भने : 'प्रचण्डलाई अनुदानका मान्छे चाहिएको छ'

|

ओखलढुंगा : सत्तारूढ नेकपा औपचारिक विभाजनतर्फ लागिरहँदा पूर्वमाओवादी नेता तथा पहिलो संविधान सभा सदस्य बालकृष्ण ढुंगेल पार्टी अध्यक्ष केपी शर्मा ओलीका पक्षमा उभिएका छन्‌।

​माओवादी जनयुद्ध तथा नेपाली कम्युनिष्ट आन्दोलन र क्रान्तिलाई पुष्पकमल दाहाल 'प्रचण्ड'ले धोका दिएका भन्दै ढुंगेल ओली पक्षमा खुलेका हुन्। जिल्ला र वरपरका क्षेत्रमा निकै लोकप्रिय रहेका नेता ढुंगेल ओलीका पक्षमा उभिएपछि प्रचण्ड पक्षलाई ठूलो धक्का लागेको विश्लेषण हुन थालेको छ।​

टारकेराबारी पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग समेत खेपेका नेता ढुंगेल यो क्षेत्रमा ज्यूँदो शहीदका रूपमा चर्चित छन्‌। तत्कालीन माओवादीले जनयुद्ध सुरू गरेपछि उनी २०५३ सालमा घरमै बसिरहेका बेला प्रहरी घेरामा परेका थिए। त्यतिबेलै उनीलगायत पुष्कर गौतम र प्रल्हाद गौतमहरु ६ महिना जेल बसेका थिए। प्रल्हाद गौतमलाई पछि राज्यले हत्या गरेको थियो। 

जेलबाट छुटेपछि नेता ढुंगेलले ओखलढुंगाको पश्चिमी भेगमा माओवादी संगठन ब्यापक ढंगले विस्तार गरेका थिए।

२०५५ सालमा श्रेष्ठको हत्या गरेको आरोपमा उनी जेल परेर छुटेका कारण पनि उनले पार्टीको कुनै जिम्मेवारी पाएका थिएनन्। सोही अभियोगमा सजाय पाएका कारण उनले प्रतिनिधिसभाको निर्वाचन लड्न समेत पाएनन्। श्रेष्ठको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन्।

यही आरोपमा सर्वोच्च अदालतले सजाय सुनाए पनि उनलाई पक्राउ नगरेको भन्दै प्रहरीविरुद्ध नै अवहेलनाको रिट दायर भएपछि प्रहरीले उनलाई २०७४ कार्तिकमा पक्राउ गरेको थियो। अदालतको फैसला अनुसार उनी १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्थ्यो।

तर ‘असल चालचलन’ देखाएको भन्दै उनलाई त्यस अगावै छाडिएको थियो। ढुंगेललाई २०७५ को गणतन्त्र दिवसको अवसर पारेर माफी दिइएको थियो। ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर उनी जेलमुक्त भएका थिए।।

पूर्व माओवादी अन्योलमा

सर्वस्वसहित सजाय भोग्दै गर्दा सरकारको सिफारिसमा बाँकी कैद मिनाहा पाएका ढुंगेल पार्टी विभाजनपछि केपी ओली नेतृत्वको नेकपामा लागेका हुन्‌।

​उनी प्रचण्डलाई छाडेर ओली पक्षमा लागेपछि पूर्वमाओवादी कार्यकर्ता अन्योलमा परेका छन्‌।

तत्कालिन माओवादीभित्र दुईलाइन संघर्ष हुँदा पनि ढुंगेल प्रचण्डको पक्षमा उभिएका थिए।

यसो भन्छन् ढुंगेल

पछिल्लो पटक प्रचण्डका कारण सृजित घटनाक्रम र उनले लिएका निर्णय बेठीक, अवैज्ञानिक र अराष्ट्रवादी रहेको ढुंगेलले बताएका छन्। त्यसैले आफूले उनको साथ छाडेको ढुंगेल बताउँछन्‌।

माओवादी आन्दोलनमा आफूले गरेको योगदानको कदर नगरिएको तथा प्रचण्डलाई योगदान दिने नभई अनुदानका मान्छे चाहिएको कारण आफू प्रष्ट ढंगले ओली पक्षमा खुलेको उनले बताए। ढुंगेल नेकपा ओली पक्षले हालै विस्तार गरेको महाधिवेशन आयोजक कमिटीका सदस्य बनेका छन्।

२०६४ को संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित समेत भएका ढुंगेलले जेलबाट छुटेपछि तत्कालिन माओवादी तथा नेकपामा केही जिम्मेवारी पाएका थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.