प्रचण्ड मानेनन्, बादल र वामदेवले के गर्लान्?

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चर्किएको शक्ति संघर्षले संवैधानिक संकट निम्तिने जोखिम बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिनभर नेता भेट्न दौडधुपमा निस्किए। नेकपाका कारण देशमा गम्भीर राजनीतिक संकट आउन लागेको आशंका बढिरहेका बेला विवाद मिलाउने योजनासहित ओलीले सक्रियता बढाएका हुन्।

देशमा २०७६ माघदेखि कोरोना महामारी सुरु भएयता मन्त्रिपरिषद् र पार्टीको बैठकसमेत प्रधानमन्त्री निवास बालुवाटारमा गर्दै आएका ओली शनिबार त्यहाँबाट निस्किए। उनी दोस्रो कार्यकाल प्रधानमन्त्री भएयता पहिलो पटक नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार मात्रै पुगेनन्, पुल्चोक फर्किएर आफ्नो क्याबिनेटका मन्त्रीहरुसँग परामर्श गर्न पनि भ्याए।

शनिबार बिहानै सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर सुरु भएको प्रधानमन्त्री ओलीको दौडधूप दिनभरी चल्यो। उनले खुमलटारमा प्रचण्डसँग मात्रै संवाद गरेनन्, उपाध्यक्ष वामदेव गौतमसँग पनि भलाकुसारी गरे। सुरुमा एक्ला एक्लै संवाद गरेका ओली-प्रचण्डले त्यसपछि उपाध्यक्ष गौतमलाई पनि बोलाएर छलफल गरे।

तर त्यही बेला खुमलटार पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भने उनले छलफल गर्न चाहेनन्। वरिष्ठ नेता नेपाल पनि ओली प्रचण्ड निवासको बैठक कक्षमा रहुञ्जेल अर्कै कोठामा बसिरहे। ओली खुमलटारबाट बाहिरिएपछि मात्रै नेता नेपाल दाहालसँगको छलफलमा जुटेका थिए। यसले ओली-नेपाल सम्बन्धमा निकै चिसोपना आएको अनुमान नेकपा वृत्तमा गरिएको छ। 

खुमलटारबाट बाहिरिएका ओलीले त्यसपछि पुल्चोकस्थित मन्त्री निवासमा आएर सबैभन्दा पहिले नेकपामा संकट परेका बेला निर्णायक भूमिका खेलिरहेका  गृहमन्त्री रामबहादुर थापालाई भेटे। जहाँ उनले नेकपा सचिवालय सदस्य बादललाई तेस्रो प्रतिवेदन पार्टीमा पेश गर्न सुझाए।

यद्यपि यसबारे बादलको जवाफ विस्तृतमा सार्वजनिक भएको छैन। ओलीले त्यसक्रममा थापालाई पार्टीको विवाद निर्णायक अवस्थामा पुगेकाले अब आफूतिर खुलिदिन पनि आग्रह गरेका थिए। 

अहिले चलिरहेको नेकपाको विवादका क्रममा बादलले समस्या समाधानका लागि भदौमा बनाइएको जस्तै कार्यदल बनाउन प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा ओली पक्ष तयार भए पनि प्रचण्ड-नेपाल पक्षले अस्वीकार गरिदिएका थिए। 

त्यसपछि प्रधानमन्त्री ओलीले पुल्चोकस्थित निवासमै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल र कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेलाई भेटेका थिए। जहाँ उनले प्रचण्डसँगको खुमलटार वार्ताले खासै सकारात्मक परिणाम नदिएको जानकारी दिएका थिए। 

खुमलटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई आफुविरुद्ध ल्याइएको ‘आरोप पत्र’ फिर्ता लिन आग्रह गरेका थिए। तर प्रधानमन्त्रीको आग्रह अध्यक्ष प्रचण्डले अस्वीकृत गरिदिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्।

’प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो', सापकोटाले भनेका छन्, 'तर, अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकमा गइसकेकाले फिर्ता गर्न अस्वीकार गरिदिनु भएको छ।'

नेकपा विवाद र खुमलटार वार्ताबारे पुल्चोकस्थित मन्त्रीहरुसँग छलफल गरेपछि ओली त्यहाँबाट बालुवाटार फर्किएका थिए। बालुवाटार फर्किएपछि ओली शनिबारै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे। 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा पछिल्लो राजनीति परिस्थितिबारे परामर्श भएको स्रोतले जनाएको छ। दुई जनाबीच गत मंगलबार ल्याइएको संवैधानिक परिषदसम्बन्धी विधेयकलाई लिएर पनि संवाद भएको थियो। 

प्रधानमन्त्रीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्रको संकट झनै चुलिएको छ। बुधबार बालुवाटारमा स्थायी कमिटी बैठक बसिरहँदा नेकपाका नेताहरु डा. भीमबहादुर रावल र पम्फा भुसालसहित ८३ जना सांसदको हस्ताक्षरसहितको पत्र बोकेर शीतल निवास पुगेका थिए। संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका उनीहरुलाई ओलीले अध्यादेश फिर्तामा सहमति जनाएपछि दाहाल-नेपाल समूहले शीतल निवासबाट फर्काएको थियो। 

त्यसपछि बिहीबार भएको भेटवार्ताका क्रममा ओलीले प्रचण्डसँग एक पटक राष्ट्रपतिसँग परामर्श गरेर मात्रै अध्यादेश फिर्ता लिने बताएका थिए। बिहीबार प्रचण्डसँग भएको छलफलयता आज मात्रै प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन्। दुई जनाबीच नेकपाले निर्णय गरिसकेको अवस्थामा उक्त विवादित अध्यादेशबारे पनि कुरा भएको हुन सक्ने अनुमान गरिएको छ। 

त्यसैअनुसार गत स्थायी कमिटी बैठकले निर्णय गरे पनि प्रधानमन्त्री ओली सरकारले शनिबार रातीसम्म पनि अध्यादेश फिर्ता लिएका छैनन्। उक्त अध्यादेश फिर्ता नगरेको अवस्थामा दाहाल-नेपाल समूह झन् सशंकित भएका छन्। उनीहरुले सभापति शेरबहादुर देउवाको ग्रिन सिग्नलमा ओलीले अध्यादेश फिर्ता नगरेको निचोडसहित शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर सतर्क हुन भनेका थिए। 

यही आइतबार स्थायी कमिटीको बैठक बस्दैछ। यस्तोमा शनिबार दिनभर ओली सहमति जुटाउने र नेता फकाउने अभियानमा थिए। यस्तोमा ओलीलाई प्रचण्डबाट रेड सिग्नल तथा वामदेव र बादलबाट ग्रिन सिग्नल मिलेको चर्चा भइरहेको छ। यद्यपि यसबारेको स्वतन्त्र पुष्टि हुन स्थायी कमिटी बैठक नै कुर्नुपर्ने हुन्छ।

‘प्रधानमन्त्रीले आफ्नो पद र सत्ता जोगाउने अन्तिम प्रयास गरिरहेका छन्', प्रचण्डनिकट एक नेता भन्छन्, 'शनिबारको त्यो प्रयास पनि असफल भयो। अब अर्को 'एक्सन' के हुन्छ हेर्न बाँकी नै छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.