सर्वसाधरणले तत्कालै खोप लगाउन पाउँदैनन्

|

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको एक वर्ष हुन लागेको छ। यो अवधिमा संक्रमितको संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या पनि २ लाख ३४ हजार २३१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ। नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या पनि १ हजार ६ सय ८९ पुगेको छ।

पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएर महामारीकै रुप लिएको छ। तर संक्रमण नरोकिएकै अवस्थामा काठमाडौं उपत्यका लगायत देशभर जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ। सरकारी तथ्याङ्कले पछिल्लो समय संक्रमण दर कम देखाएको छ। तर संक्रमणबाट मृत्यु हुने तथा गम्भीर बिरामी भएर आइसियु र भेन्टिलेटरमा पुग्ने संक्रमितको संख्यामा कमी आएको छैन। के नेपालमा कोरोना महामारीको जोखिम कम भएकै हो? कि त सरकारले महामारी नियन्त्रण अभियानलाई फितलो बनाएको हो? अर्कातिर आमनागरिकले कोरोनालाई हेलचेक्रयाइँ गरेका हुन् त? यिनै सन्दर्भमा वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तसँग थाहाखबरका लागि सबिना खनालले गरेको कुराकानी :

सरकारी विवरण अनुसार पछिल्लो समयमा कोरोना संक्रमण हुँदै गएको देखिन्छ, के नेपालमा कोरोना भाइरसको जोखिम वास्तवमै घटेको हो?

पछिल्ला केही दिनको परीक्षण विवरण हेर्दा कोरोना भाइरस संक्रमण दर घटेको जस्तो देखिन्छ। मानिसहरू पनि कोरोना भाइरसलाई बेवास्ता गर्दै पहिले जस्तै दैनिक काममा फर्किएको देखिन्छ। तर हाम्रोमा संक्रमण जोखिम अझै उच्च छ, संक्रमण समुदायस्तरमा पुगेको छ। पहिलेको तुलनामा संख्यात्मक रूपमा घटेको देखिन्छ। यस्तो देखिएको केही हप्ता भयो। संक्रमण पनि क्रमश: घट्दै गएको छैन, एक ठाउँमा आएर स्थिर भएर बसेको देखिन्छ। हाल दैनिक झन्डै १०/१२ सयको संख्यामा दैनिक संक्रमण आएको देखिन्छ।

हुन त यस्तो हुनुको प्रमुख पाटो भनेको परीक्षण दर पनि हो। केही समय अघिसम्म दैनिक २० हजारको हाराहारीमा भएको परीक्षण घटेर आठ हजारमा आइपुगेको छ। यसले दुईतिहाइ परीक्षण घटेको देखाउँछ। संक्रमण पनि यही हिसाबले घटेको छ।

संक्रमणको तीव्रता नै घटेको हो भन्‍नेमा अन्योल छ। अहिलेकै परीक्षणमा पनि कोभिड पोजेटिभ १५ प्रतिशत हाराहारीमा छ। शुरूमा परीक्षणको १५/३० प्रतिशत पोजेटिभ आएको थियो। अहिले त्यसबाट घटेर १५ प्रतिशत आए पनि यो भनेको धेरै नै हो।

त्यसकारण अहिले संक्रमणको फैलावट घट्यो भन्‍ने एकिन नभएको अवस्थामा हाल कोरोना संक्रमणको जोखिम घट्यो भन्‍न सकिँदैन। स्वास्थ्य मन्त्रालयको ग्राफिक्स र संख्या हेरेर मात्रै संक्रमण दर घट्यो भनेर ढुक्क हुने अवस्था छैन।

जोखिम घटेको छैन भनिरहँदा जनजीवन सामान्य हुँदै गएको देखिन्छ। अर्कोतर्फ सरकारले पनि जनजीवन सामान्य बनाउन र खोप खरिद प्रकृया तीव्र अगाडि बढाएको देखिन्छ। यस्तो अवस्थामा संक्रमण अब कसरी नियन्त्रण गर्न सकिन्छ त?

बेलायतले खोप लाउन थालिसक्यो। खोप शुरू भइसकेको अवस्थामा पनि स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्हरुले अहिले पनि जनस्वास्थ्यका सुरक्षाका मापदण्ड घटाउने बेला भएको छैन भनेका छन्। अझै आंशिकरूपमा लकडाउन छ।

मास्क नलगाउनेलाई जरिवाना लगाइरहेको छ। तर हाम्रोमा अहिले खोप कहिले आउँछ अझै थाहा छैन। यस्तो अवस्थामा खोप बनिसक्यो भनेर हेलचेक्रयाइँ गरिहाल्नु हुँदैन। खोप आए पनि समुदायस्तरमा पुग्‍न धेरै समय लाग्छ। त्यसैले अझै पनि हामी उच्च जोखिममा नै छौँ।

को-भ्याक्सबाट आउने खोपले नेपाललाई पुग्‍ने बताइएको छ। को-भ्याक्सको माध्यमबाट विश्‍‍व समुदायमा खोप आउनेबित्तिकै नेपालमा आउँछ भन्‍ने छ नि त ?

