|

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले आगामी शनिबार र सोमबार केन्यासँग प्रतिस्पर्धा गर्दैछ। एक दिवसीय फर्म्याटमा खेलाइने खेल त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बित अवस्थामा रहेकाले आइसीसीले आफैँ संयोजन गरेको यस प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ। खेल हेर्न मैदान पुग्ने दर्शकहरुका लागि टिकटको व्यवस्था गरिएको छ। सुरक्षाका लागि करिब ६ सय सुरक्षाकर्मी परिचालित हुँदैछन्।

के छ नेपालको अवस्था ?

प्रतियोगितामा नेपालले स्कटल्याण्ड, पिएनजी, नामिबिया र नेदरल्याण्ड्ससँग खेलिसकेको छ। यसमध्ये नामिबियासँगको २ तथा नेदरल्याण्ड्ससँगको एक खेल जितेको नेपाल ६ अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ। नेपालले अब केन्यासहित हङकङ र युएईसँग खेल्न बाँकी छ।

टिमको अवस्था हेर्दा कप्तान पारस खड्का खेल्न सक्ने कि नसक्ने अझै टुंगो लागिसकेको छैन। यसै महिना एपेण्डिसाइटिसको शल्यक्रिया गराएका पारस सोमबारबाट मात्र अभ्यासमा फर्किएका छन्। थाहा खबरसँगको कुराकानीमा उनले सोमबार भनेका थिए, 'आज बल्ल केहीबेर अभ्यास गरेँ, हेरौँ के हुन्छ थाहा छैन। खेल देशबाहिर भएको भए निकै गाह्रो थियो। नेपालमै छ, त्यसैले अन्तिम दिनसम्म पनि सम्भावना रहन्छ।'

जित्दा के, हार्दा के हुन्छ?

प्रतियोगितामा कुल ८ मध्ये ५ खेल हारेको नेपाललाई केन्यासँगको दुवै खेल 'गर या मर' भनेजस्तै छ।

यदि यी दुवै खेल जितेमा नेपाल शीर्ष चारमा स्थान बनाउँदै घटुवाबाट बच्ने तथा सन २०१९ विश्वकपको छनोट खेल्ने सम्भावना जीवित रहन्छ। त्यसका लागि यो दुई खेल जितेर मात्र पुग्दैन, बाँकी खेलमा हङकङ र युएईसँग पनि अंक खोस्न सक्नुपर्छ। 

प्रतियोगितामा नेपालभन्दा अघि शीर्ष स्थानबाट क्रमश: नेदरल्याण्ड्स, पिएनजी, हङकङ, स्कटल्याण्ड र केन्या छन्। यसमध्ये दुवै खेलमा केन्यालाई हराउन सके नेपाल २ अंकको स्पष्ट अग्रतासहित तालिकाको पाचौँ स्थानमा उक्लिनेछ।

त्यति गर्दा शीर्ष ४ भित्र रहेको र समान खेल खेलेको हङकङ (शीर्ष चारको लडाईंमा पछि पार्न सक्ने सम्भावित प्रतिद्वन्द्वी) सँग मात्र १ अंकको दूरी बाँकी रहनेछ। स्कटल्याण्डको समेत ११ अंक नै रहे पनि उसले ८ खेलमात्र खेलेको छ।

त्यसैले केन्यासँगको खेल जितेमा नेपालले शीर्ष चारका लागि आफूलाई सम्भावित टिमका रुपमा उभ्याउन सक्नेछ। हारेमा प्रतियोगिताबाट घटुवा अर्थात 'डिभिजन टू' मै कायम रहने लगभग निश्चितप्राय हुन्छ।

के हो आइसीसी लिग च्याम्पियनसिप ?

यो आइसीसीका एसोसिएटमध्ये सबैभन्दा माथिल्लो डिभिजनमा रहेका ८ टोलीले खेल्ने प्रतियोगिता हो। आइसीसीले ‘डिभिजन टू’ सम्मका टिमका लागि ‘लिग डिभिजन’ प्रतियोगिता खेलाउने गर्छ। त्यसभन्दा माथिका अर्थात् शीर्ष ८ एसोसिएट टिमले ‘आइसीसी लिग च्याम्पियनसिप’ खेल्छन्।

