|

पर्वत : दुई सय २८ मिटर उचाइमा रहेको पुलबाट कालीगण्डकी नदीमा बन्जी जम्प गर्नेहरूको लर्कोले पर्वत सदरमुकाम कुस्मा बजारलाई कोरोना महामारीमा पनि चलायमान बनाएको छ।

बन्जी जम्प सामान्यतया: युवाको रोजाइमा बढी पर्छ। तर पर्वतको बन्जीमा १५ वर्ष मुनिका बालबालिकाले पनि साहसका साथ हाम फालिरहेका छन्। विद्यालय तहमा पढ्दै गरेका बालबालिकाको रोजाइमा पनि साहसिक खेल परेपछि अभिभावकले पनि सन्तानको चाहना पूरा गरिरहेका छन्। यसले बन्जी सञ्चालन गरिरहेको ‘द क्लिफ’ कम्पनीलाई पनि हौस्याएको छ। 

पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका १३ वर्षीय नीराजन अधिकारीले पनि बन्जी जम्प गरे। सदरमुकाम पर्वतस्थित गुरुकुल एकेडेमीको कक्षा ७ मा अध्ययनरत उनको साहसले उनका उमेरका धेरैलाई बन्जीप्रति थप हौस्याएको छ। सानो उमेरमा साहसका साथ हाम फालेका निराजनसँग थाहाकर्मी संजय रेग्मीले गरेको कुराकानीको सम्पादित अंश।

तपाईंलाई किन बन्जी जम्प गर्न मन लाग्यो?

बाबाले नै बन्जी गर्न मन लागेको छ र ? भनेर सोध्नुभयो। अनि म जस्तै उमेर वरिपरिका साथीहरूले पनि गरेका छन् रे भन्ने सुनेको थिएँ। त्यसैले मलाई पनि केही नहुने रहेछ भन्ने लाग्यो।

युटुवमा त बन्जी जम्प गरेको हरेको थिएँ। त्यहाँ हेर्दा रमाइलो पनि लागेको थियो। यस्तै गरी एकपटक हाम फालेर अनुभव लिन पाए हुन्थ्यो जस्तो लागेको थियो। यसैले पनि मलाई हाम फाल्न हौसायो। बन्जी जम्प गर्नका लागि विदेशदेखिका मान्छेहरू आउने गर्छन्

 म यहीँको मान्छेले पनि आफ्नै जिल्लामा भएको यो रमाइलाको आनन्द किन नलिनु ? भन्ने लाग्यो र नै हाम फाल्ने साहस आयो। 

हाम फाल्दा कस्तो अनुभव भयो?

हाम फाल्नका लागि डिलैमा पुग्दा डर लाग्यो। मेरो तौल कम भएका कारण बन्जीका मान्छेले अलि चर्कोसँग हाम फाल्नु है ! भनेर सिकाउँदै मलाई बिस्तारै पेल्दै पेल्दै छेवैमा लगिदिनुभयो। उहाँहरूले मलाई घुच्च्याउनु परेको भने  थिएन।

काउन्टडाउन दिएपछि म आफैंले फाल हानेँ। पहिलो पटक बाउन्स नहुने बेलासम्म त मेरो दिमाग नै रित्तो भएको अनुभव भयो। जब बाउन्स भयो, त्यो बेलामा त कालीगण्डकीको सतहमा यसरी नै रहन पाए भन्ने लाग्यो।

तीन पटक बाउन्स भएपछि मेरो खुट्टामा बाँधिएको लक खोल्नुपर्ने भनिएकोमा मैले त बिर्सिएछु। लक खोल्नमा भन्दा झुन्डिएर यताउता गर्दै नदी र वन हेर्न आनन्द आयो। उनीहरूले माथिबाट बोलाएर लक खोल्न भनेका रहेछन्। तर नदीको आवाजले मैले त्यो सुन्न नै सकिन्। क्यामेराबाट भिडियो लिँदै गर्दा माथिबाट मलाई तान्ने डोरी आएको देखेँ।

सानै उमेरमा धेरै बालबालिकाहरू डराउने हुन्छन्, तपाईंलाई डर किन लागेन?