को-भ्याक्सको नियमानुसार नेपालमा आउने खोप भनेको उसले दिने दिने २० प्रतिशत हो। यो पनि एकै पटक दिए मात्रै हो। तर को-भ्यासको प्रकृया अनुसार उसले दिने सबै खोप एकै पटक आउदैन। यसमा शुरूमा दिने तीन प्रतिशत मात्रै हो। त्यो फन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य जोखिममा रहेका कामदारहरूको भागमा पर्छ। पहिलो चरणमा दिने तीन प्रतिशत खोप हो। त्यसपछि दोस्रो चरणमा खोप कहिले आउँछ भन्‍ने निश्चित हुँदैन।

त्यसैले को-भ्याक्सबाट खोप आएपछि नेपालमा शुरू भयो भन्‍न हुन्छ तर यसले आमनागरिकलाई पुग्दैन। त्यसैले भ्याक्सिनको व्यवस्थापन गर्न पनि हाम्रोमा अर्कै चुनौती छ। तर अहिले खोपको भन्दा पनि जुन संक्रमण दर छ, त्यसको नियन्त्रण अझै पनि चुनौतीपूर्ण छ।

को-भ्याक्सका लागि विश्व स्वास्थ्य संगठनको आफ्नै प्रक्रिया छ। त्यसैले को-भ्याक्सबाट खोप कहिले आउने एकीन छैन। त्यो पनि नेपालका लागि उपयुक्त छ कि छैन हेर्नुपर्‍यो। अहिले जुन खोप बजारमा प्रयोग ल्याइसकिएको खोप छ, त्यो हाम्रा लागि व्यवहारिक छैन। जुन कुरा सरकारले समेत भनिसकेको छ।

पहिलेको जस्तो मानसिक रूपमा संक्रमणको भय नभए पनि हामी उच्च जोखिमा नै छौँ। अहिले पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ कार्यन्वयन गर्नु पर्छ। त्यसैले खोप आयात प्रकृया र संक्रमण दर नियन्त्रणलाई समानस्तरमा अगाडि बढाउनु पर्छ।

सरकारले आमनागरिकका लागि खोपको लागि को-भ्याक्समा मात्रै भर परेर हुँदैन। आन्तरिक व्यवस्थापनमा पनि जुट्नुपर्छ किनकि अन्य धेरै मुलुकले त्यो तयारी गरिसकेका छन्।

समुदाय अहिले पनि उच्च जोखिममा छ भने अहिलेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकार र नागरिकको जिम्मेवारी के हुनसक्छ त?

अहिले नागरिकले सुरक्षाको मापदण्ड गम्भीर रूपमा पालना गर्नु नै प्रमुख उपाय हो। सरकारले अझै पनि परीक्षण दायरा बढाउनु पर्छ। हाम्रोमा कोरोना परीक्षणमा एकदमै लापरबाही भएको छ। परीक्षण गर्नुपर्ने नागरिकहरूको परीक्षण भएको छैन। धेरै सम्भावित संक्रमितहरू समुदायमा अझै छन्। अहिले जनजीवन सामान्य भएको अवस्थामा त्यस्ता सम्भावित संक्रमितहरू समुदायमा हुँदा संक्रमण फैलिने जोखिम छ।

अर्को महत्वपूर्ण कुरा भनेको अहिले धेरै संक्रमितहरू घरमै छन्। यसरी संक्रमितहरू घरमै बसेको बेलामा उनीहरूको सुरक्षाबारे पटक्कै निगरानी भएको छैन। यस्तो निगरानी सरकारी पक्षबाट हुनुपर्छ।

यसैले होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी भएको छैन भन्‍ने पुष्टि हुन्छ। यो लापरवाहीले संक्रमण विस्तारै उच्च हुने जोखिम त छँदै छ। अर्कातिर संक्रमितको स्वास्थ्य झन् बिग्रँदो छ। त्यसैले यो विषयमा नागरिकभन्दा सरकारले चासो राख्नु पर्छ। नागरिकले गर्ने भनेको अहिले पनि जनस्वास्थ्यको मापदण्डको पालना हो, अझै जनस्वास्थ्य मापदण्डलाई हेलचेक्रयाइँ गर्न मिल्दैन।

अहिले थोरै लक्षण देखिनेबित्तिकै अस्पताल जाने र उपचार गराउने मानसिकतामा परिवर्तन आएको छ। जसले गर्दा अस्पतालमा उपचार गर्नुपर्ने संक्रमित घरमा छन्। ढिलो अस्पताल पुग्ने गर्दा अहिले कोभिड अस्पतालको जनरल वार्ड खाली छन्। तर आइसियु र भेन्टिलेटरमा उपचार गराउनुपर्ने संक्रमित बढेका छन्।

केही देशमा कोरोना संक्रमणको दोस्रो लहर पनि आयो भनिन्छ, नेपालमा चाहिँ त्यसको कतिको जोखिम छ?

दोस्रो मात्रै होइन, कतिपय देशमा तेस्रो लहर पनि शुरू भएको देखिन्छ।

तर हाम्रोमा संक्रमणको दोस्रो लहर आउँछ आउँदैन भन्‍ने कुरा हामीले जनस्वास्थ्यका मापदण्डलाई कत्तिको प्रभावकारी तरिकाले पालना गर्छौँ भन्‍नेमा भर पर्छ।

यदि हामीले जनस्वास्थ्य नियमको पालना निगरानी र परीक्षण प्रभावकारी तरिकाले गरेनौँ भने दोस्रो लहर आउने सम्भावना धेरै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.