नेतृत्वको सामुहिक हत्या प्रयास : एमाले

|

काठमाडौं : मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा भएको घटनाबारे नेकपा एमालेले मंगलबार औपचारिक धारणा सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको पत्रकार सम्मेलनमा उपस्थित नेताहरुले सरकार र मधेसी मोर्चाका कारण घटनाले हिंसात्मक रुप लिएको आरोप लगाए। पार्टीले घटनामा ३ जनाको ज्यान जानु दुखद रहेको बताएको छ।

नेतृत्वको सामुहिक हत्या प्रयास

पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले नेतृत्वको सामुहिक हत्या गर्ने षड्यन्त्र भएको आरोप लगाए। 'त्यहाँ कार्यक्रम भइरहँदा बम प्रहार भयो। प्रहरीको घेरालाई तोडेर मञ्‍चको बार तोड्न खोजियो। तीनतिरबाट घेराउ गर्न खोजियो र गाउँ-गाउँमा गएर सबैले भाला, लट्ठी लिएर आउ भनेर भन्‍नु र हामी त्यहाँबाट अर्को कार्यक्रमतिर जानखोज्दा खेरि त्यसलाई आक्रमण गर्नु र बम समेत राखेको हुँदा त्यहाँ जतिपनि हामी उपस्थित भएका थियौं त्यो नेतृत्व पङ्तिलाई नै समाप्त गर्ने दुराशय थियो भन‍्ने कुराको पुष्टि हुन्छ। यो कुरा सार्वजनिक रुपमा जनताले थाहा पाउनुपर्छ।'

नेता रावलले झापादेखि राजवीराजसम्म आउँदा नेकपा एमालेले एकदमै शान्तिपुर्ण रुपमा आफ्ना कुराहरु अत्यन्तै जिम्मेवारीका साथ जनतामाझ राखेको बताए। उनले एमालेमाथिको आक्रमण नेपालको संविधान, हाम्रो कानुनी शासन, कानुनी व्यवस्थामाथिको आक्रमण भएको बताए। 'राजनीतिक दलको हैसियतमा आफ्ना कुराहरु राखिरहँदा शान्तिपुर्ण कार्यक्रममा आक्रमण गर्ने, विध्वंश मच्चाउने, प्रहार गर्ने, त्यसका विरुद्ध मान्छेहरु उचाल्ने र उत्तेजीत बनाउने संयुक्त मधेशी मोर्चाका मान्छेहरु नै हुन्,'उनले भने।

एमालेले हदैसम्मको संयम नभएको भए अझै ठुलो घटना घट्न सक्ने अवस्था रहेको उनको दाबी छ। उनले एमालेका तर्फबाट कुनैपनि खाले गलत गतिविधि नभएको बताए।'सप्तरी घटना मोर्चाका कारण भएको हो। संविधान, कानुन, मानवअधिकारका मुल्यमान्यता अनुरुप कार्यक्रम गर्दा पनि मान्छेहरुको ज्यान जानेगरी जुन घटना भएका छन् यो अत्यन्तै दुखद घटना हो।'

लोकतन्त्रमाथिको हमला

नेकपा एमालेका महासचिव इश्‍वर पोखरेलले एमालेले मेची महाकाली अभियान सुरु गर्नुअघि नै अन्य दलका नेताहरु आत्तिएको बताए। उनले गोली चलाउनु सुरक्षाकर्मीको बाध्यतामात्रै भएको बताए। 'सुरक्षाकर्मीहरुले बाध्य भएर गोलि चलाउने अवस्था सिर्जना भएको हो। संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपुर्ण कार्यक्रम गर्दा पनि यस्तो किन ?'उनले भने,' यस्तो खालको अवस्था सिर्जना गरियो जसले अप्रिय घटना घट्न गयो। नयाँ द्वन्द्व सिर्जना गर्न खोज्‍ने, सामाजिक सद्भाव विथोल्ने र एमालेमाथि प्रहार केन्द्रीत गर्न अपराधपुर्ण तरिकाले अगाडी बढिएको छ।'

अहिलेको संवेदनशिलतालाई ख्याल गरेर केही दिनलाई स्थगित गरिएको कार्यक्रम फेरि सुरु हुने उनले बताए। उनले मेची महाकाली अभियानअन्तर्गत प्रदेश नम्बर २ मा सभा गर्न बाँकी रहेका क्षेत्रमा केही समयपछि मिति तय गरेर सभा गरिने बताए।

