|

  • दिपेन्द्र शर्मा 

जाजरकोट : जिल्लामा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए।

 उनले मृतकमध्ये लहुँ ४ का रामबहादुर बस्नेत, भेरीमालिका ४, बोहरागाउका नवीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, सर्मीला सुनार, १० का सन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ हिउसा गिरी, साल्मा ५ का नन्दलाल जैसी, सीमा ९ का मदन पुन, मजकोट ७ का दले तिरुवा, दशेरा २ का मनीराम जैसी, १ का दिलबहादुर बुढा,  चौरीजहारी ४, रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बुढाको मात्र सनाखत भएको जानकारी दिए। बस दुर्घटनामा मृत्यु भएकामध्ये १७ जनाको घटनास्थलमै तथा ७ जनाको उपचार क्रममा मृत्यु भएको उनले जानकारी दिए।

जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेका २८ जना गम्भीर घाइतेलाई थप उपचारका लागी रुकुमको चौरजहारी विमास्थलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगंज लगिएको उनले बताए। सामान्य घाइते भएका ९ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ। 

सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिममा पर्ने खारा बजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट खण्डको भेरीमालीका नगरपालिका ४  बोहरागाउ तल्लो मोडबाट २ सय मीटर तल पासागाड खोलामा बिहीबार साँझ खसेको थियो। घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमीटरको दुरीमा पर्छ। दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगायतले घाइतेहरुको उद्धार गरेका थिए।

घाइतेका आफन्त आक्रोशित

घटना घटेको ४ घण्टा बित्दा समेत गम्भीर घाइतलाई उपचारको लागि जिल्ला बाहिर नलगेका कारण घाइतेका आफन्त आक्रोशित बनेका छन्।  सम्बन्धित निकायले हेलिकप्टर पठाउन ढिला गरेकोले गम्भीर घाइतेको जाजरकोट अस्पतालमा मृत्यु भएको स्थानीय चन्द्र प्रकाश खत्रीको आरोप छ।

गम्भीर घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागि नेपालगंजतर्फ लैजाने भने पनि बिहीबार राति १० बजेसम्म हेलिप्कोटर उपलब्ध नभएको खत्रीले बताए।

प्रहरीका अनुसार खलंगाबाट बेलुकी ४ बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातायात व्यवसायी  समितिको उक्त बसमा ५० भन्दा बढी यात्रु सवार थिए। क्षमता भन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्र बेगमा गाडी गुड्नु दुर्घटनाको प्रमुख कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.