गणतन्त्रमा लुटतन्त्र र भ्रष्टाचार माैलाएकाले आरोप

|

भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शनिबार बृहत् मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन गरेको छ। 

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघियता खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमतालगायत जनजीविकासँग सम्बन्धित विषयमा केन्द्रित रहेर राप्रपाले शक्ति देखाएको हो। 

र्‍यालीपश्चात् बिर्तामोडमा आयोजित शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता राजेन्द्रप्रसाद लिङ्देनले जनताले जसलाई नेतृत्व गर्ने जिम्मा दिएको छ, जो आज देशको शीर्ष स्थानमा छन्, उनीहरू नै एकले अर्कोलाई हत्यारा र भ्रष्टाचार भनिरहेका बताए।  

'यो गणतन्त्रमा पनि नेपाली जनता टुलुटुलु हेर्न बस्न बाध्य छन्। कस्तो व्यवस्था हामीले पाएका छौँ, आयोगहरू गठन हुनुपर्छ कि पर्दैन? उनले आक्रोश पोखे। 

'कति मान्छेहरू अहिले पनि तर्क गर्छन्, राजा आए जादुमय तरिकाले देश परिवर्तन हुन्छ त? तर, हामीले त्यसो भनेका छैनौँ,' नेता लिङ्देनले भने, ‘राजा आउने बित्तिकै देशमा कायापलट हुने होइन, राजसंस्था पुनःस्थापनापछि देशमा शान्ति र स्थिरता कायम हुन्छ, त्यसको जगमा देश अगाडि बढ्छ।’

पार्टीको झगडामा विदेशी दूतहरू आएर मिलाउने परम्परा सुरु भएको उनले बताए। ‘सत्ता र पदको रक्षाका लागि पार्टीका नेताहरूले देश नै धरौटी राख्न सक्ने खतरा बढ्यो, स्थिरता कायमसँगै राजसंस्था ल्याउन देशभर अहिले मान्छे सडक आन्दोलनमा उठिरहेका छन्,’ उनको दाबी थियो। 

देशले अब योभन्दा बढी बर्बादी थाम्न नसक्ने भन्दै उनले गणतन्त्रको नाममा लुटतन्त्र, भ्रष्टाचार माैलाएको बताए। 'कुनै व्यक्ति विशेषको मात्र होइन, समग्र देशको भविष्य माथिको खतरा हो,' उनले भने।’

काँकडभिट्टाबाट सुरु भएको मोटरसाइकल र्‍याली बिर्तामोडमा पुगेर मुक्ति चोकमा कोणसभा परिणत भएको थियो। र्‍यालीमा पूर्वमन्त्री रामकुमार सुब्बा, पूर्वमन्त्री टेक नारायण राजवंशी, नेता राम थापा, भक्ति सिटौला, राजकुमार पोखरेल, राप्रपाका झापा अध्यक्ष अमर विष्ट, युवक संगठनका केन्द्रीय उपाध्यक्ष ध्रुव उप्रेती, युवक संगठन झापाका अध्यक्ष राजकुमार राई लगायतको सहभागिता थियो।

र्‍यालीमा २५ सय बढी मोटरसाइकल, दुई सय साना सवारी तथा केही बसहरूमा हजारौँको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.