|

काठमाडौं : सोमबार सप्तरीमा तीन जनाको मृत्यु हुने गरी भएको घटनाबारे राती अबेर गृह मन्त्रालयले स्थानीय प्रशासनले घुँडामुनि गोली चलाउन आदेश दिएको दावी गर्‍यो। ‘

आमसभाका सहभागीहरुमाथि आक्रमण गर्न खोजेकोले सो रोक्न सुरक्षाकर्मीले पुन हवाई फायर तथा रबर बुलेट प्रयोग गर्दा समेत स्थिति नियन्त्रण हुन नसकी बाध्य भई स्थानीय प्रशासनले घुँडामुनि गोली चलाउन आदेश दिइएको’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

स्थानीय प्रशासनले घुँडामुनि गोली चलाउन निर्देशन दिएपनि गोली लागेर मलेठ गाविस २ का १९ वर्षीय सन्जन मेहताको घटनास्थलमा नै मृत्यु भयो। उनको टाउकोमा गोली लागेको थियो। आखिर स्थानीय प्रशासनले घुँडामुनि गोली चलाउन आदेश दिंदा दिंदै मेहताको टाउको गोली कसरी लाग्यो त?

यही प्रश्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार भएको सुरक्षा निकायका अधिकारीहरुसँगको छलफलमा झोक्किदै सोधेका थिए। गृहमन्त्रीले सुरक्षा प्रमुखहरुलाई भने ‘तपाईहरुले यत्रो तालिम लिनुभएको छ तर पनि घुँडा मुनि गोली हान्ने आदेश हुँदाहुँदै टाउकोमा किन गोली हान्नुहुन्छ?’ 

गृहमन्त्री झोक्किएपछि सुरक्षा प्रमुखहरुले हतारमा निर्णय लिनुपर्ने भएकोले त्यस्तो हुन गएको सफाई पेश गरेका थिए। ‘एक्कासी स्थिति भाँडिनसक्ने अवस्था हुन्छ, हतारमा निर्णय लिनुपर्ने भएकोले पनि त्यस्तो भएको हो’, प्रधान कार्यालय स्रोतका अनुसार सुरक्षा प्रमुखहरुले भने ‘भिडभाड र दुबै तर्फको आक्रमण हुने भएकोले अन्धाधुन्ध स्थिति नियन्त्रणमा लिने क्रममा टाउकोमा लागेको हुन सक्छ।’

स्थानीय प्रशासन ऐन अन्तर्गत असामान्य स्थिति भएमा घुँडामुनि गोली हान्न सक्ने अधिकार स्थानीय प्रशासनलाई नै छ। तर त्यसभन्दा बढी कारवाही गर्नको लागि गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अनि गोलि थाप्नेले चाहिँ ठिङग्रिङग उभिएर यहाँ हान भनेर थाप्छ त घुडामै लाग्न लाई ?