पानी नहुँदा पढाइ छाडेर घरै फर्किन्छन् विद्यार्थी

|

डडेल्धुरा : जिल्लाको भागेश्वर गाउँपालिका–२ लेकुडामा रहेको भागेश्वर आधारभूत विद्यालयमा खानेपानीको चरम अभाव भएको छ। विद्यालयमा धारा भए पनि पानी नआउँदा अध्ययनरत बालबालिकाले पानीसमेत पिउन पाएका छैनन्।  

विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन्। बोतलको पानी सकिएपछि आलो–पालोमा बसेर धारामा नै मुख लगाइ पिउँछन्।

धारामा खानेपानी नआउँदा पानी खोज्दै भौतारिनुपरेको विद्यार्थीहरू बताउँछन्। पढाइ भन्दा पनि पानी प्यास मेटाउनकै लागि पिरलो हुने गरेको एक जना विद्यार्थी भावना भट्टले बताइन्। 

‘छुट्टी भएको समयमा घरमा गएर पानी खानुपर्दछ। शौचालयमा पानी नहुँदा खुला दिसा गर्नुपर्ने अवस्था छ। धारामा रहेको पानी एकैछिनमा सकिन्छ, खोलाबाट बोकेर ल्याउनुपर्छ,’ उनले भनिन्।

गत चैतदेखि पठनपाठन ठप्प रहेको विद्यालयमा पठनपाठन सुरु भएको छ। विद्यालयमा आउँदा सुरक्षा सावधानी अपनाएर आउनु भन्ने विद्यालयको निर्देशन छ। तर, पानी नहुँदा धारामा मुख लगाएर खाँदा कोरोनाको जोखिम बढेको छ।

गाउँपालिका तथा सरोकारवाला पक्षले ध्यान नदिँदा खानेपानीको चरम अभाव देखिएको विद्यालयले जनाएको छ। खानेपानी उपभोक्ता समिति र गाउँपालिकाको लापरबाहीका कारणले विद्यालयमा खानेपानीको समस्या समाधान गर्न नसकिएको हो। 

विद्यालयमा १५० भन्दा बढी विद्यार्थी रहेका विद्यालयले जनाएको छ। विद्यालयमा एउटा मात्रै धारा भएको अभिभावक रामदत्त जोशीले बताए। ‘एउटा मात्रै धारा छ, त्यो पनि बालमैत्री छैन। ससाना बालबालिका धारामा झुण्डियर पानी पिउँछन्। दुर्घटनाको जोखिमसमेत बढेको छ,’ उनले भने, ‘धारामा पानी कम आउँछ। कक्षाकोठामा पठनपाठन भइरहेको हुन्छ। पानी प्यासले बालबालिका धारामा मुख लगाएर बसेका हुन्छन्।’

पानी अभावमा विद्यालयमा रहेका शौचालयसमेत प्रयोगमा आउन नसकेको प्रधानाध्यापक राजेन्द्रप्रसाद पाण्डेयले बताए। विद्यार्थीहरू शौचालयमा पानी नभएपछि शौच गर्न कोही घर तथा कोही नजिकैको झाडीमा पस्ने गरेका उनको भनाइ छ।

‘धेरै पटक गाउँपालिकालाई आग्रह गर्दा पनी सुनुवाइ भएन। धारा निर्माण भएको ५ वर्ष भइसकेको छ। पानीको मुहान धेरै टाढा छ। पानीका ट्यांकीहरू समेत चुहिन थालिसके, ’उनले भने, ‘भोगौलिक हिसाबले दुर्गम भएका कारण सरकार र दाताको नजर विद्यालयसम्म पर्न सकेन। जसको असर विद्यालय र विद्यार्थीमा परेको छ।’

प्रधानाध्यापक पाण्डेयले तिर्खा लागेका बेला विद्यार्थीले पानी खान नजिकैको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताए। पानी खान गएका विद्यार्थी कक्षामा ढिलो आउने गरेकाले पुनः कक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

उक्त समस्या सामाधानका लागि पहल गरिरहेको वडा कार्यालयले जनाएको छ। विद्यालयमा खानेपानी समस्या रहेको र त्यसको समाधानका लागि आफूले पहल गरिरहेको वडा नं. २ का अध्यक्ष राजेन्द्र बोहराले बताए।

‘विद्यालयमा खानेपानीको समस्या छ। त्यसका लागि निरन्तर पहल गरिरहेका छु।’ वडाध्यक्ष बोहराले भने, ‘आउँदो गाउँसभाबाट त्यस समस्याको साधान हुनेमा आशावादी छु।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.