|

  • पेमा लामा

काभ्रे : बुधबार देशका विभिन्न स्थानमा १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विविध कार्यक्रम गरियो। श्रमिक महिलाहरुले समान पारिश्रमिक र न्यायप्राप्तिका लागि सुरु गरेको आन्दोलनको संझनामा महिला दिवस मनाउने गरिन्छ।

तर महिला दिवसका दिन बनेपामा श्रम गर्दै गरेका महिलाहरुले यस दिवसका बारेका केही थाहा नभएको बताए। श्यामपाटी गाविस–९ भालुखर्क घर बताउने ५५ वर्षिया साँइली तामाङको शरिर पुरै पसिनाले भिझेर सिथिल थियो। बनेपा–५ नयाँबस्तीमा घर बनाउने ठाउँमा बालुवा चालिरहेको अवस्थामा उनी भटिइन्।

'दिनभरी काम गरेबापत बल्ल ५ सय रुपैयाँ पाक्छ। त्यो पनि बिहान १० बजेदेखि साझा ५ बजेसम्म श्रम गर्नुपर्छ,' उनले भनिन्,'  ३ वर्ष पहिले त अझै २ सय मात्रै आउथ्यो। अहिले ५ सय रुपैयाँ पाउँछु। ‘यसैबाट घर चलाउँछु।’

उनी यसरी कमाएको पैसाले बिहान बेलुका छाक टार्नुका साथै १६ वर्षिया अपाङ्ग छोरी माया तामाङलाई पढाउँछिन्। ‘सानै उमेरमा खुट्टा भाँचिएको उनको बनेपास्थित अपाङ्ग अस्पालमा अप्रेशन गरेको थियो,  अहिलेसम्म मेरी छोरीको दुबै खुट्टा चल्दैन आफैले बोकेर स्कुल लैजान्छु।’ छोरीलाई बनेपामा रहेको क्षितिज ईङ्लिस बोर्डिङ् स्कुलमा पढाएको उनले बताइन्।

अहिले बालुवा चाल्ने, सिमेन्टको भारी बोक्ने र इट्टा बोकेर ज्यामी काम गरेरै परिवार पाल्दै आएको उनले बताइन्। ‘काम नगरे मुखमा माड पर्दैन के गर्नु, ’ उनले दुखेसो पोखिन्।

साँइलीजस्तै बनेपाको नयाँ बस्तीस्थित घर निर्माणमा इट्टा र बालुवा बोक्न पुगेकी डाँडागाउँ–७ की ३५ वर्षिया कान्छी माया तामाङले पनि महिला दिवसको बारेमा केही थाहा नभएको बताइन्। उनले बिहानदेखि बेलुकासम्म श्रम गरेबापत ४ सय ५० रुपैयाँ मात्रै पाउने गरेका बताइन्।

विगत १० वर्षदेखि घर निर्माणको काम गरी परिवार पाल्दै आएकी लखनपुर–५ रामेछापकी राधिका थापाले नारी दिवस मनाउने भन्दा पनि बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले सताएको बताइन्। ‘यहाँ दैनिक रुपमा काममा खटिदा त कसरी छाक टार्ने भन्ने चिन्ताले सताउँछ,’ थापाले भनिन्, ‘हामीजस्ता श्रम गरेर खाने महिलाको नाममा आएको रकमले शहरमा मात्रै कार्यक्रम सञ्चालन गरेर कसरी महिलाको अधिकार प्राप्ती हुन्छ?’

उनले ज्यालदारीमा काम गर्दै आएको बताइन्। त्यसरी काम गरेबापत ठेकेदारले दैनिक ६ सय रुपैयाँ दिने गरेको उनले जानकारी दिइन्। बनेपा, धुलिखेल र पनौती लगायतका काभ्रेका मुख्य शहरमा यसरी नै काम गर्दै आएका श्रमिक महिला दैनिक परिवार पाल्ने चिन्तामै हुन्छन्।

यो पनि पढ्नुहोस् : महिला दिवसबारे श्रमिक महिला भन्छन्: आमसभामा जाने फुर्सद हुँदैन 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.