|

धनगढी : संसद विघटनपछि सत्तारुढ नेकपाभित्र दिनहुँ केही न केही खिचडी पाक्न थालेको छ। लामो आन्तरिक विवाद र गुटगत राजनीतिले नेकपा अब आधिकारिक रुपमा फुट्न मात्र बाँकी छ। 

केन्द्रको विवादले प्रदेश, जिल्ला र स्थानीय तहमा निकै प्रभाव परेको छ। नेकपा सुदूरपश्चिममा प्रचण्ड–नेपाल समूहको स्पष्ट बहुमत देखिएको दाबी गरिएको छ।नेकपा प्रदेश सुदूरपश्चिम इञ्चार्ज भीम रावल नै माधव नेपाल पक्षधर भएपछि प्रदेशको राजनीतिमा खासै ठूलो प्रभाव पर्ने अवस्था देखिएको छैन। 

तर पछिल्लो समय नेकपा सुदूरपश्चिममा हाबी हुँदै गएका ओली समूहका दुई ठूला नेता भने कार्यकर्ताविहीन बनेका छन्। नेकपा प्रदेश अध्यक्ष कर्ण थापा लामो समयदेखि ओलीनिकट मानिन्थे। अहिले पनि उनी ओली समूहमै छन्। थापा निकट कार्यकर्ता भने सुदूरपश्चिममा पहिलेदेखि नै थिएनन्। 

यस्तै पूर्व माओवादीमा हुँदा सुदूरपश्चिमका पहिलो नम्बरका नेता मानिने लेखराज भट्ट पनि मन्त्री पद पाएपछि ओली समूहमा सरेका छन्। पूर्वमाओवादीमा हक जमाएर बसेका लेखराजलाई सुदूरपश्चिममा पूर्वमाओवादीका कार्यकर्ताले पनि नम्बर ‘वन’ कमाण्डर नै मान्थे। उनी, पुष्पकमल दाहाल नजिक भएकाले पार्टीमा उनको बोली पनि बिक्थ्यो। 

तर लेखराज ओली समूहमा गएपछि उनलाई सुदूरपश्चिममा पूर्वमाओवादी केन्द्रका नेता कार्यकर्ताले साथ छोडेका छन्। स्थायी कमिटी सदस्य लेखराज एकतापछि प्रदेशमा पार्टीको कुनै जिम्मेवारीमा थिएनन्।

प्रदेशमा जिम्मेवारी नपाए पनि उनको प्रदेशमा सरकार र पार्टीमा राम्रो प्रभाव थियो। सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्ट, अर्थमन्त्री झपट बोहरा र कृषि मन्त्री विनिता चौधरी उनकै कार्यकर्ता थिए। अहिले तीनै जना प्रचण्ड–नेपाल समूहमा छन्। सबैभन्दा नजिकका मुख्यमन्त्री त्रिलोचनले समेत साथ छोडेका छन्। 

लेखराजले नै मुख्यमन्त्री बनाएका त्रिलोचनले आफ्नो गृहजिल्ला डोटीबाट प्रदेशको राजधानीसमेत लेखराजको गृह वडा कैलालीको गोदावरीमा सारेका थिए। पूर्वमाओवादीकै वीरभान चौधरीलाई पाखा लगाएर आफूनिकट त्रिलोचनलाई मुख्यमन्त्री बनाएपछि नेकपा सुदूरपश्चिममा लेखराज केही समय हावी हुँदै आएका थिए।

उनले प्रदेश राजनीतिमा हस्तक्षेप गरेपछि प्रदेश अध्यक्ष थापाले प्रदेश कमिटीको बैठकमा लेखराजलाई ‘तपाईंको प्रदेश कमिटीको बैठकमा आउने कुनै अधिकार छैन’ भन्नसम्म भ्याएका थिए। 

अहिले लेखराज र कर्ण थापा ओली समूहमै छन्। तर दुवै कार्यकर्ताविहीन बनेका छन्। सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई पनि लेखराजले आफ्नो पक्षमा तान्न सकेका छैनन्। जसका कारण सुदूरपश्चिम सरकारमा ओली पक्ष अल्पमतमा देखिन्छ। प्रदेश सभामा नेकपाका ३९ सदस्यमध्ये ३४ जना दाहाल–नेपाल पक्षमा छन्।

ओली समूहमा प्रस्टसँग खुलेका एक मन्त्रीसहित चार जना सांसद मात्र छन्। भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सांसद रतन थापा, महेशदत्त जोशी र प्रदेश सभा सदस्य नेपालु चौधरी ओली समूहमा छन्। 

चारमध्ये तीन जना पूर्वएमालेबाट विजयी भएका प्रदेश सासंद हुन्। ३९ जना नेकपाका प्रदेशसभा सदस्यमध्ये १४ जना पूर्वमाओवादीबाट विजयी भएका थिए। १४ जनामध्ये लेखराजले आफ्नो पक्षमा स्पष्ट खुल्ने गरी एक जनालाई पनि उभ्याउन सकेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.