|

संयुक्त अरब ईमिरेट्स (यूएई) घुम्न गएका दक्षिण अफ्रिकाका एक युवक र उनकी युक्रेनी केटी साथीलाई गैरकानुनी यौनसम्पर्क राखेको आरोपमा युएई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्नेमा २९ वर्षीय एमलिन कल्वरवेल र २७ वर्षीया इरिना नोहाइ रहेको बीबीसीले उल्लेख गरेको छ।

इरिनालाई पेट दुखेर यो जोडी अस्पताल पुगेको थियो। डाक्टरले उनको स्वास्थ्य जाँचका क्रममा गर्भवती भएको पत्ता लागेको थियो। त्यसपछि एमलिन र उनकी केटी साथी इरिनालाई पक्राउ गरिएको थियो।

एमलिनकी आमाले दुबै जनाको रिहाइको माग गरेकी छन्। उनले भनेकी छन्, 'एमलिन र इरिनाको अपराध माया गर्नु मात्र हो?' यो विषयमा दक्षिण अफ्रिका सरकारले कुनै सहयोग गर्न नसक्ने बताएको छ। दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले युएईको घरेलु कानुनका विषयमा केही बोल्न नमिल्न बताएको हो। उसले एमलिन र इरिनालाई कानुनी सहयोग लिन सल्लाह दिएको छ।

एमलिन गत ५ वर्षदेखि युएईमा काम गर्दै आएका छन्। एमलिन र इरिनालाई जनवरीमै हिरासतमा लिइएको भएपनि यो घटना हालैमात्र बाहिर आएको हो।

एमलिनकी आमा लिन्डा कल्वरवेलले उनीहरुलाई नडराउन सुझाव दिएकी छन्। उनले एमलिन र इरिना विरुद्ध कुनै औपचारिक मुद्दा नलगाइएको बताएकी छन्। युएईका अधिकारी अझै छानबिनमा रहेको लिन्डाले बताएकी छन्।

एमलिन र इरिनाले विवाह पहिल्यै यौनसम्पर्क गरेर युएईको कानुन तोडेको पाइए लामो समय जेल सजाय हुनसक्ने बताइएको छ। युएईको कानुन अनुसार बिबाह पूर्व यौनसम्बन्ध राख्नु गैरकानुनी मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.