काठमाडौं : ‘अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्यायो भने भोलि हामी जनमतसंग्रह गर्न तयार हुनुपर्छ, जनताको माग पनि छ। हिन्दु राष्ट्र भनेको राजतन्त्र फर्काउने हैन, राजतन्त्र फर्किँदैन’ गत मंसिर २९ गते सोमबार विराटनगरमा पुगेर कोइराला निवासबाट कांग्रेस महामन्त्री डा.शशाँक कोइरालाले भनेका थिए।
उनै कोइराला आफूलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको निर्विकल्प उम्मेदवार रहेको बताउँछन्। कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्ष र विपक्षमा बहस भए पनि अब कांग्रेसको नेतृत्व गर्नेहरूले कुन एजेण्डा बोक्छ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ।
पछिल्लो समय देशैभरि राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन भइरहेको बेला महामन्त्री कोइरालाको अभिव्यक्तिले कांग्रेसभित्र तरंग उत्पन्न भएको छ। यता १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारको दाबी गर्ने अर्का नेता प्रकाशमान सिंहले कांग्रेसको एजेण्डा हिन्दु राष्ट्र नभएको बताएका छन्।
महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको पक्षमा जनमत संग्रह गर्नुपर्ने बताए कै भोलीपल्ट (मंसिर ३०) मा पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले यस्तो बताएका हुन्।
नेता सिंहले महामन्त्री कोइरालालाई इंकित गर्दै पार्टीका कोही नेताले हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिँदैमा पार्टीको लाइन, एजेण्डा हुन नसक्ने बताए।
‘पार्टीका नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन। हामी आफैंले ल्याएको परिवर्तनविरुद्व जान सक्दैनौं’ गत मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने।
हिन्दु राष्ट्रको विषयमा असहमति जनाउँदै सिंहले भने,‘आफ्नो पार्टी संघीय गणतन्त्र,समावेशीता, धर्म निरपेक्षप्रति प्रतिबद्ध छ ।’ यता कांग्रेसका नेता गोपालमान श्रेष्ठले आफू पनि हिन्दु राज्यको पक्षमा रहेको बताए। ‘हिन्दु राष्ट्रको पक्षमा जनमत संग्रह जनताले माग गरे, यसको विषयमा ठूलो आन्दोलन भयो भने आवश्यकता देखियो भने हुनसक्छ,’ श्रेष्ठले थाहाखबरसँग भने, ‘यतिकै जनमत संग्रह हुँदैन। तर, म परम्परागत हिन्दु राज्यको पक्षमा छु।’
उनले धार्मिक स्वतन्त्रता आजको आवश्यकता रहेको पनि बताए। ‘हाम्रो पार्टीको झण्डामा रहेको चारतारा मध्ये एक ताराले धार्मिक स्वतन्त्रता जनाउँछ। सबै धर्म अटाउन सक्छ,’ उनले भने। प्रमुख प्रतिपक्षी कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस चर्किरहेको बेला सोही मुद्दा उठाउँदै आएको राप्रपाले भने देशव्यापी जनप्रदर्शनको तयारी थालेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।