|

मोहन कोइराला आफ्नो साहित्य आराधनालाई लिएर भन्ने गर्थे, 'म सूर्यदान गरिरहेको छु, तातो लागे लिनु, तातो नलागे चिसो हुन पर्खनु।' साहित्य सृजनाका बारेमा गम्भीर अभिव्यक्ति थियो कोइरालाको। उनका शुभचिन्तक, एक्लो कविको संज्ञा पाउने, देवकोटा, पौड्याल र आधुनिक बिँडो बोक्ने कोइरालापछि जमेका कवि हस्तीहरू श्रवण मुकारुङसम्मका काव्यरचनालाई अक्षरश: पढेका/सुनेका जगदीश राणा साहित्य जगतमा उत्प्रेरक बनेर महाकवि देवकोटादेखि समकालिन नेपाली कला, साहित्य तथा संस्कृतिको श्रीवृद्धिमा निरन्तर लागिरहेको क्रियाशील नाम हो।

'दश दृष्टिकोण'मा राणाको सूक्ष्मता देखेर साहित्यका पण्डितहरूले जिब्रो टोकेका थिए। आमराणाको जस्तो राजसी शैली नभई कलाको परख गर्नसक्ने साधारणपनले भरिएका पात्र हुन्, जगदीश।

लेखक, समालोचक, कला तथा संस्कृतिका बारेमा गहन अनुसन्धान गरिरहने राणाका दुई दर्जन भन्दा बढी कृति प्रकाशन भएका छन्। पहिलो कृति महाकवि देवकोटामाथि गरिएको तुलनात्मक अध्ययन थियो। उनको पछिल्लो पुस्तक निजी संकलनमा रहेका दुर्लभ चिनियाँ जेडस्टोनहरूका बारेमा लेखिएको 'ट्वान्टी सेभेन जेड्स' नामक अंग्रेजी पुस्तक हो। 'दश दृष्टिकोण'मा राणाको सूक्ष्मता देखेर साहित्यका पण्डितहरूले जिब्रो टोकेका थिए। आमराणाको जस्तो राजसी शैली नभई कलाको परख गर्नसक्ने साधारणपनले भरिएका पात्र हुन्, जगदीश। गत वर्ष पुन: प्रकाशन भएको पुस्तक 'उत्तर आधुनिकवाद र बाहुल्य विस्फोटको लोकप्रियता'ले बौद्धिक पाठकहरू माझ फराकिलो वैचारिक तरङ्ग फैलाइदिएको थियो भने जगदीशका पिता नेपालका पहिलो शिक्षा निर्देशक मृगेन्द्रशमशेरको डायरी प्रकाशनमा तत्परता देखाई लोप हुन लागेको तथ्य र इतिहासको संरक्षणमा उहाँको अग्रसरता रहेको थियो। फलस्वरूप 'दि डायरी अफ मृगेन्द्र' प्रकाशनमा आएको थियो। डायरीमा हजुरबुबा चन्द्रशमशेरको समयलाई नियालिएको छ भने बेलायतबाट नेपालमा आउने विशिष्ट अतिथिहरूका बारेमा रोचक कुराकानीका सामग्रीलाई समावेश गरिएको छ।

एक शताब्दी भन्दा बढीको शासन अवधि वृत्तान्त इतिहासले केलाउला तर अध्ययनशील, प्राज्ञिक खलकको ताज जनरल बबरशमसेरको हाँगोलाई नै थियो। जगदीश एक्लैले पनि आफू र आफ्नो परिवारको घेरा भन्दा बाहिर गई देश र भूगोलको रेखासँगै विकसित भई संसारभरका नेपालीभाषीहरूका लागि अथक योगदान दिएको प्रमाण सर्वत्र कृतिहरूमा देख्न सकिन्छ।

'प्रयोगवादी लेखक' नाम दिएका समालोचकहरूको दृष्टि राणामाथि पृथक खालको छ। शब्द छनोट, संप्रेषण र ध्वनिको आधारमा व्याकरणको मान्यतालाई विस्तारित गराउनसक्ने उहाँको खुबीले सबैतिरबाट वाहावाही पाइरहेको अवस्था छ।

मदन पुरस्कार प्राप्त कृति 'नरसिंह अवतार' प्रकाशन भएको पुग्दो चौथो दशकमा राणाको आफ्नोपन बोकेको हस्ताक्षर पानीमा कोरिएको धर्सो थिएन।

 

गोल्फुमा खाँदेर छिप्पिएका बासिन्दा

पित्तलको डाँडामा अमिलो मनको उगाल

साँधेका आँखाको तरकारी र तारेका औँलाका सितन

सम्झनाको घण्टले थिलोथिलो पारेको मथिङ्गल

पितृलाई खर्दन र बस्तीलाई तर्पण

मिसिन लगाएर बदलेको रगतमा कोरलिएका

गोसिका लाखौँ छिचिमिरा

बाँसका आँख्ला जस्तै पड्कन थालेका जोर्नी-जोर्नी।

(अमलेख बस्तीमा दन्केका मानिस, नरसिंह अवतार)

नब्बे सालको भुइँचालोमा नेपाल रन्थनिएका बेला जगदीश पण्डित रुद्रकान्त अधिकारीबाट अक्षर सिक्दै थिए। ९२, ९३ ताका महाकवि दरबारमा आई उनलाई अंग्रेजी सिकाउन थालेका थिए।

उनको चिन्ता त्रिपुरेश्वरमा संचालन हुने 'स्कुल अफ म्युजिकोलोजी'मा छ। नेपाली भाषाको 'स्पेलिङ चेकर'को अनुसन्धानमा छ। भारतीय राष्ट्रगानका संगीत निर्देशक क्याप्टेन रामसिंह थापाको सम्पूर्ण खोजमा छ। धुलिखेल पर रहेको सानो गाउँ थाक्लेको विकासको सुर्ता छ। बृहत नेपालभित्रका नेपालीहरूको चिन्ता छ।

