|

  • भुपाल थापा 

कपिलवस्तु : मधेसी मोर्चाको बन्द र विरोधका बाबजुद कडा सुरक्षाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले तौलिहवामा 'राष्ट्रपति महिला उत्थान कार्यक्रम' उद्‍घाटन गरेकी छिन्।

कार्यक्रमको उद्‍घाटन गर्न राष्ट्रपति आउने तय भएसँगै मोर्चाको जिल्ला कमिटीले दुई दिन कपिलवस्तु बन्द गर्ने घोषणा गरेको थियो। सोमबार सप्तरीमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएपछि मोर्चाको केन्द्रीय कमिटीले देशभर तराइ बन्दको घोषणा गरेको थियो। जसका कारण कपिलवस्तुका जनता बन्दको मारमा परे।

तर 'राष्ट्रपति महिला उत्थान कार्यक्रम' मा भने बन्दको प्रभाव खासै परेन। कार्यक्रमको उद्‍घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका हरेक क्षेत्रका निति निर्माण तहदेखि कार्यान्वयनसम्म महिलाको सहभागिता अनिवार्य रहेको बताइन्। महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण गरी दिगो विकासको लक्ष्य हासिल गर्ने, लैंगिक हिंसाको रोकथाम गरी सोबाट पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने उद्देश्यले “राष्ट्रपति महिला उत्थान कार्यक्रम” लागू गरिएको उनले बताइन्।

शान्तीको सन्देश फैलाउने प्रतिष्ठाको रुपमा रहेको भगवान गौतम बुद्धको पुण्यभुमि कपिलवस्तुको महिलाको सामाजिक आर्थिक रुपमा पछि पर्नु दुखदायि विषय भएको राष्ट्रपतिले बताइन्।  

कार्यक्रमस्थलभन्दा १ किलोमिटर पर मोर्चाले राष्ट्रपतिलाई कालो झन्डा देखाउँदै विरोध प्रदर्शन गरेको थियो। जिल्ला प्रशासन अगाडी विरोध प्रदर्शन गर्ने मोर्चाका झन्डे १५ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यस क्रममा मोर्चाका केन्द्रीय सदस्य समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। राष्ट्रपतिको कार्यक्रम सफल भएपछि उनीहरुलाई प्रहरीले रिहा गरिसकेको छ।

जिल्ला प्रशासनभन्दा डेढ किलोमिटर दक्षिणतर्फ रहेको बुद्ध पदम उच्च माविमा  'राष्ट्रपति महिला उत्थान कार्यक्रम' राखिएको थियो। कार्यक्रममा सुरक्षा संवेदनशिलालाई मध्यनजर गर्दै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले संयुक्त टोली परिचालन गरिएको थियो।

३० जिल्लामा लागु हुनेछ कार्यक्रम

महिलाको हक अधिकार सुनिश्चित गर्दै राष्ट्र निमार्णको प्रत्येक तहमा समान सहभागिता पुर्‍याउन  नेपाली महिलाको आर्थिक उन्नती , प्रतिष्ठा तथा सम्मान प्रबद्र्धन गरि लैंगिक विभेदको अन्त्य गर्ने उद्देश्यले नेपाल सरकारको तर्फवाट राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत मानव सुचकाङकका आधारमा कपिलवस्तुसहित देशभरका ३० जिल्लाका अति विपन्न, गरिब र लोपोन्मुख महिला समुदायको उत्थानका लागि 'राष्ट्रपति महिला उत्थान कार्यक्रम' लागु गरेको हो । यस कार्यक्रम लागु भएपछि महिलाको जीवन स्तरमा परिर्वतन आउने बताइएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तु, प्यूठान, रोल्पा, रुकुम, रौतहट, पर्सा, सिरहा, महोत्तरी, दोलखा, रामेछाप लगायतका ३० जिल्लामा लागु हुने जनाइएको छ। अति विपन्न दलित, पिछडा, जनजाती, खसआर्य, तथा मुस्लिम समुदायका महिला लक्षित कार्यक्रम रहेको छ। उद्यमशिलताको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण गरि दिगो बिकास हासिल गर्ने, लैंगिक हिंसाको रोकथाम तथा सोबाट पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागु हुन लागेको हो।

सो कार्यक्रमका लागि चालु आर्थिक वर्ष ५ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कार्यक्रमले महिलाहरुको हक अधिकार, सीप विकास, उद्यमशीलता, कार्यक्षमता, सशक्तिकरण लगायता बढावा दिने खालका रहेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बिष्णु प्रसाद लम्सालले जानकारी दिए। सो कार्यक्रम ३ खालका रहेका छन् । २५ जिल्लामा सेवा केन्द्र स्थापनका लागि प्रत्येकलाई ३ लाख ९६  हजारका दरले दिइने योजना छ।

यस्तै उद्यमशीलता विकासका लागि १० जिल्लामा १७ लाखका दरले र सीप तथा क्षमता विकासकालागि ३० जिल्लामा १६ लाखका दरले रकम वितरण गरिने उनले बताए प्रर्दशनीमा २५ जिल्लाका महिला उद्यमीहरु तथा त्यस बाहेक नवलपरासी, मकवानपुर चितवनका महिलाहरुले बनाएका सामाग्रीहरुको स्टल राखिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.