|

  • दिपेन्द्र शर्मा

जाजरकोट : सदरमुकाम खलंगाको बोहरागाउ नजिकैको भीरबाट यात्रु बस खस्दा २० जनाको मृत्यु भएको छ। दुर्घटनामा ४१ जना घाइते भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए। 

सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिममा पर्ने खारा बजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट खण्डको भेरीमालीका नगरपालिका ४  बोहरागाउ तल्लो मोडबाट २ सय मीटर तल पासागाड खोलामा खसेको हो।

खलंगाबाट बेलुकी ४ बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातायात व्यवसायी  समितिको उक्त बसमा ५० भन्दाबढी यात्रु सवार थिए। घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमीटरको दुरीमा पर्छ।

घटनास्थलबाट २० जनाको शव निकालेको जाजरकोट प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए। मृतकको संख्या बढ्न सक्ने तथा मृतक कसैको पनि सनाखत हुन नसकेको डिएसपी रिमालले बताए।

 नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगायतले दुर्घटनामा परेकाहरुको उद्धार गरीरहेका छन्। क्षमता भन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्र बेगमा गाडी गुड्नु दुर्घटनाको प्रमुख कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.