एउटै वडामा २० लाख अनुदान, ५० जना कृषक छनोट

|

बर्दिया : विगतका वर्षहरूमा गाउँ तथा नगरपालिकाहरूबाट कृषिमा स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानका कार्यक्रमहरू ल्याइयो। तर त्यस्ता कार्यक्रमहरूबाट टाठा-बाठाले नै लाभ लिए। 

टाठाबाठा स्थानीयले अनुदान लिन फर्म भर्ने, तर काम नगर्ने गर्दा स्थानीय पालिकाको लक्ष्य नै अलपत्र परिरहेको छ। पालिकाले अनुदान दिने समयमा छिमेकीको गोठबाट भैँसी ल्याएर गोठमा बाँध्ने र रकम लिने काम समेत बर्दियामा गरेको पाइयो। राज्यबाट प्रवाहित सहायता दुरूपयोग रोक्न अहिले वास्तविक किसान पहिचान गरी अनुदान दिन थालिएको छ। 

नगरपालिकाबाट वास्तविक किसानको पहिचान गरी इच्छुक किसानलाई अनुदान दिन थालिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले बताए।

व्यवसायिक रूपमा कृषि तथा पशुपालनमा जोड दिइरहेका बर्दियाका स्थानीय तहहरूले अहिले अहिले कृषि तथा पशुपालनका पकेट क्षेत्रहरू तयार गर्न थालेका छन्। एक गाउँ एक उत्पादनलाई प्राथामिकतामा राखेर अघि बढेको पालिका प्रमुखहरूको भनाई छ। 

बर्दियाको ठाकुरबाबा नगरपालिकाले कोरोना पछि रोजगारी गुमाएर गाउँ फर्केका युवाहरूलाई लक्षित गरेर कृषि तथा पशुपालनका लागि झण्डै ६ करोड रुपैयाँ  बढी बजेट विनियोजन गरेको छ। नगरको लगानी खेर जान नदिनका लागि पालिका स्तरबाट निरन्तर अनुगमन तथा निरीक्षण गरिने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताएका छन्। 

एउटै वडामा २० लाख अनुदान, ५० जना कृषक छनोट 

ठाकुरबाबा नगरपालिकाले बंगुर पालनका लागि वडा नम्बर २ का केही गाउँहरू छनोट गरेको छ। वडा नम्बर २ लाई बंगुर पकेट क्षेत्रको रूपमा अघि बढाउने योजना रहेको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिराम थारूले बताए।

त्यसका लागि नगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले पछिल्लो समय रोजगारी गुमाएर गाउँ फर्केकाहरूलाई लक्षित गरेर व्यवसायिक बनाउने तयारी गरिरहेको छ। यो जिल्लामै पहिलो प्रयास भएको जनाइएको छ। 

विशेष गरी बंगुर पालनमा नयाँ किसानलाई आकर्षित गर्नेगरी नगरले योजना बनाएको छ। एकै वडाका ५० जना कृषहरूलाई बंगुर पालनका लागि छनोट गरिएको छ। ५० जना कृषकहरू ५ वटा समुहमा आवद्ध भएका छन्। कृषकहरूलाई व्यवसायिक बनाएमा आर्थिक समृद्धि हासिल गर्न सकिने जनाइएको छ। 

बर्दिया विशेष गरी कृषि पशुपालन र पर्यटनका लागि प्रसिद्ध छ। त्यसकारणले पनि बर्दियामा स्थानीय पालिकाहरूले कृषि तथा पर्यटनलाई नै विशेष महत्व दिएका जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.