|

डडेल्धुरा : यहाँका अधिकांश युवाहरू बेरोजगार छन्। ती बेरोजगार युवाहरूको रोजीरोटी भारतमा गएर चल्ने गर्दछ। युवाहरू रोजगारीको सिलसिलामा भारत जान थालेपछि यहाँका बस्तीहरूमा वृद्धवृद्धा तथा बालबालिकाहरू मात्रै हुन्छन्।

एसइइ दिएर यहाँका युवाहरू रोजगारीको खोजिमा भारततिर हानिन्छन्। दशैंतिहारका बेलामात्रै घर फर्किने गर्छन्‌। विदेशमा सीप स्वदेश आएर सदुपयोग गदैनन्। तर, कतिपय युवाहरू यस्ता पनि छन्-जसले विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गरिरहेका छन्। आफूजस्तै धेरै युवाहरूलाई रोजगारीसमेत दिइरहेका छन्। यसैको एक गतिलो उदाहरण हुन् : डडेल्धुराको अजयमेरू गाउँपालिका–३ गुनपालका भानबहादुर मल्ल।​

मल्ल २०६१ सालमा रोजगारीका लागि भारत गएका थिए। परिवार पाल्न र गाउँमा घर चलाउन भारत पसेका उनी १५ वर्ष बसेपछि घर फर्किएका छन्। उनी गत वर्ष मात्रै स्वदेश फर्किएका छन्। भारतमा छँदा उनी मोटरसाइकलको कम्पनीमा काम गर्थे। मोटरसाइकलसँगै उनले त्यहाँ छँदा गब्यधूपबनाउन पनि सिके।

भारतमा हुँदा सिकेको सीप आफ्नै ठाउँमा प्रयोग गर्नुपर्छ र आफ्नै गाउँ-ठाउँमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएका उनी आजभोली आफ्नै गाउँमा गब्यधूप बनाउँदै छन्। भारतमा हुँदा विभिन्न साधुसन्तहरूको संगत गरेका मल्ललाई पञ्चगब्य (गाईको गोबर, गौत, घिउ, दही, दूध) र विभिन्न जडिबुटी सम्बन्धी ज्ञान समेत प्राप्त भएको छ। 

हरियाणाको गूडगाउँमा कार्यस्थल बनाएका उनी भारतीय ‘गौ क्रान्ती’मन्चको सदस्य समेत भए। हिन्दु धर्मप्रतिको आस्थाका कारणले पनि होला : उनी गाईप्रति सद्भाव राख्थे। गाईबाट प्राप्त हुने चीजबस्तुका फाइदाबारे उनले त्यहाँ छँदा जान्ने अवसर पाए। विदेशमा सिकेको सीप उनी आजभोलि गाउँघरमै उपयोग गर्दैछन्।

पछिल्लो समय मल्लको दैनिकी नै गब्यधूप बनाउनु हो। एकाबिहानै सुरू हुने उनको यो काम साँझसम्म निरन्तर रूपमा चलिरहन्छ। उनी आफूले नेपालमै पहिलो पटक गब्यधूप बनाउनसुरू गरेको बताउँछन्। अहिले उनलाई गब्यधूपबनाउँनभ्याइनभ्याइछ।

भारतीय कम्पनीमा काम गरेबापत उनको कमाइ राम्रै थियो। त्यहाँ छँदा उनले नेपाली ३२ हजार रुपैयाँ मासिक रूपमा कमाउने गरेका थिए। भारतमा राम्रै कमाई भएपनि उनलाई त्यहाँ कामगर्ने मन पटक्कै थिएन।

मालिकले हेप्ने होच्याउने गर्दा उनलाई असह्य हुन्थ्यो। तर, पनि सहनु पर्ने उनको रहर नभएर बाध्यता थियो। बिरानो देश आफ्नो भन्ने कोही थिएनन्। ज्यानको पनि जोखिम नै हुन्थ्यो। केही भनिहालौँ भनेपनि घर परिवारको चिन्ता लाग्थ्यो।

उनले भारत गएको ६/७ वर्षपछि गब्यधूप बनाउन सिकिसकेका थिए। बिदामा घर आएको बेला उनी घरको लागि धूप बनाउँथे। आफूले बनाएको धूप गाउँका अन्य साथीभाईलाई समेत दिन्थे। गत वर्ष उनले आफूले बनाएको धूप अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’लाई दिए।

अध्यक्षको मुखमा उनले धूप बालेर समेत देखाए। उनले बनाएको धूप अध्यक्ष भट्टलाई मन परेछ। उनले मल्लाईआफ्नै ठाउँमा धूपबनाउनआग्रह गरे। आफूले सक्दो सहयोग गर्ने आस्वासनगाउँपालिका अध्यक्षबाट पाएपछि उनले भारतको रोजगारी छोडेर आफ्नै ठाउँमा गब्यधूपबनाउन अग्रसर भए। र, अहिले धूपबनाइरहेका छन्।

के हो गब्यधूप ?

