पहिले कागजले बेरेर लुकाए, अहिले १० हजार गीतमा बजिरहेछन्‌

|

काठमाडौं : गीतको आत्मा नै संगीत हो। मानवीकरण गर्दा संगीतको माधुर्यले सास फेर्छ। फरक-फरक वाद्यवादनको समीकरणले बनेको संगीतमा जब शब्द उनिन्छ : तब बन्छ एउटा गीत।

हामीले सुनिरहेको संगीतको यो समीकरणमा सारंगीको मान महत्वपूर्ण छ। एउटा गीतमा सारंगीको धुन नहुँदा के होला ?संगीतप्रेमीहरू भन्दा हुन्- 'तरकारीमा नुन नलागेजस्तो भयो।'

संगीत क्षेत्र समीकरणमै अडेको छ। तर, वाद्यवादकहरूको मान कहिल्यै देखाइँदैन। गीतकारलाई नै बेपत्ता पारिदिने उत्पादकहरूले सारंगीवादकलाई पनि उसैगरी गुमनाम बनाइदिन्छन्‌। आज हामीले गन्तीमा नरहेका तिनै सारंगीवादकका प्रतिनिधिलाई खोजेका छौं।

गन्धर्व जातिले वर्षौदेखि जोगाइ आएको सारंगी संस्कृति अझै पनि शहरको गल्लीदेखि सुदूर गाउँका पाखा-पखेरामा फक्रिइरहेको छ। झलकमान गन्धर्वजस्ता महान हस्तीहरूको बाटो समात्दै अहिले धेरै युवापुस्ता यसतर्फ आकर्षित छन्। तिनै मध्ये एक हुन्‌ : गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइली।

हालसम्म १० हजारभन्दा बढी गीतमा सारंगीको धुन भरिसकेका रसाइलीको व्यस्तता चर्को छ। प्रसाद फिल्मको लैलैजिन्दगीको के छ र भर, तीन पाते भइदियो, अहिले चर्चामा रहेको 'भन साली'मा पनि रसाइलीले नैसारंगी रेटेका हुन्।

'दिनहुँ १५ वटा भन्दा बढी गीतमा धुन भर्ने गरेको छु। कुन गीत हो भन्ने पनि कहिलेकाहीँ भुलिन्छ। पछि युट्युबतिर देखेपछि यसमा त मैले पनि काम गरेको रहेछु भन्ने लाग्छ', उनी आफ्नो व्यस्ततालाई यसरी बुझाउँछन्‌।

गत आइतबार उनीसँग भेट हुँदा पनि कुनै गीतमा सारंगीको धुन भर्दै थिए। व्यस्तताको ग्राफ उकालो लागेको करिब ५ वर्ष हुन लाग्यो। करिब ३ दर्जन गीतसमेत गाएका उनी आफूलाई गायकभन्दा पनि सारंगीवादकका रूपमा परिचित गराउन खोज्छन्‌। 'रहर मेट्न गीत गाएँ, म गाउन रहर गर्ने मान्छे हुँ, यद्यपी; म आफूलाई सारंगीको साधक भन्‍न रुचाउँछु।'

म्याग्दी स्थायी निवासी रसाइली बाल्यकालदेखि नै गीत गाउन र लेख्न लालायित हुन्थे। गायक बन्ने सपना देखेका उनले सानै हुँदा गाउँ छाडे। 'आखिर किन त? गायक बन्न?'

'होइन!' शुरूवाती प्रश्नको छोटो उत्तर दिँदै उनले आफ्नो अतीतको पोको फुकाउन थाले।

वि.सं. २०५५ तिरको कुरा हो। देशमा माओवादी युद्धको प्रभाव बढ्दै गएको थियो। गाउँदेखि शहरलाई युद्ध सन्नाटाले छोप्दै थियो। त्यसबेला देशभर एउटा हल्ला चल्यो। माओवादीले आफ्नो समुहमा समावेश गर्न गाउँगाउँका विद्यालयबाट विद्यार्थीहरू उठाउने गरेको छ।

