|

काठमाडौं : शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समयअगाडि नै कारोबार बन्द भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ।

यस्तै, एक महिनामा ४ सय अंक बढीले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न विक्री चाप बढाएकाले पनि बजार ओरालो लागेको हो। आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा बन्द भएको छ।

नेप्सेमा आज भएको गिरावट अहिलेसम्मकै उच्च हो। यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात २१ दशमलव ६२ अंकले घटेर ३ सय ७० दशमलव ६७ अंकमा बन्द भएको छ। आज नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो। 
दिनभर १ सय ९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लख ८० हजार २ सय १३ रुपैयाँको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर खरिद विक्री भएको छ। कारोबार संख्या ६१ हजार ८ सय ५८ रहेको छ। 
कारोबारमा आएका सबै समूह घटेका छन्। सबैभन्दा धेरै अन्य समूह ९ दशमलव १३ प्रतिशतले घटेको छ। त्यपछि जीवन बीमा समूह ८ दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन ७ दशमलव ५९ प्रतिशत, व्यापार समूह ७ दशमलव ४२ प्रतिशत, लघुवित्त ७ दशमलव ०३ प्रतिशत, निर्जीवन बीमा ५ दशमलव ७४ प्रतिशत, जलविद्युत ५ प्रतिशत, बैंकिङ ४ दशमलव ३३ प्रतिशत, होटल ४ प्रतिशत, विकास बैंक ३ दशमलव ४४ प्रतिशतले घटेका छन्।
 

बजारमा सबैभन्दा धेरै कारोबार पुनर्बीमा कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ। बजारमा उच्च गिरावट आएपनि नौवटा कम्पनीका शेयरधनीले कमाएका छन्। रिलायन्स फाइनान्सका शेयरधनीले २ दशमलव २९ प्रतिशतले कमाएका छन्। यस्तै हिमालयन बैंकको डिबेन्चर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्स लगायतका कम्पनीका शेयरधनीहरुले कमाएका छन्।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन्। यस्तै पुनर्बीमा कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, शिवम सिमेन्ट, हिमालयन जेनरल इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले गुमाएका छन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.