७ छ। कुल ३३ आयोजना रहेका सिँचाइतर्फका १९ आयोजनाको प्रगति ८० देखि १ सय प्रतिशत छ। ५० देखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको संख्या ७ छ। यस्तै ७ वटा आयोजनाको प्रगति भने ५० प्रतिशतभन्दा कम छ।

विकासमा कसैले अवरोध गरे मलाई भन्नुहोस् : मन्त्री पुन

बैठकको अध्यक्षता गरेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले कोभिड–९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै खुसी व्यक्त गरे।

उनले प्रथम चौमासिकमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिए। ‘कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तीय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुसीको कुरा हो’, मन्त्री पुनले भने, ‘आगामी दिनहरूमा मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर योभन्दा राम्रो प्रगति देखिने गरी काम गरौं।’

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ हुने मिल्ने गरी काम गर्न निर्देशन दिए। मुआब्जा वितरण अगावै ठेक्‍काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उनको भनाइ छ।

‘विगतमा इआइए नगरी, जमिनको मुआब्जा टुंगो नलगाई ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्’, मन्त्री पुनले भने, ‘तपाईं कर्मचारीको जागिर छ। ​बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन। तर, २-४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुंगा हान्न आउँछ। त्यसैले जमिन गए पनि विकास आयोजनाको लाभ किसानले पाउने अवस्थामा कसैको अवरोध हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.