बालुवाटार र खुमलटारमा आन्तरिक छलफल

|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले नेकपाभित्रको विवाद चर्किरहेको छ। 

कात्तिक २८ गते बसेको सचिवालयमा बैठकमा अध्यक्ष दाहालले ल्याएको प्रस्ताव र प्रधानमन्त्री ओलीले त्यसको प्रतिउत्तर मंसिर १७ गतेको बैठकमा फर्काएको जवाफ बारेमा छलफल गर्नका लागि सचिवालय बैठक बस्‍न लागेको हो। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आ–आफ्नै अडान राखिरहेको कारणले नेकपाभित्रको विवाद समाधान सकेको छैन। सचिवालय बैठकअघि बालुवाटार र खुमलटार आन्तरिक तयारीमा जुटेको छ।

त्यसो त नेकपाभित्रको विवाद मिलाउन प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय छन्। उनले बिहिबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई शितल निवासमा बोलाएर छुट्टाछुट्टै छलफल गरेकी थिइन्। 

राष्ट्रपति भण्डारीसँगको छलफलपछि बस्न लागेको सचिवालय बैठकले नेकपाभित्रको विवाद समाधानको मार्ग दिशामा जानसक्ने आँकलन गरिरहेका छन्। तर, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आआफ्नो दाबी छाडिरहेका छैनन्। 

दाहालले ल्याएको प्रस्तावमा मंसिर १६ गतेबाट छलफल सुरु गरे पनि त्यसपछिको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन्। ओलीले दाहालको प्रस्ताव एकपक्षीय र आरोपको पुलिन्दा भएको बताउदै आएका छन्। प्रधानमन्त्री ओली आजको बैठकमा पनि जाने नजानेमा अझै अन्यौलता नै देखिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि १७ गते अध्यक्ष दाहालले राखेको बैठकले २० गतेका लागि सचिवालय र २१ गते स्थायी कमिटीको बैठक राख्ने निर्णय गरेको थियो। 

एकता पक्षधर कतिपय नेता दुवै प्रस्तावलाई समेटेर नयाँ प्रस्तावबाट अघि बढ्नुपर्ने पक्षमा रहेका छन्। तर, हाल सचिवालयका बहुमत सदस्य सचिवालयमा दुवै पक्षबाट प्रस्ताव आइसकेको हुनाले छलफल गर्नुपर्ने पक्षमा देखिएका छन्। सचिवालयमा दाहाल नेपाल पक्षको बहुमत छ।

अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिइरहेका छन्। प्रधानमन्त्री ओली पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव बिष्णु पौडेल छन्। अध्यक्ष दाहाल निकटका गृहमन्त्री रामबहादुर थापा बादल पछिल्लो समय दुवै पक्षमा खुलिरहेका छैनन्।  

पार्टीको विवाद चर्किँदै जाँदा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच  संवाद ठप्प  छ। अध्यक्ष दाहालसँगको संवाद रोकिएपछि प्रधानमन्त्रीनिकट नेताहरु खुमलटारमा धाइरहेका छन्।

बिहीबार प्रधानमन्त्री ओली निकट महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग खुमलटारमा छुट्टाछुट्टै छलफल गरेका थिए। त्यसपछि उपप्रधानमन्त्री पोखरेल खुमलटारमा पुगेका हुन्। 

प्रधानमन्त्री ओली अध्यक्ष दाहालको प्रस्ताव फिर्ता गरेर अनौपचारिक रुपमा सहमति गरेर मात्रै बैठकमा जाने पक्षमा छन्। तर, सचिवालयमा दुवै पक्षबाट आआफ्नो प्रस्ताव आएपछि बैठकबाट निकास निकाल्नुपर्ने अध्यक्ष दाहाल पक्षको अडान छ। 

नेकपाभित्रको विवादलाई लिएर राष्टपति भण्डारी मात्रै नभएर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले पनि सक्रियता बढाएकी छन्। गत साता उनले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई भेटवार्ता गरेकी थिइन्। नेकपाभित्रको यसअघिको विवादमा पनि राजदूत यान्छिको सक्रियता पछि केही साम्य हुने गरेको थियो।

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.