इजरायलमा ३ प्रतिशत किसानले खेती गरेर ९७ प्रतिशत जनतालाई पाल्छन्

|

काठमाडौं :  नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पूरा हुँदैछ। यो यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ।

योसँगै नेपालका लागि इजरायलका राजदूत हनान गोडेर दोहोरिएर नेपाल आएपछि चर्चाको विषय बनेको छ। नेपालमा राजदूत दोहोरिएर आएको यो पहिलो घटना हो। यसै सन्दर्भमा राजदूत गोडेरसँग नेपाल इजरायल सम्बन्ध र दोहोरिएर आउनुको कारणबारे न्युज एजेन्सीले कुराकानी गरेको छ। साथै नेपाली कृषि र प्रविधिबारे पनि चर्चा पनि गरिएको छ। 

यो तपाईको दोस्रो कार्यकाल हो। कसरी सम्भव भयो?

हो यो म दोस्रोपटक राजदूत बनेर आएको छु। केही वर्ष अगाडिसम्म यहीँ थिएँ। फेरि आउन पाउँदा खुसी छु। नेपाल धेरै राम्रो छ र एकदमै चाखलाग्दो देश पनि छ।

नेपालमा इजरायली सरकारको परियोजनाहरु पनि सञ्चालनमा छन्। हामी दुवै देशले परस्पर हीतका धेरै काम गरेका छौं यसलाई निरन्तरता दिन पनि म आएको हुँ। ​

नेपाल र इजरायलबीचको सम्बन्ध हिजो र आज कस्तो छ?

यो वर्ष हामी नेपालसँगको सम्बन्धको ६०औं वार्षिकोत्सव मनाइरहेका छौं। यो कुरा हामी बिर्सन सक्दैनौं। इजरायलको अस्तित्वको लागि नेपालले दिएको मत महत्वपूर्ण छ।

मलाई लाग्छ यो एशियामा पहिलो पनि हो। यो दूतावास भएको भवनमा नै पहिलो पटक कार्यालय खुलेको हो। अहिलेसम्म हामी यहीँ छौं। हामी लामो समयदेखि द्विपक्षीय हितका धेरै आयोजनाहरु सञ्चालन गर्दै आइरहेका छौं। यो तथ्यले असल सम्बन्धलाई प्रष्ट पार्छ।  

हाम्रो सम्बन्धमा नेपाली जनता र इजरायली जनता कसरी जोडिएका छन्?

हाम्रो सम्बन्ध असल छ। यसको कारण हाम्रो समान बुझाइ छ। हामी दुवै साना देश हौं। दुवै देशको छिमेकमा ठूला देश छन्। ठूला देशको छिमेकमा रहेका साना देशका केही समान प्रकृतिका चुनौती, छिमेक–छिमेक बीचको सवालमा हाम्रो एक समान भोगाई र सहानुभूति रहन्छ।

मलाई लाग्छ नेपाल इजरायल बीचको सम्बन्ध प्रगाढ हुन यो विषयले महत्वपूर्ण भूमिका खेलेको छ।

हाम्रो देश सानो छ। मध्यपूर्वमा देशहरूबीच मित्रवत सम्बन्ध छैन। यसलाई हामीले व्यवस्थापन गर्दै आएका छौं।  हाम्रो देश स्थापनाको ७० वर्षको इतिहासमा धेरै प्रगति भइसकेको छ। इजरायलमा धेरै देशका मान्छेहरू आउन चाहन्छन्, काम गर्न चाहन्छन्। इजरायलको प्रगति  हेर्न चाहन्छन्। नेपालीले पनि इजरायललाई मन पराउँछन्।

यस्तै, इजरायली जनता पनि नेपाल र नेपाली मन पराउँछन्। धेरै इजरायली एकपटक नेपाल आउन, घुम्न चाहन्छन्। यस्तै इजरायलमा गएर कुनै नेपालीले नेपालबाट आएको भनेर सुनायो भने मात्र पनि हार्दिकता र स्वागत पाउँछ। 

अब अलिकति कृषिका कुरा गरौं। यो तपाईंको मन पर्ने विषय पनि हो। इजरायलको तुलनामा नेपालको कृषि कस्तो छ?

म पहिला इजरायलको कृषिको कुरा गर्छु। ७० वर्ष अगाडि हामी अभाव, भोकमा थियौं। जनताले खाद्यान्न लिनका लागि सरकारले दिने कुपनको भर पर्नुपर्थ्यो।

यसमा  पनि सीमित खाना मात्र थियो। अहिलेको अवस्थासम्म आउँदा हामीले ठूलो फड्को मारेका छौं।

यो चमत्कार जस्तो लाग्छ तर यो चमत्कार नभएर कडा मिहिनेतको नतिजा हो। अहिले विश्वमा इजरायल कृषि उपजको प्रमुख उत्पादकमध्ये एक हो। इजरायलमा जम्मा ३ प्रतिशत किसानले खेती गरेर ९७ प्रतिशत जनतालाई खुवाइरहेका छन्।

तपाईले सोच्नुभयो होला यो कसरी हुन्छ?

हो यो कुरा नै हामी नेपाली जनतालाई भन्न चाहन्छौं, सिकाउन चाहन्छौं। हामीले यो काम गरिरहेका छौं। हामीले इजरायलबाट प्राविधिक विज्ञहरु बोलाएर सिकाउने, नेपाली किसानलाई इजरायल लगेर सिकाउने काम गरिरहेका छौं।

हामीले अनुभव र सिकाइ आदान प्रदान गरिरहेका छौं। नेपालीहरूले विस्तारै सिक्न पनि थालेका छन्। 

कृषिको प्रविधि र विकासमा इजरायल पावर हाउस नै हो। नेपाल सरकार र नेपाली जनताले बढीभन्दा बढी फाइदा कसरी लिन सक्छन्? 

