'गोदी मिडिया' : जो लखेटिँदैछ

|

सिंघु बोर्डरमा हामी एक किसान आन्दोलनकारीसँग कुरा गरिरहेका थियौं। एउटा पोस्टर बोकेको व्यक्ति हाम्रो क्यामेराको फ्रेममा देखिनेगरी आयो। 
त्यो पोस्टरमा लेखिएको थियो, 'मीडियावालाहरू, कृपया सत्य बोल।'

किसान आन्दोलनका क्रममा न्यूनतम समर्थन मूल्य (एमएसपी) पछि सबैभन्दा धेरै सुनिएको शब्द हो 'गोदी मीडिया।' 

यो वाक्यांश भारतीय मीडियाका ती हिस्साप्रति लक्षित गर्दै प्रयोग गरिएको छ, जो प्रदर्शनकारीका नजरमा सरकारी पक्षधर हुन् र किसान आन्दोलनबारे आधारहीन एवम् नकारात्मक समाचार प्रसारित गरिरहेका छन्।

पहिले मानिसहरू जुन मीडियाको माइक देखेर आफ्ना कुरा भन्न आउँथे, अहिले उनीहरूले त्यस्ता च्यानलका माइक बोकेका पत्रकारहरूलाई नै लखेट्न थालेका छन्।

क्यामेराम्यान र हातमा माइक लिएका रिपोर्टर देख्नासाथ गोदी मीडिया गैहाल भन्ने नारा लागिहाल्छ। 

पत्रकारसँग कुरा गर्नुअघि आन्दोलनकारी किसानहरूले निजको हातमा कुन च्यानलको माइक छ भन्ने हेर्छन्। 

असन्तुष्टि पुरानै 

भारतीय मीडियाप्रति नागरिक असन्तुष्टिको यो घटना कुनै नौलो होइन। तर यो पटक भुइँका मानिसहरू अर्थात किसानहरूले नै सत्ता र व्यापारी समर्थित भारतीय मीडियाको एक हिस्सालाई नराम्ररी लपेटेका छन्। 

दिल्लीलाई हरियाणा र उत्तर प्रदेशसँग जोड्ने राजमार्गमा किसानहरूको जुन आन्दोलन चलिरहेको छ, त्यहाँ मीडियाप्रतिको असन्तुष्टि निकै जागेको छ। 

 


मूलधारका मानिने च्यानलका कयौं पत्रकारविरुद्ध किसानहरूले हुटिङ गरिरहेका छन्। पोस्टर र ब्यानर नै लिएर प्रदर्शनकारीले त्यस्ता मीडियाको विरोध गरिरहेका छन्। 

आफूलाई लोकतन्त्रको चौथो स्तम्भ मान्ने मीडियाहरूले मानिसहरूको नजरमा आफ्नो विश्वसनीयता कतै न कतै गुमाएका छन् भन्ने प्रष्ट हुन्छ। 

मूलधारका मीडियाप्रति कम भएको विश्वासले पत्रकारितामा निकै ठूलो खाली स्थान उपलब्ध गराएको छ। यो स्थान परिपूर्ति गर्न साना न्यूज च्यानल र सामाजिक सञ्जालमार्फत मीडिया च्यानल चलाउनेहरू लागिपरेका छन्।

आन्दोलनस्थलमा यस्ता सयौं पत्रकारहरू छन्, जो स्वतन्त्र ढंगले आफ्नो युट्युब च्यानल चलाइरहेका छन्। उनीहरूले किसान आन्दोलनसँग जोडिएका समाचारहरू पोष्ट गरिरहेका छन्। 

पञ्जाब युथ क्लब अर्गनाइजेशनमा आबद्ध जोगिन्दर जोगी भन्छन्, 'सोसल मीडिया र स्थानीय च्यानलहरूले यस आन्दोलनलाई अहिलेसम्म ज्यूँदो तुल्याउन मद्दत गरेको छ, नत्र राष्ट्रियस्तरका मीडियाले यसलाई मारिसकेका हुन्थे। लोकतन्त्रमा मीडियालाई चौथो स्तम्भ मानिन्छ। समाजमा भइरहेको अन्यायलाई सामुन्ने ल्याउनु मीडियाको जिम्मेवारी हो, तर यहाँ ठूला भनिएका मीडियाहरू बिकिसकेका छन्, नागरिकको आवाज राख्नुको साटो सरकारी पक्षलाई देखाइरहेको छ। '

