बस्ती व्यवस्थित नगरी बन्चरेडाँडामा फोहोर फाले गाडी जलाउने जनप्रतिनिधिकाे चेतावनी

|

काठमाडौं : ‘सिसडोलबासी १४ वर्षदेखि कुहिएको फोहोरको दुर्गन्धमा बसिरहेका छौँ। 'पटक–पटक राखिएको माग किन कार्यान्वयन हुन सकेन? तपाईंले काठमाडौंलाई स्मार्ट सिटी बनाउँदा हामीचाहिँ रोगले मर्ने?’

माथिको प्रश्न आइतबार राष्ट्रिय सभागृहमा सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा पीडित घननाथ बजगाईंले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसामु पोखेको आक्रोश हो।  राज्यले नै फोहोरबाट चुहिएको पानीमा जनतालाई राख्न बाध्य पारेको बजागाईंको गुनासो थियो।

‘२०६२ सालमा भएको सम्झौता केके छन् भनी महानगरपालिकाले दस्तावेज निकाल्न सकेको छैन,’ उनले बैठकमा भने, ‘किन महानगरपालिकाले फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न सकेन? मैले स्वास्थ्य,पशु बिमा, विकास निमार्णका कुराहरु पहिला सम्झौता भएको सुनेको छु। तर, अहिलेसम्म एउटा पनि कार्यान्वयन भएन।’

प्रमुख शाक्यले मात्रै सिसडोलबासीको समस्या समाधान गर्न नसकेको भन्दै मन्त्रिमण्डल बैठक बस्ने वातावरण मिलाई पशु, स्वास्थ्य बिमा, स्वास्थ्य चौकी निर्माण र रोजगारी सिर्जना गर्नुपर्ने उनले त्यहाँ माग राखे।

बजगाईंका अनुसार काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोरले सिसडोल भरिँदा त्यहाँका १२ परिवार अहिले फोहोरमाथि बस्न बाध्य छन। तर, महानगरपालिकाले उचित व्यवस्थापन गर्न कुनै पहल गरेको छैन। 

‘बस्तीलाई व्यवस्थित नगरी बन्चरेडाँडामा फोहोर फाले गाडी जलाउँछौं’

सरकारले सिसडोलमा विसर्जन गरिरहेको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न नुवाकोट–धादिङ सीमास्थित बन्चरेडाँडामा ल्यान्डफिल्ड साइड बनाएको छ। तर, त्यहाँ सिसडोलकै हालत हुन नदिने जनप्रतिनिधिले चेतावनी दिइरहेका छन्। 

बैठकमा ककनी गाउँपालिकाकी उपप्रमुख सीता लामाले बन्चरेडाँडाको बस्तीलाई सरकारले व्यवस्थित गरेपछि मात्रै फोहोर फालिनुपर्ने माग गरिन्।

उनले भनिन्, ‘महानगरपालिकासँग फोहोर व्यवस्थापन र स्थानीयले उठाएका मुद्दाबारे पटक पटक छलफल भइसकेको छ। तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेन।’ अब पनि महानगरपालिकाले जनताको जायज मागलाई पूरा नगरे फोहोर फाल्न नदिने चेतावनी दिइन्।

‘समाचारमा अब छिट्टै बन्चरेडाँडामा फोहोर फाल्ने भन्ने सुनिएको छ,’ उनले भनिन्, ‘पहिला बस्तीका जनताको माग पहिला पूरा गरिनुपर्छ। ती माग पूरा नगरी फोहोर फालिए म आफैं फोहोरको गाडी जलाउँछु। सबै स्थानीयले यही भनिरहेका छन्।’

‘जबरजस्ती फोहोर सिसडोलमा लगियो’  

बैठकमा सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगाना विश्वासले सिसडोलमा फोहोर भरिएर राख्ने ठाउँ नहुँदा नहुँदै पनि जबजस्ती फोहोर राखिएको बताए। उनले भने,‘फोहोरबाट चुहिएको पानीले बसीसाध्य छैन। वर्षायाममा झनै त्यहाँको अवस्था भनीसक्नु छैन। महानगरपालिकाले आश्वसनमात्रै दियो। अब देखी भाषणमा मात्र सिमित नहोस।’

उनका अनुसार पहिला बढीमा २५ वटा गाडीले फोहोर सिसडोलमा लाने गरेको थियो। अहिले दैनिक पाँच सयभन्दा बढी टिपरले फोहोर लाने गरेका छन्। जसले गर्दा सबै बाटो भत्किन थालेको छ भने कच्ची सडक अस्तव्यवस्त बनेको छ। अहिलेसम्म एक सयभन्दा बढी पटक फोहोर बन्द गरिदिँदा पनि उचित व्यवस्थापन हुन नसकेको ढुंगानाले बताए।

महानगरपालिकाले गर्न सक्ने काम गरिरहेको छ : शाक्य

बैठकमा स्थानीयको गुनासो सुनिसकेपछि प्रमुख शाक्यले महानगरपालिकाले सक्दो काम गरिरहेको बताए।

‘तपाईंहरुले राख्नुभएको बाली,पशुु र स्वास्थ्य बिमाको मागबारे अध्ययन भइरहेको छ,’ उनले भने, ‘हस्पिटल निर्माणका लागि जग्गा समस्या छ। जग्गा व्यवस्थापन भए पछि काम सुरु हुन्छ।’ जग्गा अधिग्रहणका विषयमा महानगरपालिकाबाट गर्न नमिल्ने भन्दै सम्बन्धित जिल्लाका सिडिओसँग समन्वय गरी छलफल भइरहेको जानकारी दिए। 

महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बिमा प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले बैठकमा सिसडोलको समस्यालाई बन्द गरी सुन्दर बनाएर मात्रै बन्चरेडाँडामा फोहोर राखिने पनि स्थानीयलाई आश्वासन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.