डर त किन नलाग्नु नि ! लाग्यो। पहिलो पटक तल पुग्ने बेलासम्म निकै डर लागेको थियो। तल पुगेर डोरीले पहिलो पटक बाउन्स गरेर मलाई माथि तान्यो। त्यसपछि भने बल्ल डर हरायो। आनन्द लाग्दै गएको थियो।

डोरीमा बाउन्सको सङ्ख्या कम हुँदै जाँदा मलाई तान्नको लागि माथिबाट डोरी खस्यो। अब केही बेर नदीको सतहमाथि झुन्डिएर बस्न पाए हुन्थ्यो भन्ने बेलामा त माथि आउने बेला भइसकेको रहेछ। मलाई त हाम फालौँ क्यारे जे सुकै होस भन्ने लागेको थियो। डर भन्दा पनि बढी मभित्र उत्सुकता बढी थियो। त्यसैले आँट आयो।

२ सय २८ मिटरको उचाइमा रहेको पुलको डिलमा पुगेर तल कालीगण्डकी देख्दा कस्तो अनुभव भयो?

डिलैमा पुग्दा डर लाग्यो। दायाँबायाँ हेर्न नै कस्तो भइरहेको थियो। मैले डर भगाउन स्वीङको डोरीमा झुण्डिएको लोडमा एकोहोरो भएर हेरिरहेँ। तल जाँदा कस्तो होला भन्ने लागेको थियो।

तल पुगेपछि सुरक्षाका लागि माथि सिकाइएका कुराहरू बिर्सिएर म तलै भुण्डिएरै बस्नुपर्ने हो कि भन्ने पनि लागेको थियो। हाम फाल्नासाथ मेरो खुट्टामा डोरी बाँधिएको छ भन्ने कुरा नै बिर्सिएछु। हावामा ढुङ्गा फालेको जस्तै गरी म हाई स्पीडमा तल झर्दै थिएँ।

हाम फाल्दा साथ चिच्याउँदै हात फैलाउँदै कालीगण्डकीको सतहतर्फ म जाँदै थिए। त्यो बेलामा रमाइलो भएर वा डरले चिच्याएँ, मलाई नै थाहा भएन।

बन्जी जम्प गर्दा के के कुरामा ध्यान दिनुपर्ने रहेछ?

हाम फाल्ने बेलामा आफ्नो खुट्टा भन्दा पहिले टाउको र शरीरलाई ढल्काउँदै तल खस्नुपर्ने रहेछ। हाम फाल्ने बेलामा डर लाग्यो भनेर हामी झुन्डिने डोरीलाई समात्न नहुँदो रहेछ। तान्नका लागि जाने डोरी सजिलै चिन्नका लागि त्यसमा अलिकति लोड पनि पठाइने रहेछ। त्यो डोरी घाँटीमा पर्न सक्ने हुँदा त्यसलाई आफ्नो कम्मरमा टाई गर्ने बेलामा अलि ध्यान दिनुपर्ने रहेछ।

यस्ता साहसिक खेलले तपाईंजस्तै साना उमेरका व्यक्तिहरूलाई कस्तो खालको जोश देला?

​मेरो मनभित्र म सुरो रहेछु। म डराउने मान्छे होइन रहेछु भन्ने लागेको छ। यसले मलाई जोस्याएको छ। म त्यत्रो उचाइबाट हाम फाल्न सक्ने रहेछु भने पढेर पनि अरूलाई जित्न किन सक्दिन होला भन्ने लागेको छ।

अनि भविष्यमा पनि कुनै खालका साहसिक कामहरू गर्नु परेमा म त्यो पूरा गर्न सक्छु होला जस्तो लागेको छ। मेरा साथीहरूलाई बन्जीको बारेमा अनुभव बाँडेर उनीहरूलाई पनि त्यो जोस निकाल्न सक्छु भन्ने लागेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.