धेरै मीडियाहरूले यो किसान आन्दोलनलाई पाकिस्तान र खालिस्तानसँग जोडेर देखाइरहेकोमा जोगिन्दर निकै असन्तुष्ट देखिन्छन्। उनी थप्छन्, 'यसैकारण मीडियाप्रति मानिसहरूको भरोसा टुट्दै गएको छ र आक्रोश बढ्दै गएको छ।' 

 


प्रदर्शनमा सहभागी एक युवा भन्छन्, 'किसानलाई राष्ट्रघाती देखाएर सरकारबाट वाहवाही बटुल्न मीडियाहरू लागिपरेका छन्, उनीहरूले यो आन्दोलनमा देशविरोधी र अराष्ट्रिय तत्व सामेल रहेको झुठा खबर देखाएर आफूलाई मोदी सत्ताको पहरेदारका रुपमा उदाङ्गो पारेका छन्।'

किसानविरोधी राष्ट्रिय मीडिया 

किसानहरूको यो आन्दोलन दुई महिनाअघिदेखि नै चलिरहेको हो। शुरुमा पञ्जाबमा प्रदर्शन गर्दा कुनै माग सुनुवाई नभएपछि उनीहरूले र्‍यालीदेखि रेलसेवा रोक्नेसम्मका काम गरे। तर राष्ट्रिय मीडियाले किसानहरूको यो आन्दोलनलाई समाचार नै देखेन। 

दिल्लीको सीमामा नआउँदासम्म यो आन्दोलनलाई ठूला मीडियाले नजरअन्दाज गरेको भन्दै किसानहरू रिसाएका हुन्। 

वरिष्ठ पत्रकार अजीत अन्जुम भन्छन्, 'आज मीडियाहरू यस्ता खबरहरू सार्वजनिक गर्नबाट पन्छिएका छन्, जसले सरकारलाई असहज या बेखुशी तुल्याउन सक्छ। यसको साटो सरकारका एजेन्डाहरूलाई अघि बढाउने समाचारहरू खोज्नु नै उनीहरूको नियमित इलम बनेको छ। किसानहरूको यो आन्दोलन सन् २०१४ भन्दा अघि हुन्थ्यो भने दर्जनौं न्यूज च्यानलका सयौं रिपोर्टर आन्दोलनमा स्थलमा हुन्थे। किसानहरूको माग कति जायज छन् भनी उनीहरूले नै विश्लेषण गरिरहेका हुन्थे।' 

'पहिले मानिसहरू आफ्नो कुरा सरकारसम्म पुर्‍याउन मीडियाअघि आउँथे, तर अहिले यो आन्दोलनमा धेरै ठूला च्यानलका रिपोर्टरहरूलाई किसानले खेदिरहेका छन्, उनीहरूलाई प्रदर्शनस्थलबाट बाहिर निकाल्ने गरिएको छ, मीडियाप्रति मानिसहरू यसरी रिसाएको यसअघि देखिएको थिएन।' 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि कानून किसानकै हितमा भएको र उनीहरूलाई फाइदा दिने उद्देश्यले ल्याएको बताएका छन्। साथै, विभिन्न अफवाह फैलाएर किसानलाई भड्काइएको पनि उनले दोहोर्‍याइरहेका छन्। 

पत्रकार अन्जुम थप्छन्, 'आज सत्तामा मोदी छन्, त्यसैले मीडियाले पनि आन्दोलनलाई सत्ताको नजरियाले नै देखाइरहेको छ, मोदीले पनि बोलिसकेका छन्, त्यसैले आन्दोलनमा विदेशी लगानी या खालिस्तानको कोण जोडिएको हो, जुन दुर्भाग्यपूर्ण छ।' 

