|

पर्वत : सडकमा सञ्चालनमा रहेकै अवस्थामा निर्माणको काम गर्दा जोखिम हुने भएकोले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ।

राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डको कतिपय ठाउँमा कटान गरेर सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रेको काम चलिरहेको छ।

कालोपत्रेको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भीर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण बन्द गर्ने निर्णय भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्काका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले मङ्सिर २१ गते आइतबारदेखि दुई हप्तासम्म सडक बन्द गर्ने निर्णय भएको हो।

लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा नगरपालिका–७ खरेहादेखि वडा–८ को दोबिल्ला बीचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय भएको छ। यसअनुसार बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द हुने भएको हो।

लकडाउनमा विभिन्न समस्याका कारण सडकको काम रोकिएको भए पनि यतिबेला भने तीव्र गतिमा काम भइरहेको छ। कोभिड–१९ का कारण झन्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि सुरु भएको थियो। अहिलेसम्म लोक मार्गको झन्डै ७० प्रतिशत काम सम्पन्न भएको छ।

खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्ला बीचको दूरीमा रहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्द नै गरेर निर्माण कार्य बढाउन लागिएको हो।

सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए।

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्म २३ दशमलव ७६ किलोमिटर स्तरोन्नतिको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो।

पर्वत खण्डको २३ किलोमिटरमध्ये स्ट्रक्चरको काम ९८ प्रतिशत सकिएको छ। बागलुङको सिमाना मालढुंगादेखि नयाँपुलसम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.