|

स्याङ्जा :  बुढा पाकाले गाउँघरतिर आफ्नो छोरा नातिलाई भन्ने एउटा उखान प्रचलित छ , ‘नपढे हलो जोत्लास्।’ यस्तै संस्कारको कारण पढे लेखेका मानिसहरु केही गर्न हुँदैन भन्ने मानसिकतामा हाम्रो समाज रुमलिएको छ। तर, स्याङ्जाको एक विद्यालयका शिक्षकले नै सामूहिक पशुपालनसहित तरकारी खेती गरेका छन्।

लकडाउनसँगै विद्यालय बन्द भएपछि गल्याङ नगरपालिका ११ स्थित श्री बज्रे भञ्ज्याङ् माध्यामिक विद्यालयका शिक्षक सामूहिक कृषि पेशातर्फ आकर्षित भएका हुन्। यहाँ अध्यापन गराउँदै आएका ६ जना शिक्षकले १५ वटा टनेलमा मौसमी बेमौसमी तरकारी, पशुपालनअन्तर्गत लोकल तथा बोइलर कुखुरा र बंगुर पालन गर्न थालेका छन्।

गत चैत ११ गतेबाट देशभर लकडाउन भएसँगै विद्यालयसमेत बन्द भएपछि फुर्सदिलो बनेका शिक्षकहरुले लकडाउनको समय सदुपयोग गरेका छन्। उनीहरुले वैशाखदेखि २५ लाखको लागतमा बतासकोट नमुना कृषि तथा पशुपालन फर्म सञ्‍चालनमा ल्याएका हुन्। शिक्षकहरूले पनि कृषि कर्म गर्न हुन्छ भन्ने सन्देशले स्थानीयवासी पनि कृषि पेशातर्फ उत्साहित भएको फर्मका संयोजक नेत्र प्रशाद गैह्रेको भनाइ छ।

उनी भन्छन्, ‘पढेलेखेकाले पनि कुटो कोदालो गर्नहुन्छ भन्ने सन्देश दिन खोजेका हौँ। उच्चतम प्रविधिको प्रयोग गरेर थोरै जग्गामा धेरै आम्दानी कसरी लिने भनेर अवलोकन गर्न आउने विद्यार्थी, स्थानीयवासी र अभिभावक यो फर्म देखेर उत्साहित हुनुहुन्छ।’

अहिले यो फर्ममा १५ वटा टनेलमा बेमौसमी र मौसमी तरकारी खेती गरिएको छ। टनेलभित्र उत्पादन भएको टमाटर, बन्दा, काउली, खुर्सानी लगायतका तरकारीजन्य बस्तु स्थानीय बजारमा खपत भइरहेको छ।

यहाँ तरकारीको अतिरिक्त  पशुपालन समेत गरिएको छ।  कुखुरा र बंङ्गुर पालन गरेका शिक्षकहरुले वार्षिक २० लाख आम्दानी गर्ने लक्ष्य लिएका छन्। दैनिक शिक्षण पेशामा व्यस्त हुने शिक्षक लकडाउन पछि दिन काट्न मुस्किल भएको बताउँदै शिक्षक रेशमबहादुर राना भन्छन्, ‘अहिले समयको सदुपयोग मात्र होइन आम्दानी पनि भएको छ। टोल शिक्षामा अध्यापन पढाउन जान्छौँ, अतिरिक्त समय सबै शिक्षक टनेल भित्र कुटो कोदालो गर्छौं।’

यहाँ उत्पादन भएको कृषि उपज बिक्रीको लागि स्थानीय बजार गल्याङ र वालिङमा खपत हुँदै आएको छ। पढेलेखेकाले कृषि कर्म गर्न हुँदैन भन्ने मानसिकतालाई यहाँका शिक्षकले गतिलो उदहारण दिएपछि स्थानीयवासीसमेत कृषि श्रेत्रमा आकर्षित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.