|

काठमाडौं : आइतबार होली पर्व। नेपालको पहाडी क्षेत्रमा एक अर्कामा रङ दलेर खुशियाली पूर्वक होली पर्व मनाइन्छ। तराई क्षेत्रमा भने सोमबार होली मनाइन्छ। फागुन शुक्ल पुर्णिमाको दिन पर्ने होली पर्वलाई सद्भाव र खुशियालीको पर्व पनि मानिन्छ। 

होलीमा मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर रंगिन बन्छन्। रङ लगाएर एक अर्कामा अत्मीयता साटासाट गरिने यस पर्वमा हिजोआज हाम्रो शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरुको प्रयोग बढेको छ। 

होलीमा प्रयोग गरिने रातो, निलो, कालो, हरियो लगायतका रङहरुले हाम्रो शरीरमा तत्कालै वा दीर्घकालमा असर पार्ने हुँदा रङको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। रङ बनाउँदा ९० प्रतिशत घुलनशील तत्व प्रयोग गरिएको हुन्छ। सुख्खा रङ बनाउन सीसा, मर्करी, पेट्रोलियम प्रोडक्ट जस्ता स्वास्थ्यका लागि हानिकारक तत्व प्रयोग गरिएको हुन्छ। यस्ता रङहरुमा एस्वेस्टस र सिलिका जस्ता तत्व पनि हुन्छ। यी तत्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकी जस्ता रोगलाई जन्म दिन्छ। होलीमा प्रयोग गरिने रङ र यसमा प्रयोग गरिने रसायनहरुले गर्भवती महिलालाई पनि असर गर्छ। जसले गर्दा समय अगावै बच्चा जन्मने सम्भवना धेरै हुन्छ।

कालो रङ

कालो रङमा लेड अक्साइड मिसाइएको हुन्छ। यो रसायन निलेमा वा श्वासद्वारा लिए घातक हुन सक्छ। यसले छाला, आँखा, श्वास नली, फोक्सो, मष्तिस्क, आन्द्रा, मिर्गौला र रगतमा घातक असर गर्छ। एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट देखिन्छ।  

हरियो रङ

हरियो रङमा कपर सल्फेट, निलो तुथो भन्ने रसायन मिसाइएको हुन्छ। यो रसायनले आँखा तथा छालामा बिषाक्तता पैदा गर्छ। छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउने र कोर्निया खराब हुने जस्ता समस्या आउन सक्छ। यो रङ निलेमा वान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजो जस्ता अङ्गहरुलाई पनि हानी पुर्‍याउँछ। 

बैजनी रङ

क्रोमियम ब्रोमाइड भन्ने रसायन बैजनी रङ बनाउन प्रयोग गरिन्छ। यो तत्व श्वास र फोक्सोका लागि हानिकारक छ। श्वास बढ्ने दम, खोकी लाग्ने एलर्जी हुने जस्ता लक्षण देखिन सक्छ। चाँदी जस्तो चम्कने  सेतो रंगमा एल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको बिषाक्तताले क्यान्सर समेत हुन सक्छ। आँखा, छाला र श्वास प्रणालीमा प्रत्यक्ष हानी पुर्‍याउने तत्वले फोक्सोमा असर, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुनिने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या निम्त्याउँछ।

निलो रङ

निलो रङ बनाउन प्रसियन ब्लु नामक रसायन मिसाइन्छ। यसले छालाको एलर्जी, डर्मटाटिक्स जस्ता समस्या ल्याउन सक्छ। यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियतको समस्या देखिन सक्छ।

रातो रङ

रातो रंगमा धेरै मरक्युरी सल्फेट तत्व मिसाइएको हुन्छ। जुन श्वास प्रश्वासद्वारा शरीरभित्र प्रवेश गरेमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाई हुने, दम बढ्ने जस्ता समस्या देखा पर्छ। 

यो तत्व आँखामा पर्न गए नानी जलेर अन्धोपन पनि हुन सक्छ। आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्व मिसाइएको रङ खाएमा पेट दुख्ने, वाक वाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखा पर्छन्। रातो रङमा हुने सल्फेट तत्व शरीरमा धेरै नै प्रवेश गरेमा रक्तनलीहरुमा असर पुर्‍याइ प्यारालाइसिससम्म हुने खतरा रहन्छ। 

सिल्भर रङ

हिजोआज होली खेल्न प्रयोग गरिने चाँदी जस्तो देखिने रङमा क्यान्सर लाग्ने घातक तत्व हुने भएकाले यस्तो रङ छालाका लागि धेरै नै हानिकारक हुन्छ।  

कसरी बच्ने? 

बजारमा पाइने धेरैजसो रङहरुमा हाम्रो शरीरलाई बढी असर गर्ने खालका रसायनहरु रहेका हुन्छन्। त्यसैले सकेसम्म आर्गानिक रङहरु नै प्रयोग गर्नुपर्छ। रङहरु किन्दा अलि नरम खालको छनोट गर्नुपर्छ।

रङ लगाउनु अगाडि राम्रोसँग मोइस्चराइजर क्रिम लगाउनुपर्छ। जसले गर्दा छाला चिल्लो भएकै कारण रगंहरुले छालामा त्यति असर गर्न पाउँदैन। यसका साथै रङ दलेपछि लामो समयसम्म राख्नु हुदैन। रङ लागएको आधादेखि एक घन्टाभित्रमा पखाल्नुपर्छ। चिल्लोयुक्त साबुन वा फेसवासहरुले रङ पखाल्ने गर्नुपर्छ।

रसायनयुक्त रङहरुले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। जसले गर्दा रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ। 

छालारोग विशेषज्ञ डा. लिलन खतिवडासँग गरिएको कुराकानीमा आधारित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.