मन्त्री नै माफिया र मिल मालिकसँग मिलेको आरोप

|

काठमाडौं : सर्लाहीमा अहिले धान थन्क्याउने गर्ने चटारो छ। वर्षभर खान चाहिने धानले भकारी भर्ने समय बिकाउ मण्डल भने काठमाडौं आइपुगेका छन्।  

काठमाडौको चिसोमा उनी चप्पल पड्काउँदै २६ गते आइपुगेका हुन्। उनलाई धानको भन्दा बढी पीर साहुले उठीबास लगाउने कुरामा छ। उनको जीवनमा गुलियो चिनीले अमिलो कथा भरिदिएको छ।

वर्षौँदेखि उखु खेती गर्दै आएका मण्डललाई मिल मालिकले भुक्तानी नदिँदा पीर परेको छ। उखु मिलले पटक पटक आश्वासन दियो। तर पैसा नदिएपछि संघीय सरकारसँग गुहार लगाउन उनी काठमाडौं आएका हुन्।

'सर्लाहीका उद्योग मालिककहाँ ताकेता गर्दा गर्दै थाकेँ। केही नलागेपछि न्याय खोज्‍न यहाँ आउनुपरेको हो', उनले भने। चिनी मिलले उनलाई २ लाख रुपैयाँ दिन बाँकी छ।

त्यही २ लाख उठाउन तीन वर्षदेखि उनी संघर्ष गरिरहेका छन्। यसअघि पनि उनी काठमाडौं आएका थिए। तर, सरकारको आश्वासन पाए चिनी मिलबाट पैसा पाएनन्। यो रकमले पाए साहुको ऋण तिर्न सकिने उनी बताउँछन्। 'यसपाली पनि पैसा भुक्तानी नभए आत्महत्या गर्नुको विकल्प छैन। पैसा नउठाएसम्म घर फर्किने अवस्था छैन', उनले सुनाए, ''घरमा गए साहु आएर पैसा माग्छ। यसपाली पैसा पाइएन भने मेरो त उठीबास लाग्छ। सरकारले मात्र मलाई यो संकटबाट निकाल्न सक्छ। त्यसैले काठमाडौं आएर गुहार लगाउँदैछु।'

चिनी मिलबाट उखुको भुक्तानी नपाएका अर्का किसान हुन् रामबाबु मण्डल। उनले मिलबाट भुक्तानी लिन बाँकी बिलको खात नै देखाए। 'लिन बाँकी कति छ आफैँ हिसाब गर्नुस्', बिलको खात देखाउँदै उनले भने, 'मैले त हिसाब गर्दा गर्दै थाकिसकेँ।'

उनले साढे २ बिघामा उखु रोपेका छन्। तर उठ्न बाँकी रकमको हिसाब जान्दैनन्। बिल भने वर्षौँदेखि खल्तीमा बोकेर भोकभोकै हिँडिरहेका छन्। २०७१  सालदेखि उनले उखुको भुक्तानी पाएका छैनन्। सुरुवाती दिनमा ३० हजार दिएर चिनी मिलले आफूलाई विश्वासमा लिएको उनले सुनाए। तर बाँकी रकम दिन आलटाल गरेको उनले गुनासो पोखे। 

महाजनबाट ऋण लिएर उनले उखु खेती गरेका हुन्। साहुसँग कति ऋण छ भन्‍ने उनलाई थाहा छैन। 'सधैँ ऋण नै ऋणमा खेती गरिरहेको छु', उनी सुस्ताउँदै भन्छन्, 'महाजनलाई कति पैसा दिनुछ भन्‍ने हिसाब पनि महाजनसँगै छ, मसँग छैन।'

बैंकबाट रकम लिन उनीसँग जग्गा छैन। जग्गा नभएसम्म बैंकले ऋण पत्याउँदैन।  कतिपय किसानसँग पैसा नभएर न्याय माग्न काठमाडौं आउन नसकेको उनले बताए।  सरकारले किसानको मर्का नबुझेको उनले ठानेका छन्। 

किसानहरुलाई नेता र मन्त्रीले भेट्न त के उनीहरुको आवाज  समेत सुन्‍न नचाहेको उनले बताए।  'सरकारले आफूलाई जनताको सरकार हो भन्छ। तर, गरिबलाई हेर्दैन', उनले सुनाए, 'हामीले चाहिँ जनताको सरकार भन्दै हिँड्नुपरेको छ।'