खासमा यतिखेर मीडियाको भूमिका आन्दोलनमा सहभागी किसानका मागलाई बुझेर सरकार र देशसमक्ष खबर सम्प्रेषण गर्नु हो। तर आन्दोलनमा सहभागी मानिसलाई लागिरहेको छ कि मीडियाहरूले यसो गर्नुको साटो कुनै न कुनै रुपमा आन्दोलनलाई कमजोर बनाउन खोजिरहेका छन्, जो सत्ताले चाहिरहेको छ। 
प्रदर्शनमा सहभागी बाबी नाम गरेका अर्का युवक भन्छन्, 'यहाँ हजारौं किसानहरू आएका छन्, तीमध्ये अधिकांश वृद्धहरू हुन्। मीडियाको क्यामेरा यी मानिसहरूको आवाज सुन्न र खिच्न तेर्सिनुभन्दा हल्लाखल्ला मच्चाइरहेका दुईचार जना सत्ता प्रायोजित मानिसहरूतर्फ केीन्द्रत छ। अधिकार मागिरहेका हामी किसानलाई खालिस्तानी विद्रोही भनी देखाइरहेका छन्।' ​

सोसल मीडिया र स्थानीय च्यानलप्रति विश्वास

आन्दोलनमा सहभागी किसानहरूले यतिखेर ठूला मीडियालाई होइन, सोसल मीडिया र स्थानीय साना मीडिया च्यानलहरूप्रति अधिक विश्वास गरिरहेका छन्।

टिकरी बोर्डरमा किसान आन्दोलनको खबर संकलन गरिरहेका स्थानीय पत्रकार अनिल खत्रीका वरपर किसानहरू घेरिएका हुन्छन्। जबकी मूलधारका मीडिया आउँदा 'गोदी मीडिया' भन्दै नारा लगाउँछन्। 

खत्रीले आफ्नो मोबाइल फोनबाट किसान आन्दोलनको भिडियो रेकर्ड गर्ने गर्छन्। मोबाइलबाटै उनी आन्दोलनको प्रत्यक्ष प्रसारण पनि गरिरहेका हुन्छन्। 

सन् २०१२ देखि पत्रकारिता गरिरहेका अनिलले सन् २०१९ मा जागिर छाडेर आफ्नै युट्युब च्यानल खोलेका हुन्। अहिले उनको च्यानमा ३० हजारभन्दा धेरै सब्स्क्राइबर छन्। 

खत्री भन्छन्, 'पहिले हामी खबर पठाउँथ्यौँ, तर सम्पादकले त्यसलाई सार्वजनिक गर्ने या नगर्ने निर्णय गर्थे, यतिखेर म सीधा प्रसारण गरिरहेको छु, मानिसको आवाज बिना रोकतोक उठाउन सकिरहेको छु।' 

राजस्थानको हनुमानगढ जिल्लामा पब्लिक पिलर नामक वेभ च्यानल च्इाउने मन्दरुप सिंहले पनि यतिखेर किसान आन्दोलनको कभरेज गरिरहेका छन्। उनी भन्छन्, 'यहाँ रहेका किसानहरू ठूला मीडियाप्रति निकै आक्रोशित देखिएका छन्, माइकल देख्नासाथ उनीहरू रिसाउँछन्, हामी मीडियाबाट नभई सोसल मीडियाकर्मी भएको बताएपछि मात्रै उनीहरू कुरा गर्न मान्छन्।' 

अम्बालाबाट आएकार विनर सिंह सिख च्यानलका लागि रिपोर्टिङ गरिरहेका छन्। उनी पनि आम मानिसहरू यतिखेर मूलधारका मीडियासँग रिसाएको बताउँछन्। 

पहिलोपटक मीडियाप्रति निर्भर हुन नचाहेको एक ठूलो मोर्चा देखिएको छ, आन्दोलनमा सहभागी मानिसहरूले मीडियालाई घृणा गरिरहेका छन्, विनर भन्छन्, 'पहिले मानिसहरू आफ्नो कुरा सरकारसम्म पुर्‍याउन मीडियाअघि आउँथे, तर अहिले यो आन्दोलनमा धेरै ठूला च्यानलका रिपोर्टरहरूलाई किसानले खेदिरहेका छन्, उनीहरूलाई प्रदर्शनस्थलबाट बाहिर निकाल्ने गरिएको छ, मीडियाप्रति मानिसहरू यसरी रिसाएको यसअघि देखिएको थिएन।' 

सोसल मीडियाले त्यस्ता धेरै मानिसको आवाज उठाएको छ, जसलाई सरकार दबाउन या कुल्चन चाहन्छ, मानिसहरूले आफूसँग रहेका संशाधन प्रयोग गरेरै आफ्ना लागि आवाज उठाउन थालिसकेका छन्, सोसल मीडियाको नजरबाट हेर्दा आफ्नो पहिचान बनाउनका लागि यो एक सानदार मौका हो, कर्पोरेट मीडियामा हुने दबाबबाट पनि सोसल मीडिया मुक्त छन्।

