|

काठमाडौं : सप्तरीमा सोमबार तीन जना मानिसको मृत्यु हुने गरी भएको घटनाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्।

मंगलबार बिहान प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसँग गृहमन्त्रीको छलफलमा नेपाल प्रहरीले सप्तरीमा आफ्नो संगठनले नभई सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले गोली चलाएको प्रारम्भिक रिपोर्ट आएको बताएको श्रोतले जानकारी दिएको छ। ‘फायरिङ नेपाल प्रहरीको तर्फबाट नभई सशस्त्र प्रहरीको तर्फबाट भएको स्थलगत रिपोर्ट आएको कुरा गृहमन्त्रीलाई जानकारी गराइएको छ’, प्रहरी प्रधान कार्यालयको स्रोतले भन्यो ‘विस्तृत रिपोर्ट आइसकेको छैन, रिपोर्ट आएपछि सबै कुराका साथ यकिन गर्न सकिन्छ।’ 

सशस्त्र प्रहरीले भने घटनाको स्थलगत रिपोर्ट आएपछि मात्र यस बारेमा भन्न सकिने बताएको थियो।  

सोमबार नेकपा एमालेले सप्तरीमा आयोजना गरेको सभाको विरोधमा मधेसी मोर्चाले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीको गोलीलागेर ३ जनाको मृत्यु भएको थियो। सुरक्षा प्रमुखहरुले गृहमन्त्रीलाई फिल्डमा रहेको प्रहरीले बारम्बार सम्झाउँदा पनि नमानेको र अश्रुग्यास प्रहार गर्दा पनि स्थितिमा नियन्त्रणमा नआएपछि हवाई फायरिङ गरेको जानकारी गराएको थियो। हवाई फायरिङपछि प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेकालेले गोली चलाउन बाध्य हुन परेको जानकारी गराएका थिए।

मंगलबार बिहानै गृहमन्त्री निधिले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना, प्रहरी उपरीक्षक दिवेश लोहनी, सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्का र प्रहरी नायब उपरीक्षक दानबहादुर खड्कालाई घटनाबारे विस्तृत जानकारी लिन काठमाडौं बोलाइसकेको थियो। 

छलफलमा निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दीलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुखसहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.