|

 

संविधान जारी भएपश्चात् मधेशकेन्द्रित र अन्य दलबीच देखिएको विवाद पछिल्लो समय ध्रुवीकृत भएको छ। चुनाव घोषणा गरेपश्चात् मोर्चा र एमालेबीच तीर हानाहान जुहारी चलेको छ। जनता निराश छन्। सरकार जुहारीमा रमिते बनेको छ । उक्त जुहारीको केही अंशः

मोर्चा :   संविधान संशोधन किन गर्न दिन्नौ?

    हाम्रो बाटोमा अवरोध तिमी नबन्देऊ।

    ठूलो शक्ति भनेर फुर्ती गर्छौ किन?

    सक्छौ भने आऊ तराई शक्ति हातमा लिन।

 

एमाले :  पहाडबाट तराई झर्‍यौँ मेची महाकाली

    शक्ति देखाउन आयौँ हामी पूरै हामफाली।

    तिम्रा मान्छे भन्दा हेर हाम्रा मान्छे कडा

    तिम्रा पाखुरा भन्दा हाम्रा पाखुरा नै बडा।

 

मोर्चा :   देख्या छैनौ तिमीले नि हेर्लाऊ हाम्रो शक्ति

    यो देशमा चलिरा'छ शक्ति हुनेको भक्ति।

    त्यसैले त हामी पनि शक्ति देखाई छाड्छौँ

    अब तराई झर्‍यौ भने हामी सबलाई भाँड्छौँ।

 

एमाले :  हामीलाई हेप्यौ भने चाल पाउला फेरि

    हाम्रा पनि भुसतिघ्रे छन् तिम्रो चाला हेरी

    फुर्ती धेरै गर्‍यौ भने डिल कटाइदिउँला

    चुनावमा चुनौतीको हिसाब-किताब लिउँला।

 

मोर्चा :   हाम्रो गाउँमा आउँछौ अनि हामीलाई नै घुर्की

    हैसियत तिम्रो देखाइदिउँला नगर धेर फुर्ती

    कति गर्छौ चुनावको चुरिफुरी रेला

    छिट्टै देख्छौ तिमीले अब हाम्रो शक्तिको खेला।

 

एमाले :  अब चुनाव हुन्छ तिमी हेरिहेरी बस

    आफ्नै बुद्धिको जालमा अब तिमी फस

    सक्छौ भने चुनाव जित्न आऊ घुँडा धस

    होइन भने जोगी बनी खरानी घसी बस।

 

मोर्चा :   कसो गरी गर्छौ चुनाव हामीविना तिमी?

    कसैगरी चुनाव हुन्न देखाइदिन्छौँ हामी

    सप्तरीमा हाम्रो शक्ति देखी भागिसक्यौ

    चुचुरामा चढ्छु भन्थ्यौ पातालमा खस्यौ।

 

एमाले :  जनताले भोट हाल्छन् हामी बन्छौँ नेता

    तिमीहरू पराईका भयौ प्यारा बेटा

    देशको माया भएदेखि चुनावमा आऊ

    हैन भने झोला बोकी परदेशतिरै जाऊ।

 

मोर्चा :   हाम्रो भूमि तिम्रो आदेश कसो गरी चल्छ?

    अमृत, बिष जेजे रोप्छौ त्यही त्यही फल्छ

    हात मिलाए हात दिन्छौँ काँध मिलाए काँध

    लात्ती नै बजार्ने भा' जस्तोलाई त्यस्तै मान।

 

एमाले :  ठूलो, सानो भन्ने कुरा बलले हुने होइन

    तिम्रो साथमा लठैत होलान् जनताचाहिँ छैन

    हिम्मत भए चुनाव लड जिती हाम्लाई देखाऊ

    चुनाव गर्न यो देशलाई मार्ग प्रशस्त गराऊ।

 

मोर्चा :   आफ्नो मात्र कुरा गर्छौ हाम्रो सुन्ने होइन

    यस्तो चालले मधेशीको मन जित्ने छैन

    गर्छौ भने भिरालोमा चुनाव गराई जाऊ

    सम्मतिर गर्ने भए हात मिलाई आऊ।

 

एमाले : हात मिलाउने तिमीसँग कुन धारमा लेख्या?

    तिमीविना चुनाव हुन्छ खै तिमीले देख्या?

    हेर्‍याहेर्‍यै होलाF भोलि हामीले जितेपछि

    ठूलो भाग पाउँछु भन्दा पा'को पनि खति!

 

मोर्चा :   उपदेश दिने कष्ट नगर है धेरै

    हाम्रो धैर्य टुट्नलाई लाग्दैन है बेरै

    ज्वालामुखी विष्फोट होला पर्ला आत्थुआत्थु

    सखाप पार्ला तिमीलाई बुझ बरु नात्थु!

 

एमाले :  फकाउँदा घुर्की लाउँछौ खालाऊ ठूलो भाग

    अरूलाई छेकबार नगरी आफ्नो बाटो लाग

    केही फरक पर्दैन तिमीविना हाम्लाई

    चुनाव जिती माला लाउँछौँ देखाइदिन्छौँ तिम्लाई।

 

मोर्चा :   धेरै फुर्ती गर्न थाल्यौ मेरो पारो तात्यो

    यस्तै पारा हो भने पार्दिऊँ गाला रातो?

    लु त हेरौँ हामीविना कसो गरी गर्छौ?

    हामीविना मधेशमा कसरी वैतर्णी तर्छौ?

 

सरकार : तिमी दुईका विवादले कुर्सी मेरो हल्यो

    बाघ सरकार बन्ने भन्या कमजोर पो कहल्यो

    कति विवाद गर्छौ धेरै दिमाग चाट्ने गरी

    किन मलाई चैन दिन्नौ 'डिस्टर्व' घरिघरि!

   

जनता : ए! भो, भो, भो, अति भो विवादका खानी

    तिम्रा धेरै विवादले देशलाई हुन्छ हानि

    छोड तिम्रा जय मधेश, छोड लालसलाम

    छोड तिम्रा लिँड्के तर्क छोड हठ अडान।

 

    जनता र यो देशलाई हृदयमा राखी

    सबै हाम्रा दाजु-भाइ सबलाई च्याप काखी

    मिलिजुली गर सबै जेजे गरे पनि

    हैन भने जनताले लिन्छन् हिसाब गनी।

 

    सबै मिले हुन्छ कुरा सबै समाधान

    यति कुरा जनताको अक्षरश: मान

    भन सबले आजदेखि देश बनाउने नेपाल

    सबले भन हात मिलाई देश जय नेपाल!

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.