|

पर्वत : कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ। 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो पटक कास्की जिल्लाका तीन जनाको मृत्यु भएको हो। योसँगै प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा निधन भएकाहरूको सङ्ख्या एक सय ६६ पुगेको छ।

पछिल्लो पटक मृत्यु भएकाहरूमा कास्कीको पोखरा महानगरपालिका–१७ का ५७ वर्षीय पुरुष रहेका छन्। उनको शनिबार बिहान ४ बजे उपचार क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। गत कात्तिक २८ गते सङ्क्रमण पुष्टि भएका ती पुरुषमा मधुमेह रोगको थियो।

यस्तै अर्को निधन हुनेमा पोखरा महानगरपालिका–११ की ७२ वर्षीया महिला छिन्। उनको शुक्रबार राति पौने नौ बजे उपचारकै क्रममा फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको हो। मङ्सिर १८ गते सङ्क्रमणको पुष्टि भएको ती महिलामा निमोनियाको समस्या थियो।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा मृत्यु भएका तेस्रा व्यक्ति पोखरा महानगरपालिका–१२ का ८० वर्षीय पुरुष छन्। मङ्सिर १६ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषको पनि उपचार क्रममै शनिबार मध्याह्न सवा १२ बजे फिस्टेल अस्पतालमा मृत्यु भएको हो।

मङ्सिर १६ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा उच्च रक्तचाप र निमोनियाको पनि समस्या रहेको पाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.