वामदेवनिकट थिए, केन्द्रको फोनसँगै फेरि डराए

|

धनगढी : बझाङबाट निर्वाचित विघटित प्रतिनिधिसभाका सांसद भैरवबहादुर सिंह पुस १२ गते काठमाडौंबाट बझाङ पुगे। प्रचण्ड–नेपाल समूहले हिजो मंगलबार चैनपुरमा हुने विरोधसभालाई सम्बोधन गर्न बझाङ पुगेका थिए। सिंह पुस १३ गते प्रचण्ड–नेपाल समूहले नै आयोजना गरेको जिल्लाको विस्तारित बैठकमा समेत सहभागी भए।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सह–इन्चार्ज भानुभक्त जैशी, केन्द्रीय सदस्य देवराज रेग्मी, प्रदेश सभा सदस्य देवकी मल्ल लगायतका नेताहरू सहभागी रहेको बैठकमा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरे।

उनले ओलीले चालेका कदम संविधानविरोधी, पार्टी एकताको मर्मविपरीत र जनभावनाविपरीत भएको भन्दै जिल्लाका नेता कार्यकर्तालाई प्रतिकार, विरोधमा उत्रिन आह्वान गरे। सिंहले बैठकमा प्रधानमन्त्री ओलीले संघीय व्यवस्था र देशलाई नै बर्बाद पार्न खोजेको आरोपसमेत लगाए।

बैठक सकाएर केन्द्रीय सदस्य देवराज रेग्मीसँगै चैनपुरको एक गेष्ट हाउसमा सुतेका सांसद सिंह मंगलबार बिहान एकाएक गायव भए। उनी हिजो चैनपुरमा भएको विरोधसभामा सम्बोधन गर्ने दोस्रो वक्तामा थिए।

चार दिनदेखि सँगसँगै रहेका सिंह एकाएक किन गायव भए भन्ने विषयमा सँगै सुतेका रेग्मीसमेत अनभिज्ञ छन्। ‘छुट्टिने बेला एकचोटि पनि यो काममा जाँदैछु भन्नुभएन, किन त्यसरी निस्किनुभयो अहिलेसम्म जवाफ पाउन सकेको छैन, उहाँको दुवै फोन अफ छ’ रेग्मीले भने। 

‘काठमाडौंबाट प्लेनमा धनगढी र धनगढीबाट बझाङसम्‍म सँगै आयौँ, उहाँले काठमाडौं छोडेपछि धेरै नै फोनहरु आउन थाले, यात्राकै क्रममा मलाईसमेत भन्नुभयो, यता आएपछि धेरै फोन आउन थाले के गर्ने होला?’

आएका फोनहरुको बेवास्ता गर्दै सांसद सिंह प्रचण्ड–नेपाल समूहले आयोजना गरेको जिल्लाको विस्तारित बैठकमा सहभागी भएका सांसद सिंह हिजो भएको विरोधसभालाई पनि सम्बोधन गर्न तीव्र तयारीमा थिए।

रेग्मीले भने, ‘हिजो बिहान उठ्नेबित्तिकै उहाँले भन्नुभयो मेरो त राति फोन आयो कमरेड के गर्ने होला? फोन आइरहन्छन् छोड्दिनुस् बरु चिया खान जाऊँ भनेर दुवै जना चिया खान निस्कियौँ। चिया खाइसकेपछि उहाँलाई भेट्न केही मान्छेहरु आए। तपाईं भेटघाट गर्नुस् म अरू नेताहरुलाई भेट्न जान्छु भनेर एकछिन् निस्किए।’

जिल्लाको पार्टी कार्यालयनजिक भानुभक्त जैशी र जिल्लाका अध्यक्ष मीनबहादुर कुँवर हामी बसिरहेका थियौँ, भानुजीले भैरवजीलाई पनि बोलाउनुस् भनेपछि उहाँको खोजी सुरु भयो। फोन अफ रहेछ। यसो खोजी गर्दै जाँदा उहाँ त सम्बोधन कार्यक्रम छोडेर झानाना भन्दा अगाडि गइसक्नुभएछ।’

विरोध कार्यक्रमलाई छोडेर एकाएक सम्पर्कविहीन भएका सांसद सिंह जिल्लामा कुनै पनि नेताको सम्पर्कमा आएका छैनन्।

थाहा खबरले सांसद सिंहलाई सम्पर्क गर्दा आफू अहिले जिल्लाको बुङगल नगरपालिकामा रहेको बताएका छन्। ‘कालङ्गा हाइड्रोपावरको काम विशेषले बुङगल गएको हुँ म कसैलाई असहयोग गर्ने किसिमले, छोडेर भागेको हैन।’

उनले भने, ‘हाइड्रोको जरुरी मिटिङ भएकोले आएको हुँ, कोणसभा गर्ने कार्यक्रम थियो, बोल्ने वक्ताहरु छँदै छन् भनेर यता आएँ। आजै काम सकेर धनगढी फर्किने तयारीमा छु।’

तपाईंले प्रचण्ड–नेपाल समूह छोडेर ओली लाइनतिर गएको भन्ने हल्ला छ नि? भन्ने प्रश्नमा उनले भने, ‘प्रचण्ड–नेपाल लाइन, केपी लाइन भन्ने छैन। म पार्टी एकताको पक्षमा छु, फुटेर हैन, जुटेर जानुपर्छ भन्ने मेरो धारणा हो। मैले प्रचण्ड–नेपाल लाइन छोडेर प्रधानमन्त्री केपी ओलीतर्फ गएको भन्ने कुरा झुटो हो। माननीयको हिसाबले बोलाएको कारणले यहाँ आएको हुँ। मैले कुनै लाइन छोडेको छैन।’ 

सांसद सिंह नेकपा उपाध्यक्ष वामदेव गौतमनिकट मानिन्छन्। अहिले नेकपामा दुई पक्षबीच विवाद चर्किएका बेला वामदेव न्युटल अवस्थामा छन्। वामदेव न्युटल भएकै कारण सांसद सिंहले कार्यक्रममा सम्बोधन गर्न नचाहेर भागेको जिल्लाका नेताहरुले बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.