|

सिमरा (बारा) : किसानको धान सस्तो मूल्यमा किनेर व्यापारीले गोदाममा पु¥याएपछि सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनमा आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाईले पाँचवटा कृषि सहकारीसँग सम्झौता गरेर धान खरिद प्रकिया सुरु गरेको छ।

बाराको डुमरवानास्थित साना किसान कृषि सहकारी संस्थाले औपचारिक कार्यक्रम गरेर मंगलबारदेखि समर्थन मूल्यमा धान खरिद सुरु गरेको छ। सम्झौता गरेर धान खरिद अनुमति पाएका पाँचवटा कृषि सहकारीहरुले मंगलवारसम्म पाँच टन मात्रै धान खरिद गरेको परियोजनाले जनाएको छ।

धान व्यापारीको हातमा पुगेपछि समर्थन मूल्य कार्यक्रम लागु भएकाले धान कसरी धान संकलन गर्ने भन्नेमा आफूहरु अन्योलमा परेको खाद्य उद्योग उपसमिति सदस्य दुर्गाप्रसाद शिवाकोटले बताउँछन्। ‘यसपटक किसानसँग धान छैन। कसरी संकलन गर्ने हामी पनि अन्योलमै छौं,’ शिवाकोटले भने, ‘धान रोकेर राख्न हामीले किसानहरुलाई जानकारी ग¥यौं। तर, किसानले धान रोकेर बस्न सकेनन्। सबै धान सस्तो मूल्यमा व्यापारीको हातमा गइसक्यो।’

सरकारले गत कात्तिक ४ गते किसानलाई  धानको समर्थन मूल्य प्रतिक्विन्टल (१०० किलोको एक क्विन्टल) २ हजार ७३५ र २ हजार ८८५ रुपैयाँ दिने निर्णय गरेको थियो। तर, उक्त निर्णय लामो समयसम्म कार्यान्वयनमा नआउँदा अधिकांश किसानले धान व्यापारीलाई बिक्री गरेको साना किसान डुमरवाना खाद्य उद्योग उपसमिति सदस्य दुर्गाप्रसाद शिवाकोटीले बताए। सरकारले तोकेको समर्थन मूल्य र बजार मूल्यमा प्रतिक्विन्टल ६ रुपैयाँसम्म अन्तर देखिएपछि  सहकारीहरुले किसानको धान किन्न इच्छा नदेखाएको किसानको भनाइ छ।

एक महिनाअघिसम्म किसानले प्रतिक्विन्टल दुई हजारदेखि २ हजार २०० रुपैयाँमा व्यापारीलाई धान बिक्री गरेका थिए।  पछिल्लो समय धानको बजार मूल्य प्रतिक्विन्टल दुई हजार ४०० देखि दुई हजार ५०० रुपैयाँसम्म पुगेको छ। धान खरिद गर्ने सहकारीलाई सरकारले प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदार र धान मिल सञ्चालनमा सहयोग गर्ने भएपछि पाँच सहकारीले समर्थन मूल्य  लागु गर्न सहमत भएका हुन्।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष बारामा दुई लाख ४० हजार मेट्रिकटन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा १० देखि १५ प्रतिशत उत्पादन घटेको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।

सातामा दुई दिन मात्रै धान खरिद

कात्तिक ४ गते निर्णय गरेर मंसिर १४ गतेदेखि सहकारीमार्फत किसानका धान खरिद प्रक्रिया सुरु गरेको परियोजनाले सातामा दुई दिन मात्रै समर्थन मूल्यमा धान खरिद गर्न सहकारीलाई निर्देशन दिएको छ।

सरकारले पहिलो पटक तोकेको धानको समर्थन मूल्य समयमै कार्यान्वयन नभएपछि त्यसको सम्पूर्ण फाइदा व्यापारीलाई मिलेको किसानहरु बताउँछन्। यता सहकारीले  सातामा दुई धान खरिद गर्न सक्नेछन् भने प्रति सहकारी पाँच हजार मेट्रिकटन मात्रै धान खरिद गर्नसक्ने परियोजनाले जनाएको छ। यसअघि नै सस्तो मूल्यमा धान खरिद गरेर थुपारेका व्यापारीहरुले भने सरकारले तोकेको समर्थन मूल्यका बिक्री गर्न किसान  परिचयपत्र बनाएरै वीरगञ्ज खाद्य संस्थानमा धान बिक्री गरिरहेको किसानहरुको गुनासो छ। 

भारतीय धान रोक्नुपर्छ 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई बाराका प्रमुख डा. सुरेन्द्र यादवले खुला बजार नीतिका कारण भारतबाट अनियन्त्रित रुपमा आउने धानका कारण समर्थन मूल्य कार्यान्वयमा समस्या भएको बताए। भारतबाट अनियन्त्रित र खुलारुपमा आउने सस्तो धानका कारण नेपाली किसानको धानले उचित मूल्य पाउन नसकेको यादवको भनाइ छ।

‘भारतवाट खुला रुपमा आउने धानलाई नरोकेसम्म जतिसुकै समर्थन मूल्य तोके पनि त्यो लागु हुन सक्दैन,’ प्रमुख यादवले भने, ‘धानको समर्थन मूल्य यस वर्ष प्रभावकारी रुपमा लागु गर्न नसक्दा किसानहरुको धान व्यापारीको हातमा पुग्यो। अगामी वर्षमा यसलाई प्रभावकारी रुपमा लागु गर्छौं।’

सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न किसानको सम्बन्धित वडा कार्यालयको सिफारिस र परिचयपत्र समेत ल्याउनुपर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.