अझ विद्रोहका लागि तत्कालिन समयमा विद्रोहीहरूले गाउँलाई नै आधारशिला बनाएका थिए। रसाइलीले पनि बाल्यकालमा माओवादीले गाउँगाउँबाट मान्छेहरू उठाउने गरेको भन्ने हल्ला सुने।

उनी सम्झन्छन्, 'कक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीलाई आफूसँग हिँड्न माओवादीले अनुरोध गर्ने र नमाने उठाएर लैजाने हल्ला त्यसबेला फैलिएको थियो।' उनलाई यो हल्लाले भित्रैसम्म हल्लायो। त्यो बेला माओवादीको शब्द नै डर लाग्ने समयमा झन्‌ उठाएरै लैजाने खबरले आङ सिरिङ्ग बनाउँथ्यो।

गायक बन्ने चाहना राखेका हेमन्तलाई माओवादीको कार्यकर्ता बन्नुपर्ने पीरले सताउन थाल्यो। त्यसपछि उनले गाउँ छोड्ने निर्णय गरे। वि.सं. २०५६ मा गाउँ छाडे।

'म त्यसबेला ६ मा पढ्थेँ, त्यतिखेर फैलिएको हल्लालाई सत्य मान्ने हो भने माओवादीले लैजाने एक सदस्य म पनि थिएँ हुँला। तर, गाउँ छोडेर काठमाडौं आएँ,' यति भन्दै खिस्स हाँसेका उनको अनुहार हेर्दा लाग्यो : उनले माओवादीलाई झुक्याइदिए। होइन, होइन, बरू उनले विद्रोहको भुङ्ग्रोबाट मानिसको जीवन उठाइरहेको मृत्युदूतलाई झुक्याए। 

गाउँ छोडेर शहर पसेपनि संगीत मोहले छाडेन। अरू थप सम्मोहित पार्दै लग्यो। तर, संगीतलाई दिन पर्याप्त समय थिएन। उनी त स्कुले विद्यार्थी न थिए। एकातिर पढाई थियो र अर्को तर्फ गायक बन्ने लक्ष्य थियो। उनलाई पढाईले भन्दा गीत-संगीतले नै तानिरहेको थियो। काठमाडौं आएपछि दशैँमा मात्र गाउँ जान्थे।

२०५९ सालमा उनी दशैँ मान्न गाउँ गएका थिए। गन्धर्व जातीको एक परम्परा छ : घर-घरमा गएर सारंगी बजाउने। उनका गाउँघरमा पनि सारंगी बोकेर गन्धर्वहरू आउँथे। लोक भाकामा मिसिएको सारंगीको धुनले गाउँलेको मन जित्थ्यो। कतिपयले त्यो धुन क्यासेटमा रेकर्ड गर्थे।

रसाइलीका आफन्तले पनि गन्धर्वहरूले बजाएको सारंगीको धुन रेकर्ड गरेका थिए। उनी गाउँ जाँदा उनले ती रेकर्ड सुने। गन्धर्वहरूले बजाएको सारंगीको धुनसँग मोहनी बस्यो। ती धुनले उनको गायक बन्ने सपनालाई छायाँमा पार्‍यो।

काठमाडौं फर्केपछि उनले सारंगी किन्ने पैसाको जोहो गर्नुपर्थ्यो। बहाना खोजे।

घरमा किताब र स्कुलको ड्रेस किन्छु भनेर लिएको पैसा बोकेर उनी सारंगी पसल पुगे। किताब किन्ने पैसा उनले सारंगीमा खन्याए। 'सारंगी किनेको दिन म यो ठमेलबाट बानियाँटारसम्म सारंगी बजाएरै पुगेको थिएँ, त्यो दिन आफूलाई संसारको सबैभन्दा भाग्यमानी ठानेँ', उनी सम्झन्छन्, 'घरमा बुबाआमाले थाहा पाउनुहोला भनेर सारंगीलाई पत्रिकाले बेरेर कोठामा लुकाएँ।'

घरमा कोही नहुँदा उनी सारंगीको तारबाट धुन निकाल्थे। त्यसबेला उनलाई यस्तो लाग्थ्यो : मानौं यति मीठो धुन कुनै नामुद सारंगीवादकले पनि निकाल्न सक्दैन।

