मुख्यमन्त्री राईद्वारा केन्द्रको उद्घाटन

|

भद्रपुर : झापाको भद्रपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुरीको नाम छैटाैं पटक परिवर्तन भएको छ। देश संघीयतामा गएको लामो समयपछि कर्मचारी र जनप्रतिनिधिलाई तालिम गराउने प्रशिक्षण केन्द्रको नाम फेरि परिवर्तन गरिएको हो। 

सङ्घीय सरकार मातहत रहेको यस प्रशिक्षण केन्द्र प्रदेश नम्बर १ सरकारको स्वामित्वमा आएसँगै यसको नाम प्रदेश प्रशिक्षण केन्द्र राखिएको हो। यो सँगै प्रशिक्षण केन्द्रको नाम हालसम्म छैटौँ पटक परिवर्तन भएको इतिहास छ। 

संघीय सरकारमातहत रहेको यस ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई २०७६ साल फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ सरकारलाई दिने निर्णय गरेको थियो।

सरकारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअनुसार यसलाई मुख्य प्राथमिकता राखेको हो। सरकारले यस प्रशिक्षण केन्द्रलाई २०७७ साल असोज ९ गते प्रदेश नम्बर १ सरकारलाई हस्तान्तरण गरेका थिए।

त्यसपछि प्रदेश सरकारले आफ्नो स्वायत्त शासन ऐन २०७६ को दफा १० बमोजिम कार्तिक १८ गते राजपत्रमा प्रकाशन गरी यसलाई प्रदेश प्रशिक्षण केन्द्रको नाम दिएको प्रदेश प्रशिक्षण निर्देशक गणेश तिम्सिनाले बताए। 

यस्तो छ नामकरण इतिहास

ग्रामीण प्रशिक्षण केन्द्र झापाको इतिहास रोचक छ। यस केन्द्रको नाम आजसम्म आइपुग्दा छैटौँ पटक परिवर्तन भयो। २०१९ सालमा ग्रामीण विकाससम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तत्कालीन बडाहाकिम श्री रामनारायण श्रेष्ठ र निजी क्षेत्रको प्रयासबाट ‘बहुमुखी प्रशिक्षण केन्द्र’को नामले स्थापना भएको थियो।

२०२२ सालमा तत्कालीन श्री ५ को सरकारले विकास समितिअन्तर्गत यस केन्द्रलाई आफ्नो प्रशिक्षण कार्यक्षेत्रभित्र ल्याउने नीति अघि सारेको थियो। यसको नाम परिवर्तन गरी ‘पञ्चायत अग्रणी प्रशिक्षण केन्द्र’ राख्यो।

२०३१ सालमा फेरि यस केन्द्रको नाम परिवर्तन भएर ‘पञ्चायत विकास प्रशिक्षण केन्द्र’ रहन गयो। पञ्चायत शासनको अन्त्य भई देशमा प्रजातन्त्र पुनर्बहाली भएपश्चात् २०४७ सालपछि यसको नाम ‘स्थानीय विकास प्रशिक्षण केन्द्र’ रहन गयो।

२०५० साल असोज महिनादेखि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले यस केन्द्रलाई सञ्चालन गर्ने नीति ल्यायो। प्रतिष्ठानअन्तर्गत रहने भएपछि यो ‘ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुरी’को नामले सञ्चालन हुन थालेको प्रदेश प्रशिक्षण केन्द्र भद्रपुरका निर्देशक कृष्णप्रसाद भट्टराईले जानकारी दिए। 

मुख्यमन्त्रीद्वारा प्रशिक्षण केन्द्र उद्घाटन 

जिल्लाकै सदरमुकाममा रहेको प्रदेश प्रशिक्षण केन्द्रको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सोमबार विधिवत् रुपमा उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले देश संघीयतामा गएपछि प्रदेश सरकारको यो ठूलो उपलब्धि भएको बताएका छन्।

प्रदेश सरकारले यति ठूलो पूर्वाधार भएको प्रशिक्षण केन्द्र पाएको बताए।  

त्यस्तै प्रदेश प्रशिक्षण निर्देशक गणेश तिम्सिनाले अब प्रदेश सरकारले सुशासन, सेवा प्रवाह र विकास निर्माणको कार्यमा दक्ष, प्रतिबद्ध र उत्प्रेरित जनशक्ति तर्जुमा गर्नेमा भूमिका निर्वाह गर्ने बताए। जनप्रतिनिधि र स्थानीय निकायका कर्मचारीलाई प्रशासनिक एवम् व्यवस्थापकीय विषयमा अनुसन्धान र परामर्शसम्बन्धी प्रशिक्षण दिनेमा कुरा प्रदेश सरकार तयार रहेको उनको भनाइ छ। 

यस प्रशिक्षण केन्द्रले अब प्रदेश सरकार, प्रदेश सरकारका आयोग, मन्त्रालयमातहत रहेका निर्देशनालय, न्यायाधिवक्ताको कार्यालय, प्राधिकरण, डिभिजन कार्यालय, सबडिभिजन कार्यालय, केन्द्रस्तरका कर्मचारी, प्रदेशभित्रका जिल्ला समन्वय समितिका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि तथा संस्थागत अभिवृद्धिका यस प्रशिक्षण केन्द्रले आगामी दिनमा भूमिका खेल्ने निर्देशक भट्टराईले जानकारी दिए।

अबका दिन यस प्रदेशका १४ वटा जिल्लाका १३७ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिमका लागि प्रदेश तथा स्थानीय स्वायत्त शासन कार्यक्रम कार्यान्वयनमा आइसकेको उनले बताए। कार्यक्रममा प्रदेश सांसद वसन्त कुमार बानियाँ,जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेल, भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले धारणा राखेका थिए। 

यस्तो छ केन्द्रको पूर्वाधार

साबिक चन्द्रगढी गाविस– १ हाल भद्रपुर १० कलवलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्रमा ९४ बिघा जमिन छ। जसमध्ये ४५ बिघा क्षेत्रफलमा यो केन्द्र फैलिएको छ। बाँकी खेतीयोग्य जमिन रहेको छ।

यस केन्द्रमा एउटा कार्यालय भवन, १०० जनाको क्षमता भएका दुई वटा आवास भवन, २५० जनाको क्षमता भएको एउटा सभा हल, ८० जनाको क्षमता भएका दुई वटा कक्षा, ६० जनाको क्षमता भएका दुई वटा डाइनिङ हल, आठ जनाको क्षमता भएको एउटा पाहुना घर, एउटा भान्सा घर र १० वटा कर्मचारी क्वार्टर छ। केन्द्रमा यति ठूलो संरचना रहे पनि अधिकांश भवन अहिले जीर्ण अवस्थामा छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.