यसपाली उनले जसरी पनि रकम लिएर मात्रै घर फर्किने संकल्प गरेका छन्। 'बरु कति दिन सडकमा बस्नुपर्ने हो, बस्न तयार छौँ', उनले भने, 'घरमा पनि ऋणको बोझले मरे जस्तै भएको छु', उनले भने, 'यहाँको सडकमा मर्न मलाई के आपत्ति। हामीले उखु फलाएपछि सरकार र माफिया गुलियो चिया पिउँछन् तर हामी चाहिँ आँसु पिउनुपर्ने? यो पटक यस्तो हुँदैन। हामीलाई न्याय चाहिन्छ।'

यसअघि सरकारले दिएको सान्त्वनाले आफूहरू अघाएको उनले बताए। सहमति मात्र गरेर अब अमान्य हुने उनले बताए। 'सरकारले चिल्ला र मीठा कुरा गरेर किसानलाई रनभुल्ल पार्ने रणनीति बनाएको भए यसपाली त्यो अमान्य छ', उनले भने, 'हामी सरकारको काम चाहन्छौं, आश्‍वासन होइन।'

अर्का किसान राम नरेश रायको व्यथा पनि उस्तै छ। चिनी मिलले ९ लाख रुपैया भुक्तानी  दिन बाँकी छ। आफूहरूलाई विश्वासमा लिएर उखु किनेको मिलले त्यसपछि विश्वासघात गरेको उनको ठहर छ।  उनले ६ बिघामा उखु रोपेका छन्। अधियाँ गरेर पनि उखु रोपेको उनले बताए।

आफ्नो खेतमा अन्य बाली हुने भए पनि उद्योगले राम्रो पैसा दिने आशमा उखु लगाएको उनले सुनाए। तर उखुको मिलले धोका दिँदा आफ्नो बिचल्ली  भएको उनले बताए। 

'घरमा १२ लाख ऋण छ। उखुको भुक्तानी पाए ऋण तिर्न सकिन्छ। अहिलेसम्म मैले बैंकको ऋण आफ्नो जग्गा बेचेर तिरिरहेको छु', उखु खेती गर्दा आम्दानी भन्दा २ कठ्ठा जमिन बेच्नुपरेको दुखेसो सुनाउँदै उनले भने। 

विभिन्‍न चिनी मिलबाट किसानहरुको अनुमानित ९० करोड रूपैयाँ उठ्न बाँकी छ।  सरकार र उद्योगपति मिलेर किसान मारिरहेको उखु किसान संघर्ष समिति सर्लाही अध्यक्ष रामस्वार्थ रायले बताए।

सरकारले चिनी मिलबाट कमिसन खाएर किसानलाई अन्याय गरेको उनले सुनाए। त्यहीकारण उद्योगीलाई कारवाही गर्न नसकेको तर्क उनले गरेका छन्।  'सरकारले यसअघि गरेको सहमतिमा कार्यान्वयनमा किन ढिला सुस्ती गर्‍यो?', उनले सोधे, 'यो सरकार माफियाहरूको चंगुलमा छ। त्यहीकारण किसान मार्ने खेलमा लागेको छ।

यसअघि २३ कात्तिकमा किसानहरू न्याय माग्दै काठमाडौं आएका थिए। उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए । 

आफ्नो परिश्रमको पैसाका लागि आन्दोलन गरेपनि माग सम्बोधन नभएको उनीहरुले बताए। अब देशभरका उखु किसानलाई काठमाडौं बोलाएर चरणवद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए।

अहिलेका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट जनताको मर्का बुझ्ने रहेको सुने पनि वास्तवमा त्यस्तो नभएको उनले बताए।

'घनश्याम भुसाल र लेखराज भट्ट यदि किसानका नेता थिए भने हामी न्याय खोज्‍न काठमाडौं आउनु पर्दैन थियो', उनले भने, भुसाल र भट्ट पनि माफियासँग मिल्नु भएको छ। यसपाली सरकारले माग सम्बोधन नगरे देशभर आन्दोलन चर्काउँछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.