स्थायी कमिटी बैठकमा उपस्थित नहुने संकेत

|
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटीको बैठक राख्ने कुरामा असहमति जनाएका  छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक राख्न असहमति जनाएका हुन्। 

यो असहमतिसँगै भोलि बस्ने भनिएको स्थायी कमिटीमा उनको उपस्थिति पनि अनिश्चित भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको समस्या समाधानका लागि स्थायी कमिटीका बैठक पूर्वनिर्धारित समयमै बस्ने बताएपछि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले असहमति जनाएको स्रोतले बताएको छ।

‘तपाईँहरुले बहुमत र अल्पमतको खेल खेल्न स्थायी कमिटीमा जान खोज्नुभएको होला। तर, म जहाँ लगेर छलफल गरे पनि महाधिवेशनसम्म अध्यक्ष र अर्को निर्वाचनसम्म प्रधानमन्त्रीको पद छाड्दिनँ’ स्रोतले प्रधानमन्त्री ओलीको भनाईलाई उद्धृत गर्दै भन्यो, ‘त्यसैले अहिले स्थायी कमिटीको बैठक आवश्यक छैन।’

ओलीको असहमतिबीच स्थायी कमिटीको बैठकमा राखिएको छ। त्यहीकारण उनी उपस्थित हुने नहुने भन्ने अनिश्चित छ। उनले बैठकको निश्चित एजेण्डा समेत नभएकाले त्यसको आवश्यकता भएको औंल्याएको बुझिएको छ।

अध्यक्ष दाहालसहित बहुमत सदस्यले पार्टीभित्रको विवाद समाधानका लागि भन्दै स्थायी कमिटीमा छलफल गर्नुपर्ने अडान राखेका छन्। त्यही अनुसार भोलिका लागि पूर्वनिर्धारित समयमै बैठक बोलाइएको बताइएको छ। 

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेका छन्। 

प्रधानमन्त्री ओलीकै कारणले पार्टीमा पटक पटक समस्या निम्तिएको भन्दै उनको एउटा पद खोस्ने रणनीति प्रचण्ड-नेपाल समूहले बनाएको छ। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस हुने पक्षमा छैनन्। 

नेकपाभित्र यसअघि देखिएको विवादमा प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामाको माग भएको थियाे। तर, दुवै पदबाट ओलीको राजीनामा माग्दा पार्टी एकता संकटमा पर्नसक्ने भन्दै उनीहरुले एक पद छाड्नै पर्ने बताएका थिए। तर, ओली त्यसमा सहमत भएनन्। 

प्रचण्ड-नेपाल पक्षले एक पदबाट हट्नुपर्ने बताइरहेको बेला बैठकमा मोर्चाबन्दी हुने देखिएपछि ओलीले बैठक टार्न खोजेको स्रोतको दाबी छ। सचिवालयमा मात्रै नभएर स्थायी कमिटी, केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.