गब्यधूप अर्थात गाईको गोबर, घिउ, गौत, जौ, तिल, तुलसी, गुग्गल, तीतेपाती, जटामसी, धूपजडी, नरपाते धूप, देवदार, कपुर, बोझो, सिम्मे र काउलो तथा विभिन्न जडीबुटीबाट बनेको धूप हो।

गाई पालन गरी व्यवसायिक रूपमा गब्यधूप बनाउन थालेको मल्ल बताउँछन्। गब्यधूप स्वास्थ्यको हिसाबले निकै फाइदाजनक रहेको मल्लको भनाइ छ।

यो धूप विभिन्न धार्मिक कार्यक्रममा समेत प्रयोग गर्न सकिन्छ। पवित्र रूपमा लिइने गब्यधूप मठ मन्दिर, पितृ कार्य, विवाह, व्रत, पूजाकोठा, जन्मदिन तथा विभिन्न शुभकार्यहरूमा अतिउत्तम छ,’ उनले भने।

मल्लले गाईको गोबरले विभिन्न भाइरसहरू मार्ने, घिउले अक्सिजन प्रदान गर्ने, जटामसीले दिमागमा ट्यूमर बन्न नदिने, देवदारले घरको कोठामा धमिरा लाग्न नदिने बताए। जौ, तिल, तुलसी, गुग्गल, तीतेपाती, सिम्मे, बोझो, गहुँत आदिले घरभित्र सकारात्मक ऊर्जा दिने गरेको समेत उनी बताउँछन्।

उपकारण नहुँदा हातले बनाउनुपर्ने बाध्यता

घरेलु तथा गाउँपालिकामा दर्ता गरेर धूप बनाउने उद्योगको सुरुवात गरेका उनले थोरै लगानी गरेर बजारमा उत्पादन ल्याइसकेका छन्। बजारमा थोरै मात्रामा धूप पठाएपनि राम्रो प्रतिक्रिया पाएको उनले सुनाए।

‘बजाबाट राम्रो प्रतिक्रिया पाइरहेको छु। तर, मसँग धूप बनाउने कुनै उपकरण छैनन्। गब्यधूपमा प्रयोग हुने सबै जडिबुटीको धुलो बनाई हातले नै धूप बनाउन थालेको छु,’ उनले भने, ‘अहिले हामी परिवारका सदस्यमात्रै धूप बनाउँछौं, बजारमा माग बढिरहेको छ। अब मेसिन ल्याएर थुप्रैलाई रोजगारी दिने उदेश्य छ।’ 

व्यवसायिक रूपमा धूप र गड्यौला मल उत्पादन गर्न आफूले व्यवसायिक फर्म समेत दर्ता गरेको उनी बताउँछन्। कोरोनाका कारण भारतबाट मेसिन ल्याउन समस्या भइरहेकाले धूप उद्योगलाई विस्तार गर्न समस्या भइरहेको उनको भनाइ छ।

‘धूप बनाउनका लागि आवश्यक पर्ने कतिपय सामाग्री उच्चहिमाली भेगमा मात्रै पाइन्छ, उताबाट मगाउनुपर्ने भएकोले कोरोनाका कारण समस्या भएको छ, अहिले हिमालतिर बस्ने साथीहरूले सहयोग गर्दै आएका छन्,’ उनले भने।

‘गाउँपालिकाले प्रोत्साहन गर्छ’

अहिले डडेल्धुराका स्थानीय तहले युवा लक्षित कार्यक्रम ल्याइरहेका छन्। विदेशमा सिकेको सीप आफ्नै ठाउँमा प्रयोग गरिरहेका मल्ललाई उनको गाउँपालिका अजयमेरूले सहयोग गर्ने भएको छ।

‘हामीहरू बेरोजगार युवाहरूका लागि युवालक्षित कार्यक्रम सञ्चालनमा ल्याउँदै छौँ। विदेश गएका युवा आफैँ आएर गाउँ-ठाउँमा काम गरिरहेको खबर सुन्नु हाम्रो लागि खुशीको खबर हो।’ गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले भने, ‘गाउँपालिकामा स्थापना भएका साना उद्योगलाई हामी प्रोत्साहन गर्छौं।’

मल्लले गाउँस्तरमा राम्रो कामको सुरुवात गरेको बताउँदै उनले बजार व्यवस्थापनमा सहयोग गरिरहेको बताए। अध्यक्ष भट्टले उनलाई उद्योग विस्तारका लागि समेत सामग्री सहयोग गर्ने बताए।

युवालाई सुझाव

अहिले दिनप्रतिदिन युवाहरू विदेश जाने क्रम चलिरहेको छ। तर, मल्ल भने युवाहरूलाई विदेश नजान आग्रह गर्छन्‌। विदेश गएपनि सीप सिकेर आफ्नै ठाउँमा काम गर्नुपर्ने उनको सुझाव छ। आफू पनि बेरोजगार भएर विदेश गएको बताउँदै उनले विदेश जानुभन्दा आफ्नै ठाउँमा काम गर्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.