प्रेस सल्लाहकार थापा भन्छन् : सकारात्मक परिणाम आउँदैछ

|

काठमाडौं : नेपाली भूमि समेटेर नक्सा जारी गरेदेखि बिग्रिएको सम्बन्ध सुधारका लागि अहिले भारतको दौडधूप बढेको छ। २०७६ असोजमा नेपाली कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो। नेपालले तीन पटकसम्म कूटनीतिक नोट पठाउँदा पनि बेवास्ता गरेको भारतले पछिल्लो दुई महिनायता नेपालसँगको सम्बन्ध सुधारमा जोड दिइरहेको छ।  

नेपालले पनि भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटेर २०७७ वैशाखमा नयाँ नक्सा जारी गरेसँगै दुई देशबीच झन् दुरी बढेको थियो। नेपालले नयाँ नक्सा जारी गरेपछि वार्ताको वातावरण बिगारेको भन्दै भारतले आक्रोश पोखेको थियो।

यसबारेमा टिप्पणी गर्दै भारतले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको गम्भीर टिप्पणी गरेको थियो। यसबीचमा सीमा विवादबारे छलफल नेपालले तीन पटक कूटनीतिक नोट पठाउँदा पनि बेवास्ता गरेको भारतले पछिल्लो समय नेपालसँगको सम्बन्ध सुधारलाई उच्च प्राथिमकतामा राखेको हो।

लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई लिएर देखिएको तिक्तता प्रधानमन्त्री ओलीले भगवान् रामको जन्म नेपालकै ठोरीमा भएको बढाएसँगै झन् बढेको थियो।  नेपाल-भारतबीचको बिग्रिएको सम्बन्ध सुधारको संकेत भने भारतको स्वतन्त्रता दिवसको अवसरबाट सुरु भयो। 

प्रधानमन्त्री ओलीले गत साउन ३१ गते शनिबार भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी शुभकामना दिए। ओलीसँगको संवादमा मोदीले दूत पठाउने प्रतिवद्धता जनाए। त्यसपछि दुई देशबीच छलफलको यात्रा सुरु भयो। ओलीसँगको टेलिफोनमा मोदीले संवादका लागि आफ्ना दूत पठाउने बताएका थिए। 

अनि आए गोयल

भारतीय प्रधानमन्त्रीको दूत बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष रूचिमा भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयल गत कात्तिक ५ गते बुधबार विशेष विमानमार्फत काठमाडौं ओर्लिए।

उनी एक दिन नेपालमा बसेर दिल्ली फर्किए। उनले नेपाल बसाइको क्रममा प्रधानमन्त्री केपी ओलीसँग सरकारी निवास बालुवाटारमा तीन घण्टासम्म भेटेका थिए। तर उक्त भेटघाट नेपालमा चर्को आलोचनाको केन्द्रमा पर्‍यो।

उक्त भेटमा भारतीय सेना प्रमुखको नेपाल भ्रमण र सीमा विवाद हल गर्न राजनीतिक तहको छलफल अघि बढाउने विषयमा छलफल भएको थियो। तर एउटा जासूसी संस्थाका प्रमुखसँग प्रधानमन्त्रीले भेटेर ठीक नगरेको भन्दै सत्तारुढ र विपक्षी दलले चर्को आलोचना गरेका थिए। 

गोयल गए नरवणे आए 

रअ प्रमुख गोयल नेपाल आएर फर्किए लगत्तै भारतीय सेना प्रमुख मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा कात्तिक १९ गते बुधबार काठमाडौं आए।

नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथीको सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आएका थिए। भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाए। त्यसक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए। उनी नेपाली सेनाका लागि करिब ४० करोडभन्दा बढीको सहयोग पनि दिएको थियो।

भारतले लिम्पियाधुरासम्म पुग्ने सडक खोलेपछि नरवणेले दिएको अभिव्यक्तिको नेपालका चौतर्फी विरोध भएको थियो। २०७६ फागुनमै भ्रमण तय भए पनि नक्सा विवादका कारण उनी नेपाल आउन पाएका थिएनन्। त्यसयता दुई मुलुकबीच राजनीतिक र कूटनीतिक तहमा संवाद नभइरहेको बेला गोयल र नरवणेको भ्रमणले वार्ताको ढोका खोलेको थियो। 

विदेश सचिवको भ्रमण 

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि मंसिर ११ गते बिहीबार काठमाडौं आए। भारतीय विदेश सचिव श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका थिए।

उनको भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्याका विषयमा केन्द्रीत भयो। उनी आएकै दिन दुई देशका विदेश सचिवस्तरीय संयन्त्रको बैठकसमेत बस्यो।

