सिकाउँछन् चित्रकला
सिकाउँछन् चित्रकला
धेरैले सामाजिक सञ्जाललाई युवाहरूको अभिव्यक्ति माध्यम ठान्छन्। हुन पनि फेसबुक, युट्युब, इन्स्टाग्राम र ट्वीटरजस्ता सामाजिक सञ्जालमा युवाको उपस्थिति बाक्लो छ। तर‚ एक ७३ वर्षीय जापानी वृद्धले सारा पूर्वमान्यता तोड्दै युट्युबमा प्रभावकारी उपस्थिति देखाएका छन्।
हारुमिची शिबासाकी पेशाले चित्रकार हुन्। उनको युट्युब च्यानलको नाम हो ‘वाटरकलर बाइ शिबासाकी’। आफ्ना भिडियोहरूमा उनी चित्रकलाकै टेक्निक सिकाउँछन्। युट्युबमा उनलाई पच्छ्याउनेको संख्या सात लाख नाघेको छ। रुखको चित्र बनाउन सिकाइएको भिडियो उनको सर्वाधिक हेरिएको भिडियो हो‚ जसलाई पचास लाखभन्दा धेरैपटक हेरिएको छ।
‘रुखको चित्र बनाउने भनेपछि धेरैले रुखमा धेरै पात हुन्छन् भन्नेतर्फ बढी ध्यान दिन्छन्। तर‚ चित्र बनाउँदा एक–एक पातलाई होइन‚ रुखलाई समग्रमा हेर्नुपर्छ’‚ उनले भने।
शिबासाकी पहिले शिक्षक थिए। निसन्देह उनको विषय चित्रकला नै थियो। उनले सन् १०१६ मा युट्युब च्यानल खोलेका हुन्। कोरोनाको महामारी सुरू भएपछि भिडियो सञ्जाल उनका लागि झनै अर्थपूर्ण बनेको छ।
‘मलाई धेरैले तपाईंको भिडियो हेर्दा शान्ति प्राप्त हुन्छ भन्छन्‚ निको भएँ भन्छन्‚ उर्जा प्राप्त गरें भन्छन्। चित्रकला सिक्न चाहनेहरू त छँदैछन्’‚ उनी भन्छन्।
‘त्यसैले मेरो उद्देश्य अहिले बदलिएको छ। पहिले चित्रकला सिकाउनु एकमात्र उद्देश्य थियो‚ अहिले चित्रकलामार्फत मान्छेलाई आनन्दित वा निको पार्न मद्दत गर्छु’‚ उनले थपे।
शिबासाकीको प्रस्तुती, बोल्ने तरिका र भिडियो खिच्ने तरिका धेरैले रुचाएका छन्। कमेन्टमा हामी देख्न सक्छौं, धेरैले ‘मैले उर्जा प्राप्त गरें’‚ ‘तपाईंले गर्दा पीडा भुलें’ जस्ता भाव व्यक्त गरिराखेका हुन्छन्।
उनका आधाभन्दा धेरै सब्सक्राइबर कोभिड सुरू भएपछि थपिएका हुन्। कतिपय घरै थुनिएर निसासिएका, कतिपय नयाँ सीप सिक्न चाहने मानिसहरूले उनलाई पच्छ्याएका छन्। हुन पनि लकडाउनयता ट्युटोरियल भिडियोको खपत ह्वात्तै बढेको छ‚ चाहे त्यो पाउरोटी बनाउने तरिकाबारेको होस् वा कुखुरा हुर्काउन सिकाउने भिडियो नै किन नहोस्।
सामाजिक सञ्जाल नभएको भए न हामीले शिबासाकीको कला हेर्न पाउँथ्यौं, न नै उनले लाखौं मानिसलाई चित्रकला सिकाउन पाउँथे। ‘कलाको कुनै सीमा हुँदैन, युट्युबमा मैले पाएको मायाले यसलाई पुष्टि गरेको छ’‚ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।