आगामी विश्वकपका लागि आइससीले शीर्ष दुई एसोसिएट टिम अफगानिस्तान र आयरल्याण्डलाई सिधै छनोट हुने र त्यो हुन नसके छनोट खेलका लागि स्वत: योग्य हुने मौका दियो। जसका कारण यी दुवै टोलीले लिग च्याम्पियनसिप खेलिराख्नु परेन। यस्तो अवस्थामा शीर्ष डिभिजनमा ६ वटामात्रै टिम बाँकी रहँदा प्रतियोगिताका लागि ८ वटै टिम पुर्‍याउन आइसीसीले ‘डिभिजन टू’मा रहेका नेपाल र केन्यालाई पनि मौका दिएको हो।

अघिल्लो पटक न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा शीर्ष ८ भित्र पनि पर्न नसकेपछि नेपाल 'डिभिजन टू'मा घटुवा भएको थियो। त्यसपछि नेपालले ‘डिभजिन टू’ खेल्यो। सानदार प्रदर्शनका बावजुद् नेदरल्याण्डसँग रनरेटमा पछि पर्दा नेपाल शीर्ष डिभिजनमा बढुवा हुन सकेन। त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा केन्यासँग पनि हार्दा नेपाल चौंथो स्थानमा खुम्चियो। यति हुँदाहुँदै पनि यो प्रतियोगिता खेल्न पाउनु नेपालका लागि ठूलो अवसर हो।

नेपालले पहिलो पटक आइसीसी लिग च्याम्पियनसिप खेलिरहेको छ। प्रतियोगिता सन् २०१६ बाट सुरु भएको प्रतियोगिता २०१७ भित्रमा सम्पन्न भइसक्नेछ। प्रतियोगितामा सहभागी आठवटै टिमले एकअर्कासँग दुई-दुईवटा खेल खेल्नेछन्। जुन होम एण्ड अवेका आधारमा हुन्छ। प्रतियोगितामा नेपालले खेल्न लागेको यो अन्तिम होम गेम। 

क-कसले खेल्छन् विश्वकप ?

इंग्ल्याण्ड विश्वकप २०१९ मा १० टोलीले सहभागिता जनाउने छन्। जसमा आयोजकका रुपमा इंग्ल्याण्डले स्वत: स्थान बनाउने छ। यस्तै ३० सेप्टेम्बर २०१७ का दिन शीर्ष बरियतामा रहेका अन्य ७ टोलीले पनि विश्वकपमा स्वत: स्थान बनाउने छन्। बाँकी दुई टोली आगामी वर्ष बंगलादेशमा हुने छनोट खेलबाट छानिने छन्।

विश्वकपमा स्वत: छनोट हुने मौका पाएर पनि असफल हुने ४ तथा नेपालले खेलिरहेको आइसीसी लिग च्याम्पियनसिपका शीर्ष ४ गरी ८ टोलीले छनोट खेल्नेछन्। यी मध्ये जम्मा २ टोलीले विश्वकप खेल्ने अवसर पाउँछन्।

विश्वकप नै खेल्न नपाए पनि छनोट खेल्न पाउनु र एसोसिएटहरुको शीर्ष डिभिजनमा रहनु नेपालका लागि ठूलो उपलब्धि हुनेछ। त्यस्तो अवस्थामा नेपालले थप खेलमा सहभागिताको अवसर त पाउने छ नै आइसीसीबाट आउने बजेटमा पनि वृद्धि हुनेछ।

संयमित भएर हेर्नुहोस् खेल

एसोसिएट टिमहरुमध्ये सबैभन्दा राम्रो फ्यानबेस भएको टोली हो नेपाल। नेपालले घरेलु मैदानमा खेल्ने खेलमा दर्शकहरुको बाढी नै आउने गर्छ। यसरी खेल हेर्न पुगेका दर्शकहरुले संयम गुमाएको खण्डमा नेपालले आगामी समयमा यस्ता प्रतियोगिता आयोजना गर्ने अवसर गुमाउने खतरा रहन्छ। यदि दर्शक संयमित हुने हो र नेपालले भौतिक पूर्वाधार सुधार गर्ने हो भने आइसीसीका धेरै प्रतियोगिताहरु नेपालमा हुनेछन्।

नेपालको क्राउड देखेर आइसीसी जहिले पनि प्रभावित हुँदै आएको छ। तर, दर्शकहरुको उच्छृङ्खलता कहिले काहीँ बाधक बन्नेगर्छ। यदि तपाईं पनि मैदानमा गएर खेल हेर्दै हुनुहुन्छ भने आफू पनि संयमित हुनुस् र साथीहरुलाई पनि संयमित रहन प्रोत्साहित गर्नुहोस्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.