भन्छन्‌, ‘संगीतमा 'नो कम्प्रमाइज्ड !'

|

काठमाडौं : बुटवलको एक वर्कशपमा काम गरिरहेका अर्जुन कौशललाई साहु राजु भण्डारीले एकदिन भने, 'अब तिमी गायक बन्‍नुपर्छ, काठमाडौं जाऊ, यहाँ मोटरसाइकल मर्मत गरेर आफ्नो कला नष्ट नगर।'

धौलागिरीमा, गुराँस फुल्ने लेकैमा, हिउँचुलीमा घाम लाग्यो घमाइलो, म त कालिपारे, मौरी त्यसै घुम्दैन, दार्जिलिङको घुम्तीमा घुम्यो रेल, तिनाउ खोला पारी, ड्राइभर म माइलो जस्ता चर्चित लोक पप गीत सिर्जनाबाट नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संगीतकार तथा गायक कौशलले 'यानिमाया हो, नथिया वालीले लगायत चर्चित गीतमा स्वर पनि भरेका छन्। उनको स्वरलाई पनि दर्शकले खुबै मन पराए।

'वि.सं. २०५० सालमा मलाई मेरा साहुजीले दिएको गायक बन्‍ने सुझाव मेरो जिन्दगीको सबैभन्दा ठूलो उपहार हो', उनी भन्छन्, 'यदी त्यो दिन उनले मलाई गायक बन्‍नुपर्छ नभनेको भए के हुन्थेँ, थाहा छैन।'

१२ वर्षमा परदेश

गुल्मीमा जन्मिएका अर्जुन पाल्पामा हुर्किए। घरको आर्थिक विपन्‍नताले उनका लागि पढ्नुभन्दा ठूलो पैसा कमाउनुपर्ने आवश्यकता थियो। परदेश जान आफन्त र गाउँलेको लर्को लाग्थ्यो। उनी त्यही लर्कोलाई पछ्याउँदै १२ वर्षको उमेरमा अंकलका साथमा भारततिर हिँडे। 

दिल्ली पुगेर उनले मेकानिक्सको काम सिके। आफू बस्ने घर नजिकै एक शिक्षिका थिइन्। उनीसँग सामान्य अध्ययन पनि गरे। बच्चैदेखि गायनका पारखी उनलाई ठूलो बुबा र काकाले तीन वर्षपछि नेपाल पठाइदिए। दिल्ली बसाइको त्यो तीन वर्षमा उनले मेकानिक्सको ज्ञान लिइसकेका थिए। बरू नेपाल गएर पढ्छु भन्दै उनी नेपाल फर्किए। बुटबल आएर तीन वर्ष बिताए। १५ वर्षमा बुटवल आएका उनले बागेश्‍वरी संगीतालयमा संगीत सिके। सुरेश सेन्चुरीबाट संगीत सिकेका उनले जीविकोपार्जनका लागि वर्कशपमा काम गरे।

अनि काठमाडौं...

भाइ पदमले उपहारमा दिएको किबोर्ड चलाउँदै उनी गुनगुनाइरहन्थे। वर्कशपमा काम गर्ने सानो केटाको अथाह क्षमता देखेका साहुका आँखा उनका लागि नयाँ जिन्दगी शुरू गर्ने कोशेढुङ्गा सावित भयो। उनका लागि काठमाडौं एउटा सपना थियो। साहुको एक बोलीले सपनाको शिखरमा पुगेका अर्जुन काठमाडौं यात्रामा चाहिने आर्थिक पाटो सम्झेर शून्यमै झरे।

​वर्कशपमा राम्रै कमाउँथे, तर कामको सम्मान थिएन। तर त्यहीबेला संगीतमा लागेकालाई हेर्न दृष्टिकोण एकदमै उच्च थियो। उनी सम्मानको कुराले पनि उत्साहित थिए। काठमाडौं पुगेर गायक बन्‍ने हुटहुटीले छोइसकेको थियो। भरोसा गर्न एक मात्रै विकल्प थिए : उनका काका। भारतमा मजदुरी गरिरहेका काकालाई गायक बन्‍न काठमाडौं जाने निर्णय सुनाए। काकासँगै उनले सम्भावित खर्चका लागि ५० हजार रुपैयाँ मागे। काकाले ३० हजार भारतीय रुपैयाँ दिने वाचा गरे। अर्जुन सो रकम लिन भारत गए। काकाले पैसा दिएपछि उनी भारतबाट सीधै काठमाडौं हानिए। 

