|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादको क्रममा आएका सबै प्रस्तावबारे स्थायी कमिटीमा छलफल हुने भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै प्रस्तावहरू स्थायी कमिटीको बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

पार्टीभित्रको विवाद समाधानका लागि पूर्वनिर्धारित समयमै पार्टी मुख्यालय धुमबाराहीमा स्थायी कमिटीको बैठक बस्ने उनले बताए। 'भोलिबाट स्थायी कमिटीको बैठक सुरु हुन्छ। बैठकको छलफलको क्रममा आवश्यकताअनुसार नेताहरूबीच अनौपचारिक छलफल पनि हुनसक्छ' उनले भने। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्रको विवाद समाधानको विषयमा छलफल भएको उनले बताए। 'उहाँहरुले सचिवालय बैठक बस्नुअघि पार्टीभित्रको समस्याको बारेमा छलफल गर्नुभएको थियो। आज एकै पटकमा समस्या समाधान हुने बिषय पनि होइन' उनले भने, 'स्थायी कमिटीमा सबै विषयको छलफलपछि सार्थक रुपमा अघि बढ्छ।' 

स्थायी कमिटीमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको माग गर्दै प्रधानमन्त्रीलाई दिइएको लिखित पत्र, प्रधानमन्त्री ओलीले दिएको त्यसको प्रतिउत्तर, अध्यक्ष दाहालले कात्तिक २८ को सचिवालयमा राखेको प्रस्ताव, त्यसको प्रतिउत्तर प्रधानमन्त्री ओलीले मंसिर १३ गते राखेको जवाफमाथि स्थायी कमिटीमा छलफल हुनेछ। 

प्रधानमन्त्री ओली दुवै प्रस्तावलाई समेटेर नयाँ प्रस्ताव ल्याउन पक्षमा थिए। तर, सचिवालय बैठकमा पेश भइसकेपछि स्थायी कमिटीमा छलफल गर्नुपर्ने अध्यक्ष दाहाल पक्षको अडान थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.