संघीय सरकार गुहार्दै नगरपालिका

|

डडेल्धुरा : डडेल्धुरामा सुविधासम्पन्न सेमी कभर्ड हल निर्माण अलपत्र परेको छ। आर्थिक अभावले अमरगढी नगरपालिका–४ खलंगास्थित सेमी कभर्ड हल अलपत्र परेको हो।

निर्माण सुरु भएको १९ महिना हुँदासमेत कभर्ड हल बनिसकेको छैन। डेढ वर्षभित्र उक्त सेमी कभर्ड हल बनाइसक्ने लक्ष्यका साथ काम थालिएको थियो। तर आर्थिक अभावले काम हुन सकेको छैन। 

राष्ट्रिय खेलकुद परिषद्बाट सेमी कभर्ड हलका लागि तत्काल १० लाख रुपैयाँ निकासा भएको थियो। त्यो रकम अपुग हुँदा कभर्ड हल अलपत्र परेको जिल्ला खेलकुद विकास समिति डडेलधुराले जनाएको छ। अहिले समितिको कार्यालय पनि भाडाको भवनमा सञ्चालन भइरहेको छ।

कभर्ड हल निर्माणका लागि ८ वटा पिल्लर मात्रै हालिएको छ। तर अन्य काम नभएको जिल्ला खेलकुद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिए। क्रमागत बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण रोकिँदा निर्माण गर्न समस्या भएको उनले बताए। 

‘राखेपबाट बजेट निकासा भएको छैन। गत वर्ष राखेपबाट नै स्वीकृत भएर बजेट निकासा भएको थियो। तर, अहिले निकासा भएको छैन। त्यही भएर निर्माण अलपत्र छ,’ उनले भने, ‘२ रोपनी जग्गामा ८ वटा पिल्लरसहित फाउन्डेसन भएको छ। बजेट नभएर निर्माण ठप्प छ।’

बजेट अभावमै निर्माण रोकिएको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए। 
‘जनताका आवश्यकता असीमित छन्। स्रोत साधनको कमी छ। संघीय सरकाले केही बजेट बिनियोजन गरेर काम थालेका थियौँ,’ उनले भने, ‘यो वर्ष पनि कभर्ड हल निर्माणका लागि संघीय सरकारलाई नै हामीले प्रस्ताव पेश गरेका छौँ।’

जिल्लाको महत्वपूर्ण र एकमात्र कभर्ड हल भत्किँदा जिल्लाका इनडोर खेलकुद प्रभावित बनेका छन्। इनडोर खेल खेल्न हल अभावले जिल्लामा खेलकुद गतिविधि शून्य छ। 

ब्याडमिन्टन, टेबल टेनिस, कराते, बक्सिङ, चेस जस्ताभित्र खेलिने खेलहरू मैदानमा खेल्दा हावाले असर गर्छ। अमरगढी नगरपालिका–४ खलंगामा ३२ वर्ष पहिले निर्मित कभर्ड हल ३० असार २०७५ मा भत्किएको थियो। 

२८ वैशाख २०७६ मा प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति नीरादेवी जैरुले एक कार्यक्रमबीच सेमी कभर्ड हलको शिलान्यास गरेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.