२०५३ सालमा काठमाडौं आउँदा उनीको एकमात्रै लक्ष्य गायक बन्ने थियो। त्यसका लागि सुरिलो स्वर छँदै थियो। अलिअलि संगीतको ज्ञान लिएर आएकै थिए। तर स्वर परीक्षण गर्न चिनेको ठाउँ थिएन। त्यसबेला रेडियो नेपाल, रीमा रेकर्डिङ र झरना संगीतको नाम उनले सुनेका थिए। तीर्थ गन्धर्व र बम बहादुर कार्कीहरू रेडियो नेपालमा थिए। चार-पाँचवटा गीत १७ हजार रुपैयाँमा रेकर्ड गर्ने माहोल बन्यो। तर, उनले रीमा रेकर्डिङ रोजे। केही गीत रेकर्ड गरे। तर, उनले ती गीत निकालेको कुरा स्टुडियोभन्दा बाहिर खासै चाल पाइएन। 

शुरूवाती चरणमा उनले लोक गीत गाए। तर, उनी चलेनन्। 'मैले लोक गीत बनाउन र गाउन चाहिँ जान्दो रहेछु। तर, कुन जनारामा गाउँदा सफल हुन्छु भन्‍ने थाहा पाएको रहेनछु', उनी आफ्नो कमजोरीबारे बोल्छन्, 'लोक गीत मेरा लागि बनेको रहेनछ। मेरो स्वरका लागि लोक पप सुहाउँदो रहेछ भन्‍ने कुरा धेरैपछि थाहा पाएँ।' 

लोकगीतको भुमरीमा उनी पाँच वर्ष अड्किए। घरबाट ल्याएको पैसा सकिँदै गयो। लगभग उनी घर फर्किने अन्तिम निष्कर्षमा पुगेका थिए। उनी भन्छन्, 'आर्थिक विपन्‍नताले पोल्दै गयो। गीत रेकर्ड भए पनि चल्न सकेन। आफूसँग अरु सीप थिएन। त्यसकारण घर फर्किने सोच बनाइसकेको थिएँ। त्यही बेला मैले इन्द्र जिसी दाइलाई भेटेँ, त्यसपछि म घर फर्किनु परेन।'

इन्द्र जिसीसँगको भेट

गीत संगीत सिर्जना गर्ने क्रममा उनको भेट संगीतकार सुनिल बुढा मगरसँग भेट भयो। अर्जुनले त्यो बेलासम्म एउटा एल्बमलाई पुग्ने गीत लेखिसकेका थिए। बुढालाई त्यो गीत मन पर्‍यो। उनले सहकार्यका माहोल बनाउने कुरा अगाडि बढाए।

त्यसै बेला अर्जुनको भेट इन्द्र जिसीसँग भयो। जसले शिला क्यासेट सेन्टर चलाएका थिए। उनको गीत सुनेर जिसीले आफूले गीतमा लगानी गर्ने बताए। २०५९ सालमा 'चौतारी समूह' नामक एल्बम निकाले। उनको गीतले चर्चा कमायो। काठमाडौंमा टिक्ने आधार पनि दियो। त्यसपछि उनी अलिक हौसिए। विस्तारै उनले लोकगीत जनरा छोडे। लोक पपतिर लागे। तर, घरको आर्थिक सहयोग हुने अवस्था नभएपछि उनले धौलागिरि दोहोरी साँझमा मादल बजाउन थाले।

लगभग डेढ वर्षसम्म उनले मादल बजाउने र गीत सिर्जनालाई बढाउँदै लगे। त्यही बेला उनले 'मनको चिनो' एल्बम निकाले। जहाँ उनका ४ वटा गीत समावेश थिए। जुन उनलाई चर्चाको उचाइमा लाने माध्यम बन्यो। उनले चौतारी भाग ५ सम्म एल्बम निकाले। त्यसका लागि उनलाई धेरै साथीले सहयोग गरेका छन्। अहिलेसम्म उनले ३ सय वटा गीतमा संगीत र ६५ भन्दा बढी गीतमा स्वर भरेका छन्। 

साथीहरूको सहयोग

नेपाली साङ्गीतिक क्षेत्रमा उनको आफ्नै पहिचान छ। उनले सिर्जना गरेका धेरै सदाबहार गीत आज पनि भीर पाखा र शहरका गल्लीमा घन्किन्छन्। उनी यस कुराले प्रफुल्ल नहुने कुरै छैन। यो सफलता उनको एक मात्र कर्मले भएको होइन। उनीसँग सहकार्य गर्ने धेरै साथीहरू उनको सफलताका अंश हुन्। 'मेरा धेरै अग्रज र समकालीन साथीहरूको सहयोगबिना यो सफलता हासिल गर्न सक्ने कुरा नै भएन', उनी भन्छन्, 'मेरो सफलताका हकदार मलाई सहयोग र असहयोग गर्ने सबै साथी हुन्।'

उनलाई बुटवलबाट आउँदा रेकर्डिङ स्टुडियो देखाउनेदेखि लिएर गीतमा सुझाव दिने गायिका लक्ष्मी न्यौपानेप्रति निकै आभारी छन्। उनी भन्छन्, 'त्यसबेला चर्चाको शिखरमा रहेकी दिदीले म जस्तो नयाँ मान्छेलाई खुबै सहयोग गर्नुभएको थियो। उहाँको सहयोग मेरो जीवनमा ठूलो अर्थ राखिरहेको छ।'

