तर स्थानीयले रोजगारी नपाएको गुनासो
तर स्थानीयले रोजगारी नपाएको गुनासो
म्याग्दी : पर्यटकीय र लाहुरेको जिल्ला भनेर चिनिने हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय केही जलविद्युत् आयोजना निर्माणको गतिले तीव्रता पाएको छ।
म्याग्दी, रघुगंगा,नारच्याङलगायत आधा दर्जन बढी खोला ऊर्जा खोलामा परिणत हुन थालेका छन्। यिनै खोलाबाट अहिले ३ सय ४० मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्।
म्याग्दीमा राहुघाटबाट १४६.८,अन्नपूर्ण गाउँपालिकाको नारच्याङबाट १५७ र धवलागिरि गाउँपालिकाको नाउरबाट ३७ गरी ३४०.८ मेगावाट विद्युत् उत्पादन हुनेछ।
प्रसारण लाइन, सबस्टेसन निर्माण र सडकको पहुँच विस्तार तथा ऊर्जाको अन्तर्राष्ट्रिय बजार खोजी हुन थालेपछि वर्षौंअघि सर्वेक्षण गरिएका जलविद्युत् आयोजनाले गति लिन थालेका हुन्।
विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाटका चार वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन्। राहुघाट र सहायक नदीहरुमा धमाधम आयोजना बन्न थालेपछि रघुगंगा गाउँपालिका जलविद्युत् ‘हब’ बन्न थालेको हो।
त्यसैगरी विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन्।
नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। त्यस्तै ६२ मेगावाटको नीलगिरि क्यास्केट र १० मेगावाटको रेलेखोला आयोजनाले पनि वातावरणीय मूल्यांनको चरण पार गरेर निर्माणको अवस्थामा प्रवेश गरेका छन्।
त्यसैगरी म्याग्दीका उद्योगी, व्यापारी र प्रवासीको पहलमा २०७१ सालदेखि निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भसकेका छन्।
त्यसैगरी रोबस्ट इनर्जी लिमिटेडले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना र ३८ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना पनि बन्दै छन्।
५.५ मेगावाट क्षमताको १ वटा आयोजनाले निर्माणको अनुमति मागेको छ। २४.६५ मेगावाट क्षमताका ३ वटा आयोजना सर्वेक्षण क्रममा छन्। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट, ३७ मेगावाट क्षमताको राहुघाट मंगले, जलविद्युत् आयोजनाको बाँध, सुरुङ र विद्युतगृहले एकैसाथ निर्माण सुरु गरेको तुदी पावरले ४८.५ मेगावाट क्षमताको अर्को अपर राहुघाट निर्माण प्रक्रिया सुरु गरेका छन्।
राहुघाटको सहायक बगरखोलामा ५.५ मेगावाट क्षमताको जलविद्युत् आयोजना जेनेरेशन लाइसेन्स प्राप्तिको प्रक्रियामा छ। ४.७५ मेगावाट क्षमताको स्यानोखोला, ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको चमणमा छन्।
संयुक्त ऊर्जा प्रालीले कुइनेमंगलेमा २१.३० मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ। संयुक्त ऊर्जा प्रालिका प्रतिनिधि अनुरोध अधिकारीका अनुसार पहिलो चरणमा आवासको काम सुरु गरिएको र यसको निर्माण सम्पन्न गर्ने समय अवधिमा उत्पादन गर्ने बताए। ‘हामीले यसको निर्माण सम्पन्न गर्न बाँकी कामको समेत ठेक्का लगाइसकेका छौँ,' अब छिट्टै अन्य काम पनी सुरु गछौँ।
स्थानीय तह, प्रदेश र संघीय सरकारको तर्फबाट पहुँचमार्ग निर्माणमा सघाउनुका साथै सहजीकरण गरेर काम गर्ने वातावरण बनाएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन्।
राहुघाट र सहायक नदीहरुमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हुँदै कुइनेमंगले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र संघीय सरकारले जलविद्युत् आयोजनाहरुसँग साझेदारी गरेका छन्।
हामीले पालिकाको विकासमा जलविद्युत् आयोजनासँग पनि साझेदारी गरेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘अब रहुघाट नदी ऊर्जा खोलामा परिणत हुँदै छ, यी निर्माण सुरु गरेका र अनुमति पाएका सबै आयोजनाले निर्माण सम्पन्न गरे भने पालिकाको अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ’, यसका लागि हामीले पनि ताकेता गरेका छौँ।
यता जलविद्युत् आयोजना भित्रिएसँगै राहुघाट कोरिडोरका आसवासका बस्तीमा अन्य विकास गतिविधिले तीव्रता पाउनुका साथै तत्कालीन हिसाबले रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने भए पनि रघुगंगामा बन्ने आयोजनाले स्थानीयलाई रोजगारीको अवसर नदिएको स्थानीयले बताएका छन्।
‘यहाँ यति धेरै आयोजना निर्माणको भइरहेका छन्, निर्माण हुने प्रक्रियामा छन्, तर यहाँका स्थानीय युवाले सोचेजस्तो रोजगारीका अवसर पाएका छैनन्’, स्थानीय युवा मेजन थापाले भने, 'गाउँको स्वास्थ्य, शिक्षा, सडकलगायतमा केही आयोजनाले सहयोग तर गरेका छन्, तर हामीले जति सोचेका थियाैं, त्यति भएको छैन।' उनले भने, ‘अहिलेको अवस्थामा गाउँका युवा बेरोजगार छन्, तर यही निर्माण हुने विकास निर्माणमा रोजगारी पाइएन।’
त्यसैगरी धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ। हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ। हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
आयोजनाले करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरिरहेको छ। सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ। म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युतगृह म्याग्दीखोला र मुदीखोलाभन्दा एक किलोमिटरमाथि प्रस्ताव गरिएको छ।
तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ। आउटलेटबाट विद्युतगृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।
उत्पादित् विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ। धवलागिरि गाउँपालिका–४ का वडासदस्य केशरमान पुनले मालिका गाउँपालिका–७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेसन निर्माणको तयारी भएसँगै अपर म्याग्दीलगायत जलविद्युत् आयोजनाले निर्माणको तयारी थालेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।