|

दमक : झापाको तोपगाछीस्थित रतुवामाई वृक्षारोपण आयोजना क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। अहिले त्यस क्षेत्रमा अतिक्रमण गरी अहिले त्यहाँ २१ वटा खेलमैदान निर्माण भएका छन्। कुल २९ सय ७२ हेक्टर क्षेत्रफलमा फौलिएको उक्त आयोजनामा करिब १४ हेक्टर खेलमैदानले ओगटेको आयोजनाले बताएको छ।

ती खेल मैदान आयोजनालाई बिना अनुमति निर्माण गरेका हुन्। आयोजनाका प्रमुख खेमलाल विक आफ्नो कार्यालय मातहतमा रहेको आयोजनामा विगत लामो समयदेखि विभिन्न नाम, समूहले जथाभावी अतिक्रमण गरेर खेलमैदान बनेको स्वीर्काछन्। भन्छन्, ‘धमाधम खेल मैदान बनिएका छन्, अहिले आयोजनाले मात्र नियन्त्रण गर्ने अवस्था छैन।’ पूर्वको शिवसतासीमा पर्ने दूधे, संगमको चोकको उत्तर, झिलझिले उत्तर, धरमपुर उत्तर, केर्खाको उत्तर, सीतापुरीको उत्तर र इलामको चुलाचुली क्षेत्रका युवाहरुले समेत त्यही आयोजनाको क्षेत्रमा खेल मैदान बनाउदै आएका छन्।

यस्ता खेलमैदान स्थानीय क्लवको नाममा विरुवा फडानी गरेर बनाइएको हो। ‘टोलैपिच्छे खेल मैदान बनाउने परिपाटी शुरु भएको छ’ स्थानीय सामाजिक अगुवा प्रसाद सुब्बाले भने, ‘खेलमैदान होस, मान्छे मरेपछि गाडिने मृत्यु संस्कारमा बनिने क्रंक्रिट चिहान बनाउने अस्वस्थ्य प्रतिस्पर्धाले आयोजना अतिक्रमणको चपेटामा छ।’

खेल मैदानसँगै आयोजनाका हातामा बङगुरका खोर, मठमन्दिर निर्माण, खुल्ला चरिचरन, जथाभावी क्रंक्रिट चिहान निर्माण हुने क्रम बढेकाले पनि यस क्षेत्र सांगुरिदै गएको आयोजनाका अधिकारीहरु बताउँछन्। नेपाली कांग्रेस झापाका पूर्व उपसभापति तथा महासमिति सदस्य देउमान थेवेले आयोजना अतिक्रमण हुनुमा स्थानीयबासीको लापरवाही, छाडा चरिचरणका साथै जथाभावी बनाइएका कपुरथान भएको जिकिर गरे।

त्यस्तै सतासीधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रसाद सुब्बाले आयोजना प्रभावकारी बन्न नसक्नु आयोजनाको कमजोरीसंगै स्थानीय बासिन्दाहरुको हेपाहा प्रवृत्ति कारक भएको बताए।

आयोजनाको दशवर्से कार्ययोजना शुरु

आयोजनाले दश वर्षे वन व्यवस्थापन कार्ययोजना बनाउन शुरु गरेको छ। आयोजनाको वृहत्तर विकास गर्ने लक्ष्यका साथ दश बर्षे कार्ययोजना अघि ल्याएका हुन्।

आयोजना प्रमुख विश्वकर्माले वन व्यवस्थापनमा हालसम्म दिगो योजना नहुनु र यसले आयोजना जस्ता बन क्षेत्रमा देखिएको समस्या आउन नदिन आयोजनाले गुरुयोजनाका साथ कार्ययोजना निर्माणमा केन्द्रीत भएको बताए। आयोजनाले आफनो वनव्यवस्थापन योजना निर्माण गर्नका लागि काठमाडौंस्थित हरित नेपाल विकास प्रालिको प्राविधिक सहकार्यमा काम थालिएको जनाएको छ। आयोजना प्रमुख विकले भने ‘आयोजनाको सुधारका लागि यस कार्ययोजनाले सघाँउ पुर्‍याउने छ।’

आयोजना २०३३ सालमा स्थापना भएपनि अहिलेसम्म वन व्यवस्थापन योजना प्रभावकारी नबन्दा वन क्षेत्र अतिक्रमणसंगै लक्ष्य अनुसार आम्दानी दिन सकिरहेको छैन। पूर्वपश्चिम राजमार्गको लखनपुरदेखि पूर्वमा शिवसतासीधाम नगरपालिकाको उत्तरी खण्डमा अवस्थित आयोजनाको कुल क्षेत्रफल २९ सय ७२ हेक्टर रहेको छ। ती क्षेत्रमा प्राकृतिक सालको विरुवासंगै टिक, मसला, कदम जातका विरुवा छन्।

आयोजना प्रमुख विकका अनुसार वन स्रोतमा निर्भर आयोजनालाई अब दश वर्षपछि देशकै नमुना बनाउन उद्देश्यले सरोकारवालाहरुसंग समन्वय गरी काम शुरु गरिएको हो। उनले वन व्यवस्थापनलाई बैज्ञानिक ढंगले कार्यसम्पादन गर्न दुरदृष्टि योजना अनुसार काम गरिए आयोजनाले फड्को मार्ने दावी गरे। उनले प्राकृतिक स्रोतका मालिक स्थानीय बासिन्दाहरु नै भएकाले आयोजना, सामुदायिक वन, स्थानीय सामाजिक तथा राजनीति दलहरुबाट सहयोग जुट्न सके दशवर्षे कार्ययोजनाले गति लिने बताए।

त्यस योजना अनुसार वन क्षेत्रलाई सुधार गर्न प्राविधिक समूहले दशवर्से खाका तयार गर्ने काम शुरु गरिएको उनले जानकारी दिए। उनले त्यस योजना अनुसार स्थानीय बासिन्दाहरु, राजनीतिक दल, सामुदायिक वन, विद्यालय तथा सरोकारवाला पक्षहरुसंग अन्तरक्रिया शुरु गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.