उक्त बैठकमा प्रधानमन्त्री ओलीको निर्देशनमा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने भएको थियो। 

विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग र श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि शिष्टाचार भेटवार्ता गरे। उक्त भेटपछि पनि दुई देशबीचको सम्बन्ध सुधारका लागि भारतले महत्व दिन थालेको छ। भारतले राजनीतिकस्तरमै वार्ता गर्न आगामी डिसेम्बरमा परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि नेपाललाई निम्ता दिइसकेको छ। 

नेपालसँगको सीमा समस्या स्वीकार्दै भारतले अब राजनीतिक तहमै वार्ताको इच्छा जाहेर गरेको थियो। नेपाल-भारत समस्या समाधानका लागि हाल परराष्ट्र सचिवस्तरीय संयन्त्रले काम गर्दै आएको छ। 

भाजपाका विदेश विभाग प्रमुखको अर्थपूर्ण भ्रमण

नेपालसँगको सम्बन्ध सुधारमा जोड दिइरहेको भारतले विदेश सचिव नेपालबाट फिरेको केही सातामै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई बिहीबार नेपाल पठाएको छ। नेपाल आएलगत्तै चौथाइवालेले यहाँस्थित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग अर्थपूर्ण भेटघाट गरिरहेका छन्। 

उनले खास गरी सरकारमा रहेका सत्तारुढ नेकपाका नेताहरुलाई धमाधम भेटिरहेका छन्। सबैभन्दा पहिले नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई साक्षी राखेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेट गरे। 

नेपाल-भारत सीमा विवाद उत्कर्षमा पुगेयता भारतले राजनीतिक तहमै प्रतिनिधि पठाएर सम्बन्ध सुधार अभियान थालेको हो। चौथाइवाले नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणमा नेपाल आएका हुन्।

बिहीबार प्रधानमन्त्री ओलीलाई सबैभन्दा पहिले बालुवाटारमा भेटेका उनले त्यसयता लगातार राजनीतिक भेटघाट गरिरहेका छन्। उनले उनले आज शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री पौडेल र नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पनि राजनीतिक भेटवार्ता गरेका छन्। 

यो राजनीतिक भेटघाटलाई नेताहरुले अर्थपूर्ण मानेका छन्। भारतीय संस्थापनको प्रतिनिधिका रुपमा नेपाल आएका चौथाइवालेले विगतको तिक्तता भुलेर अघि बढ्नुपर्ने सन्देश नेपाली नेताहरुलाई दिइरहेका छन्। 

प्रधानमन्त्रीको पहल सार्थक हुँदै : थापा

यसैबीच भारतले नेपालसँगको सम्बन्ध सुधारमा देखाएको तदारुकतालाई प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सकारात्मक भनेका छन्। उनले भारतसँग सरकार र जनस्तरसम्म सम्बन्ध रहेको बताउँदै अहिले भइरहेका विभिन्‍न तहको भ्रमण र वार्ताले सकारात्मक परिणाम ल्याउने बताएका छन्।  

'अहिले पनि भाजपाका विदेश विभाग प्रमुख नेपाल आउनु भएको छ। उहाँ भारत सरकारको पदाधिकारी होइन तर पनि हामीबीच जनस्तर र पार्टीस्तरको   पनि सम्बन्ध छ', उनले भने, 'यसले दुई देशबीचको सम्बन्ध सुधारमा पक्कै महत्वपूर्ण भूमिका खेल्नेछ।'

नेकपा नेतासमेत रहेका थापाले तत्कालीन नेकपा एमालेको डेलिगेसन गएका बेला  दिल्लीस्थित पार्टी कार्यालयमा विदेश विभाग प्रमुख चौथाइवालेले नै भेट दिएको स्मरण गरे।

भारतीय प्रधानमन्त्रीका विशेष दूत सामन्त गोयल र विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणले दुई देशबीच पुन: संवादको आधार बनाइसकेको पनि उनले स्मरण गरे।

'प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्धलाई समस्यारहित बनाउने भनिसक्नु भएको छ। इतिहासले छाडेका समस्या अहिले हल गर्नुपर्ने कुरा उहाँले राखिसक्नु भएको छ', उनले भने, 'त्यस कुरामा भारत पनि तयार भएको छ। आत्मानिन्दा रमाउनेहरूले ख्याल गर्नुपर्ने कुरा भनेको दुई देशबीच श्रृंखलावद्ध भेटघाट भइरहेका छन्। यसले सकारात्मक परिणाम निकाल्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.