त्यसपछि थर फेरे

गीतको चर्चा र उनको माग बढ्दै गएको थियो। नयाँ मान्छे र सिनियर कलाकारसँग भेट बढ्दै गयो। कोही कसैले पनि उनको कामको प्रशंसा गर्थे। उनी फुरुङ्ग हुन्थे। एकदिन एक चर्चित कलाकारसँग उनको भेट भयो। कुराकानीको क्रममा ती कलाकारले अर्जुनको थर सोधे। उनले विश्‍वकर्मा भनिदिए। केहीछिन अघिसम्म सम्मानले बोलाएको व्यक्तिले विश्वकर्मा सुनेपछि नाक खुम्च्याए। भाषामा परिवर्तन ल्याए।

यो कुराले उनको चित्तमा गहिरो घाउ बनायो। उनले पहिलोपटक आफूलाई कसैले दलित भनेर तल्लो दर्जामा राखेको महसुस गरे। जुन यसअघि उनले कहिल्यै महसुस गरेका थिएनन्।

'म मामाघरमा मायाले हुर्किएँ। शहरमा बसेँ, तर कसैले पनि यस्तो महसुस गराएका थिएनन्। मैले पहिलोपटक समाजको चरित्र बुझ्ने अवसर पाएँ', उनले मनको तीतो सुनाए। कसैले उनलाई तँ दलित होस् भन्‍ने महसुस गराइदियो।

शहरमा पनि जातले स्थान पाएको देख्दा उनी आश्चर्यमा परे। एकदिन आफू गाउँ गएको बेला इतिहास खोतले। हजुरबाले लोहनी थर र कौशल्यला गोत्र रहेको हजुरबुबाले सुनाए। तर, उनको बुझाई उल्टो भयो। गोत्रलाई थर सोचेर उनले आफ्नो नाम पछाडि कौशल हाले। आजको मितिसम्म उनी कौशलकै रुपमा छन्। यो उनका लागि प्रिय शब्द बन्यो।

महोत्सवमा गीत घन्काउँदा

गायक रामचन्द्र काफ्लेले अर्जुनलाई सधैँ भनिरहन्थे, 'तिम्रो स्वर राम्रो छ। आफ्ना गीत आफैँ गाउने गर।' यो कुरा उनले धेरै चोटी सुने, तर गाएका थिएनन्। लोक दोहोरी गाउँदा आफ्नो गायनप्रति उनको मोहभङ्ग भइसकेको हुनाले टार्थे।

२०६६ तिर क्यासेट जमाना सकिएर स्टेज कार्यक्रमको युग शुरू भएको थियो। क्यासेटको जमानमा जीविकोपार्जन गर्न सहज भएपनि स्टेज कार्यक्रममा संगीतकारको महत्व शून्य भयो। गायकका लागि स्टेज कार्यक्रम फाइदाजनक भए पनि संगीतकारका लागि 'कागलाई बेल पाके' जस्तै थियो। संगीतको नशा चढ्दो थियो, तर उनलाई दैनिकी चलाउन समस्या हुन थाल्यो। यो संकटमा एकजना साथी थिए शेमन्तमणि खनाल।

गाउँमा महोत्सव चलेको थियो। उनै शेमन्तले स्टेज कार्यक्रमका लागि गाउँमा आमन्त्रण गरे। गीत गाउन छोडेर संगीत र शब्द सिर्जना गरिरहेका कौशल आफैँले रचना गरेको 'हिमचुलीमा घाम लाग्यो घमाइलो' गीत गाए। तर, त्यहाँ 'रामचन्द्र काफ्लेको गीत तैँले किन गाइस्?' भनेर उनको आलोचना भयो।

त्यसपछि दैनिकी चलाउन पनि उनी संगीतसँगै गायनलाई पनि निरन्तरता दिने निर्णयमा पुगे। अचेल उनी आफूले निर्माण गरेका गीतहरू आफैंले स्वर भर्ने गर्छन्। 'लोक दोहोरी नफापेपनि लोक आधुनिक गीत मेरो स्वरका लागि सुहाउँदो छ भन्‍ने लाग्छ', उनले सुनाए, 'दर्शकहरूले मन पराइदिनुभएको छ, खुशी नै छु।'

अहिले उनी स्टुडियो निर्माण गर्ने क्रममा छन्। यसमै अहिले समय दिइरहेका छन्। 'संगीतको भक्तले मन्दिर त त बनाउनु पर्‍यो नि!', मुस्कुराउँदै उनले भने, 'नाम एस स्टुडियो राखेको छु। संगीतमा 'नो कम्प्रमाइज !'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.