किसानहरूले खेदेकै कारण सत्तापक्षीय मीडियाहरूले जारी आन्दोलनलाई बदनाम गराउन खोजेको विनर बताउँछन्। मूलधारका मीडियाहरूले यसो गर्दा मीडियाप्रति मानिसको विश्वास झनै टुटेको उनको भनाइ छ। उनी थप्छन्, 'यहाँ आन्दोलनरत किसानहरू मीडियाको माइक आइडी हेरिरहेका छन्, त्यसपछि सो च्यानलसँग कुरा गर्ने या नगर्ने भन्ने निर्णय लिने गरेका छन्, मीडियाको लोगोलाई नै घृणा गर्ने अवस्था आउनु भारतीय पत्रकारितामाथिको गम्भीर सवाल हो।' 

पार्टीका प्रवक्ता र पत्रकारबीच फरक देखिन नसक्नु दुर्भाग्य भएको र त्यसले नै यो स्थिति निम्त्याएको वरिष्ठ पत्रकार अजीत अन्जुम तर्क गर्छन्। यतिखेर सोसल मीडियाहरू मूलधारे मीडियाको विकल्पमा खडा भएको उनलाई लागेको छ। उनी भन्छन्, 'सोसल मीडियाले त्यस्ता धेरै मानिसको आवाज उठाएको छ, जसलाई सरकार दबाउन या कुल्चन चाहन्छ, मानिसहरूले आफूसँग रहेका संशाधन प्रयोग गरेरै आफ्ना लागि आवाज उठाउन थालिसकेका छन्, सोसल मीडियाको नजरबाट हेर्दा आफ्नो पहिचान बनाउनका लागि यो एक सानदार मौका हो, कर्पोरेट मीडियामा हुने दबाबबाट पनि सोसल मीडिया मुक्त छन्। यसैकारण सोसल मीडिया च्यानलमा निकै स्वतन्त्रतापूर्वक काम भइरहेको छ।' 

सैयद अकरमले ठूलो मानिने एक च्यानलको जागिर छाडेर एकवर्ष पहिले आफ्नै युट्युब च्यानल द नेशन शुरु गरेका हुन्। उनको च्यानलमा अहिले ७ लाख हाराहारीमा सब्स्क्राइबर पुगिसकेका छन्। उनी लगातार प्रदर्शनस्थलको कभरेजमा व्यस्त छन्। 

अकरम भन्छन्, 'ठूला भनिएका मीडियाले जुन स्थान खाली छाडिदिए, त्यसलाई सोसल मीडिया र वेभ मीडियाले भरिरहेका छन्, आन्दोलनको कभरेज गर्दा यति ठूलो रेस्पोन्स मिल्ला भन्ने हामीले कल्पनै गरेका थिएनौं, मानिसहरूले यतिखेर सीधै जमिनबाट उठेको आवाज सुन्न रुचाइरहेका छन्, हामीले पनि ठीक यस्तै काम गरिरहेका छौं।' 

गाजीपुर बोर्डरमा दिनभर कभरेज गरेपछि म आफ्ना एक पुराना पत्रकार मित्रका साथ सडकको डिभाइडरमा बसिरहेको थिएँ। साथीको हातमा कुनै च्यानलको माइक आइडी देख्नासाथ केही युवा आए र विरोध गर्न थाले। 

ती युवाहरूको मोबाइलमा किसानविरोधी खबरको स्क्रिनसट थियो, जसकारण उनीहरू रिसाएका थिए। ती पत्रकार मित्रले निकै कोशिश गरी सम्झाए कि च्यानलको उद्धेश्य आन्दोलनलाई बदनाम गर्नु होइन। 

मीडियाप्रति भरोसा टुट्दै गरेको महसुस ग्राउन्डमा काम गर्ने पत्रकारले सम्झिसकेका छन्। पहिले मानिसहरू जुन मीडियाको माइक देखेर आफ्ना कुरा भन्न आउँथे, अहिले उनीहरूले त्यस्ता च्यानलका माइक बोकेका पत्रकारहरूलाई नै लखेट्न थालेका छन्।

(बीबीसी हिन्दीका संवाददाता दिलनवाज पासाको रिपोर्ट अनुवाद र सम्पादन गरिएको।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.