|

काठमाडौं : प्रहरीले काठमाडौंमा गुण्डागर्दीमा संलग्न रहेका १ सय ६१ जनालाई चार श्रेणीमा विभाजन गरेको छ। आपराधिक गतिविधिलाई नियन्त्रणमा राख्न गुण्डागर्दीमा संलग्नहरुको श्रेणी विभाजन गरेर निगरानीमा राखेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले बताए।

‘हामीले गुण्डागर्दीको साथै अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि पनि एक सय ६१ जना पहिचान गरेर निगरानीमा राखेका छौं’, उनले भने ‘यसमा नाम चलेका गुण्डादेखि भर्खरै फाट्टफुट्ट रुपमा गुण्डागर्दी गर्न लागेकाहरु छन्।’ पटक पटक जेल परेकाहरु पनि सुचीमा राखेर निगरानीमा राखेको उनले जानकारी दिए।

महानगरीय अपराध महाशाखासँगको सहकार्यमा परिसरले यसअघि पनि मुद्दा भएका ३० जनालाई भने पक्राउ गरिसकिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाला जोशीले जानकारी दिए।

समय सरल छ भनेर टाउको उठाउन खोजेमा प्रहरी पनि सक्रिय छ भन्ने जानकारी दिन पनि यो अभियान सुरु गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले बताए। ‘राजधानीमा प्रहरी प्रमुख परिवर्तन भएपछि यस्ता तत्वहरु सल्बलाउने गर्दछन्, त्यसैले पनि हामीले संयुक्त रुपमा यो अभियान शुरु गरेका हौं’ उनले भने।

यसैगरी काठमाडौं प्रहरीले अवैध रुपमा जुवातास खेललाई नियन्त्रणमा लिन पनि प्रहरीले अभियान चलाएको एसएसपी जोशीले जानकारी दिए। उनले काठमाडौंका विभिन्न १२ स्थानमा छापा मारेर १३ लाख सात हजार आठ सय २५ रुपैयाँ बरामद गरेको छ।

त्यस्तै राजधानीका विभिन्न ३६ स्थानमा चोरी गर्ने ६४ जनालाई पक्राउ गरी छ लाख सात हजार पाँच सय रुपैयाँ बरामद गरेको पनि एसएसपी जोशीले जानकारी दिए। उनले अवैध रुपमा बिक्री गर्दै आएको मदिरा पनि पाँच हजार लिटर बरामद गरेर नष्ट गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.