उनले शान्तिपूर्ण रुपमा भएको कार्यक्रम गरिएको आपराधिक हमाला लोकतन्त्रमाथिकै हमाला भएको बताए। 'यो एमालेमाथिको मात्र हमला होइन सिङ्गो लोकतन्त्रमाथिको हमला हो। त्यसकारण यस्ता गलत कुराहरु निन्दनीय, आपतिजनक छन्। यस्ता आतंकपुर्ण क्रियाकलाप, आतंकपुर्ण क्रियाकलापलाई हामीले सह्यौं भने यो मुलुकको भविष्य अन्धकारमा डुब्‍नेछ,' पोखरेलले भने, यो हाम्रो कार्यक्रमबाट को-को आत्तिएका थिए भन्‍ने कुरा सबैलाई थाहा छ। सरकारमा बस्‍नेहरु, गृहमा बस्‍नेहरु र अरु कसले के अभिव्यक्ति दिएका थिए भन्‍ने कुराको तपाइहरु जानकार हुनुहुन्छ।'

सुरक्षाकर्मीको सुझबुझपुर्ण भूमिकाका कारण धेरै ठुलो घटना हुनबाट रोकिएको उनको दाबी छ।  उनले त्यही बापत सुरक्षाकर्मी र प्रशासन प्रमुखलाई झिकाइएको विषय शंकास्पद भएको बताए। उनले एमाले आफ्ना विचारबाट पछि नहट्ने बताए।

मुख्य जिम्मेवार सरकार र मोर्चा

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सप्तरी घटनाको जिम्मेवारी सरकार र मधेशी मोर्चाले लिनुपर्ने बताए। उनले एमालेको शान्तिपूर्ण सभा विथोल्ने क्रममा घटना भएकाले मोर्चाले यसको जिम्मेवारी लिनुपर्ने बताए। 'हाम्रो कुराकानीको दौरानमा तल साथीहरुले बाटो छेक्ने, निषेध गर्ने कुरा जेजे भनेका छन् त्यो हाम्रो कुरा होइन सम्म पनि भन्‍नुभयो,'नेम्वाङले भने,'तर मोर्चाको आधिकारिक रुपमा बोल्ने कुरा नै तल यी सम्पुर्ण आपराधिक घटनाका जिम्मेवार हुन्। मोर्चाले अगाडी आएर यो कुरालाई प्रष्ट पार्नुभयो नी! यो कुरा भत्सर्ना नगर्ने आफ्नो कुरा यो हो पनि नभन्‍ने तर उहाँहरुका नाममा यी सम्पुर्ण कुराहरु नहुने। त्यसकारण स्वभाविक रुपमा यो घटनाको जिम्मेवार मोर्चा हुनुपर्छ।'

सरकार र गृहमन्त्रीले समेत घटनाको जिम्मेवारी लिनुपर्ने उनले बताए। 'यो देशमा यदि जिम्मेवार सरकार, जिम्मेवार गृहमन्त्री छ भने यो सम्पुर्ण कुराको जिम्मेवारी सरकारले लिनुपर्छ,' उनले भने,' एमालेको कार्यक्रम रोक्छौ, प्रवेश गर्न दिइनेछैन, तिमीहरु यो ठाउाँ छाडेर जाउ भनेर भनिरहँदा यो सम्पुर्ण जानकारी सरकारलाई हुँदाहुँदै पनि सरकारले के गर्‍यो ? सरकारको नाकैमा यो सम्पुर्ण घटनाहरु हुँदा सरकारले यसको जिम्मेवारी लिनुपर्छ की पर्दैन ?' उनले भने। 

मोर्चाले हिंसात्मक बाटो रोजेको आरोप

एमाले सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले हिंसात्मक बाटो अपनाएको आरोप लगाए। 'मधेशी मोर्चाले यदी आफुलाई हिंसाबाट अलग गरेको घोषणा गर्दैन यी सबै कुराको जिम्मेवारी लिनुपर्छ। ती सबै कुराहरु मधेशी मोर्चाको आवरणमा भएका घटना हुन्,'ज्ञवालीले भने, 'ब्ल्याकमेलिङबाट आफ्ना अभिष्टहरु पुरा गर्न खोज्नेहरु मात्र निर्वाचनको पक्षमा छैनन्। नत्र तराईका बहुसंख्यक जनता निर्वाचनको पक्षमा छन्।'

उनले तराइमा देखिएको राजनीतिक खतरा छुट्याउन नसक्दाको परिणाम सप्तरी घटना भएको बताए। 'तराईमा अहिले देखिएको राजनितिको खतरनाक कुरा के हो भने कुन मान्छे कहाँनेर सम्म मधेशी मोर्चाको सदस्य हो र कहाँबाट उ आपराधिक समुहको सदस्यको रुपमा हुर्कियो भन्‍ने कुरा। कहाँसम्म उ मोर्चाको मान्छे हो र कुन दिनदेखि उसले सिके राउतको सेवा गर्छ ? यो सिमारेखा नछुट्याउनु तराइका लागि दुर्भाग्यपुर्ण अवस्था बन्दैछ,' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.