मौलिक विषयमा लेखिएका उपन्यासको अभाव देखेपछि राणाले 'सेतो ख्याकको आख्यान' लेखे, उत्तरआधुनिकताको अन्योल बढ्न थालेपछि 'उत्तरआधुनिकवाद र बाहुल्य विस्फोट'को प्रकाशन गरे। भाषाको श्रीवृद्धिका लागि सकेको गर्न खोजिरहने स्वभाव राणामा देख्न सकिन्छ। जगदीश राणा अस्पताल घरको आउजाउका क्रममा अहिले चण्डिगढस्थित कोर्टलेयरमा आराम गरिरहेका छन् तर उनको चिन्ता त्रिपुरेश्वरमा संचालन हुने 'स्कुल अफ म्युजिकोलोजी'मा छ। नेपाली भाषाको 'स्पेलिङ चेकर'को अनुसन्धानमा छ। भारतीय राष्ट्रगानका संगीत निर्देशक क्याप्टेन रामसिंह थापाको सम्पूर्ण खोजमा छ। धुलिखेल पर रहेको सानो गाउँ थाक्लेको विकासको सुर्ता छ। बृहत नेपालभित्रका नेपालीहरूको चिन्ता छ। नेपालबाहिर नेपालीहरूले बनाएको सानो नेपालको चियो छ। कैयौँ कामहरूको सूची उनीसँग छ। शरीरलाई औषधिले सिँचेर राणा चिन्तन मननमा लागिरहेका छन्।

प्रेम गर्नेहरू हरेक दिन घरमा आइरहेका छन्। नजिक, टाढा सबैतिरबाट प्रियजनहरू, आत्मीय मनहरू हृदय भरेर भेटका लागि आएका छन्। भर्खरै मात्र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि उनको स्वास्थ्य बुझ्न राणाकहाँ पुगेका रहेछन्। परिवारका सदस्यहरू भन्दा पनि साहित्य, कला, संस्कृति, राजनीति, सामाजिक सेवाका भावकहरूको भीड उनको निवासमा लागिरहेको छ।

आफ्नै बारेमा, अहिलेको हालउपर राणा भन्छन्-

'सकेको म आफैँ गर्छु, सके गर्ने मान्छे पहिल्याउँछु र उसैलाई जिम्मा दिन्छु। मैले रोजेको मान्छे ठीक कामको हुनेमा म विश्वस्त छु। मेरो सक्रियता प्रत्यक्ष/परोक्ष सधैँ रहिरहनेछ। शरिर ताजा भएका बखत यताउता जाने क्रम धेरै हुन्थ्यो, अब म त्यो सक्दिनँ तर मेरो सल्लाह, सुझाव, निर्देशन, छलफलका लागि निरन्तर लागिरहेको छु।'

साहित्यस्रोत, प्रगति, रूपरेखामा चेतनागत् गह्रौँ चिन्तन मननमा राणाका कृतिहरू एकमुष्ठ रूपमा भने वि. सं.२००३ मा 'मुनामदन भ्रमण'बाट सुरु भएको थियो। त्यसपछि 'नरसिंह अवतार', 'दश दृष्टिकोण', 'सेतो ख्याकको आख्यान', 'गीत गोविन्द'को अनुवाद, 'नचागानको राजधानी भक्तपुर', 'रिपल्स इन मेनस्ट्रिम पोलिटिक्स'देखि 'विमन राइटर्स अफ नेपाल' जस्ता अमूल्य ग्रन्थको शोध आफैँमा सराहनीय कदम थियो। पुस्तक लेखनमा मिति र तथ्यांकको आधार नरेन्द्रराज प्रसाईँको पुस्तिकाबाट लिएको भए पनि मूल रूपमा पुस्तकका पात्रहरूसँगको अन्तरङ्ग कुराकानी र अनुसन्धान राणाको थियो। अंग्रेजी, नेपाली, हिन्दी, संस्कृतमा बेजोड कमाण्ड भएका राणासँग नेवारी, गढवाली जस्ता आञ्चलिक भाषाहरूको गहिरो ज्ञान छ। उनका कृतिहरूमा विभिन्न विषय र जाति र रङका पत्रहरू खुलेका देखिन्छन्। काठमाडौँका गल्लीहरूको भौगोलिक अध्ययन दुर्लभ प्राकृतिक धाराको अटुटता झैँ कृतिहरूमा बोलेको देखिन्छ।

नेपाल छाडेर जानेलाई नेपालको माया अझ चुलिएर आउँछ, किनकी उनीहरू सानो नेपाल आफ्नो खल्तीमा बोकेर साधनाको तपोथलीमा कला सृजना गरिरहेका हुन्छन्। सिंहदरबारको जन्म, सिमलाको पहाडमा गई शान्तपूर्वक सूर्य नमन् गर्दै सूर्यदान गरिरहेको रहरलाग्दो आवाज बनेर जगदीश जगमगाइरहेका छन्। उनका कृतिहरू बुझ्नेहरूदेखि नबुझ्ने चना-मरिच साहुजीसम्मका उपभोक्ता जगत् विम्बैविम्बले भरिएका छन्।

जगका बारेमा जाग्दाजाग्दै दशकौँ पहिले जगदीशको भित्री ईश्वरले बोलेको एक हरफसहित आलेखको बिट मार्छु-

'पूजा बन्दै गएको शरीरको बवण्डरको फिलिङ्गो सेलाएको आत्माको भग्नाशाको मृत्यु तृष्णाको।'

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Very inspiring story, Good covergage of Nepali literature eminent figure Jagadish Rana.