कृषि प्रविधिमा धेरै विकास भइसकेको छ। हामीले सिकाउने यही नै मुख्य कुरा हो। इजरायलमा पर्याप्त वर्षा हुँदैन साथै पानीको स्रोत पनि पर्याप्त छैन। अनि हामीले थोपा सिँचाइको विकास गर्‍यौं। यो प्रविधिको प्रयोग पानीको कमी पूरा गर्नु मात्र हैन विरुवामा पोषण र मल पुर्‍याउन पनि प्रयोग गर्‍यौँ।

नेपालमा हामी हेर्छौं, नेपालमा मलको प्रयोग बारी खेतमा छरेर प्रयोग गर्छौं। अहिलेसम्म यसरी नै प्रयोग गरिन्छ जुन गलत पनि हो। इजरायलमा विरुवाको जरामा पुग्ने गरी मल र पानी दिइन्छ।

हामी यसलाई फर्टिलाइजेसन भन्छौँ। यो नै प्रविधि हो। साथै यो लगानी पनि हो। थोपा सिँचाइको लागि पाइप लगायतको समानमा खर्च हुन्छ तर यसले पानी र मलमा हुने अनावश्यक खर्च पनि बचाउँछ।

नेपालीले सिक्ने यही हो। यदि १० रुपैयाँ लगानी गर्नुहुन्छ भने ५० रुपैयाँ कमाउनुपर्छ।  अर्को तर्फ कृषिलाई हेर्ने तरिका पनि बदल्नुपर्छ कृषि सोख होइन यो त व्यवसाय र जीवनको अर्को बाटो पनि हो। यो कुरालाई नेपाली दाजुभाइले बुझ्न जरुरी छ। अव पुर्खाले गर्दै आएको परम्परागत कृषिबाट केही हुँदैन। यसलाई परिवर्तन गर्न जरुरी छ।

आधुनिक तरिकाले कृषि गर्न जरुरी छ। केही वर्ष अगाडिसम्म नेपालमा टनेल खेती थिएन अहिले हेरौं त जताततै छ। यस्तै, सिँचाइ प्रणाली पनि फेरिँदै गएको छ यो पानीको अभावले होइन कृषि उत्पादन बढाउन किसानले पानी मल दिने तरिका बदलेका हुन्।

हो हामीले सिकाउन चाहेको र हेर्न चाहेको परिवर्तन पनि यही हो। अब पनि आधुनिक कृषि प्रणाली अपनाइएन भने धेरै कुरा गुम्न सक्छ।

नेपालको सम्भावनालाई हेर्ने हो भने खाद्यमा आत्मनिर्भर भएर विदेश निर्यात पनि गर्न सकिन्छ। नेपालको माटो मलिलो र उब्जाउ योग्य छ। किसान पनि मिहिनेती छन्। हामीले यसलाई नै प्रोत्साहित गर्नुछ। 

महामहिम तपाईं दोहोरिएर आएपछि केही विशेष योजना पनि छन् कि, अब तपाईको मुख्य दृष्टिगोचर केमा हुन्छ?

हाम्रो ६० वर्षे सम्बन्ध त्यसै महत्वपूर्ण छैन यसका धेरै पक्ष र आयाम छन्। हाम्रो सम्बन्धको दायरालाई अझ फराकिलो बनाउनु छ। यो कृषि पर्यटन श्रम जस्ता धेरै पक्षमा हाम्रो सहकार्य छ र भविष्यमा पनि हुनुपर्छ।

जसले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो द्विपक्षीय सम्बन्ध उदाहरणीय बनोस्। हामी यसैलाई सफल बनाउन लागि रहेका छौं। नेपाल र इजरायलबीच कस्तो अनौठो सम्बन्ध छ थाहा छ तपाईलाई, तपाईहरूसँग संसारको अग्लो शिखर सगरमाथा छ, हामीसँग संसारको होचो मृत सागर छ।

यही कुराले पनि हामीहरुलाई निकट र सुमधुर सम्बन्ध बनाउन प्रेरित गर्छ।

हामीले विभिन्न सञ्चार माध्यममा श्रम सम्झौताको विषयमा सुनेका छौं। नेपालबाट घरेलु हेरचाहको लागि श्रमिक लैजानेबारे के भइरहेको छ बनाउन सक्नुहुन्छ

नेपालबाट लिने भनेको घरेलु हेरचाहको श्रमिक हो। खासगरी वृद्धवृद्धाको हेरचाहको लागि लिन खोजिएको हो। यसको सम्झौता भइसकेको छ। अब यो कार्यान्वयनको चरणमा जाँदैछ। आगामी महिनाबाट औपचारिक प्रकृया नै शुरु हुन्छ। यो हाम्रो सम्बन्धको राम्रो उदाहरण पनि हुनेछ। दुवै पक्षले यसबाट लाभ लिन सक्ने छन्। 
अन्त्यमा नेपालीलाई केही भन्न चाहनुहुन्छ
? 

पहिला देशलाई बचाऔँ, वातावरण पनि जोगाऔँ। विकासलाई निरन्तरता दिऔं। नेपालले विकासको लामो बाटो हिँड्नु छ। विकासबाट नै प्रगति सम्भव छ। अहिले धेरै राम्रा परिवर्तन र वातावरण बनेको छ। नयाँ संविधान बनेको छ। यसले विस्तारै काम गर्न थालेको छ। मेरो सबै नेपाली दाजुभाइलाई आग्रह छ विकासतर्फ लाग्नुहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.