समय अघि बढ्दै गयो। छायाँमा परेपनि गायकी सपना पनि बाँकी थियो।

२०६२ सालमा 'काँचो सुन्तला' भन्ने गीत बजारमा ल्याए। गीत हिट त भयो, तर कमाइ चाहिँ खाँदा लगाउँदा नै सकियो। शुरूवाती चरणमा गाउनु र सारंगी बजाउनु उनका लागि सहज थिएन। गाउँघरतिर सारंगी बजाउनेलाई दयाको पात्रको रूपमा हेरिन्थ्यो। परिवारले उनी समाजको अगाडी 'दयाको पात्र होस्'‌ भन्ने चाहँदैन थिए। यद्यपी; परिवारले उनको सपनामाथि कुनै रोकतोक भने लगाएन।

गाउने र बजाउने हुटहुटीका बीच उनलाई आर्थिक पाटोले पोल्न थाल्यो। सँगैका साथीहरू विदेश जान थाले। उनलाई सारंगी र गायनले पेट पाल्न सकिन्छ भन्ने लागेन। उनको आकांक्षाले पनि जापान जाने पखेटा हाल्यो। 

एजेन्टलाई ऋण गरेर पैसा बुझाए। अपसोच, पैसा पाएपछि एजेन्ट बेपत्ता भयो। यस्तो भएपछि जापान पुग्ने आकांक्षाको पखेटा पनि काटियो। उल्टै ऋणको भारीले थिचिए। आर्थिक संकट थपियो।

उनलाई लागेको थियो : 'जापान पुगेपछि काम नपाएपनि सांरगी रेटेर पनि खान्छु।' तर जापान नै जान नपाएपछि त्यताको पाटोमा पूर्णविराम लाग्यो। अहँ ! सारंगीमा चाहिँ लागेन।

सारंगीलाई नै माधयम बनाएर देशभित्रै नै केही गर्ने प्रण लिए। अनि केही गीत गाए, तर चलेन। उप्रान्त दोहोरी साँझमा काम गर्न थाले। गाउनेदेखि वाद्यवादनका सबै बाजा बजाउँथे। त्यतै करिब १० वर्ष काम गरे। भन्छन्, 'नेपाली लोक दोहोरीका क्षेत्रका अब्बल व्यक्तिहरू जन्माउने थलो हो दोहोरी साँझ।'

धेरै सर्जकहरूले जीवनमा एक न एकपटक दोहोरी साँझमा काम गरेकै हुन्छन्‌। दोहोरी साँझ सर्जकका लागि बाँच्ने आधार पनि बनिरहेकै छ। तर दोहोरी साझँको कमाइले मात्र उनको गुजारा सम्भव थिएन।

एकदिन उनको साथी राकेश सोनीसँग भेट भयो। गफगाफ गर्दै जाँदा सारंगीका कुरा भए। अब सारंगीमै व्यवसायिक रूपमा काम गर्ने भन्दै विभिन्न कम्पनीमा डुल्न थाले। 'काम गर्छु' भन्दैमा पाइहाल्ने अवस्था थिएन। उनले हिम्मत हारेनन्।

छुटफुट काम पाउन थाले। आशाको नयाँ किरण पर्न थाल्यो। उनले निकालेको धुनहरू विस्तारै दर्शकले मन पराउन थाले। व्यस्तता दिन दुगुना, रात चौगुनाका दरले  बढ्यो। अचेल आफू सही ठाउँमा आएजस्तो लाग्छ उनलाई। 

दु:ख गरेर पाएको प्रतिफलले खुशी छन् उनी। उनी भन्छन्, 'सायद भाग्यमा नै स्वदेशमै कर्म गर्नुपर्छ भन्ने लेखिएको थियो कि!'

साङ्गीतिक जीवनको यात्रा उनी आफैँले तय गरेका हुन्। परिवारमा उनी मात्र यस क्षेत्रमा रहेका छन्। उनी भन्छन्, 'म आफ्नो संस्कृतिको फेरो समातेर सांगीतिक क्षेत्रमा आएको हुँ। मेरो जीवनको आइडल नै सारंगी हो।' सारंगीलाई नै आफ्नो जीवन मान्छन्। पछिल्लो समय धेरै व्यक्तिहरूको संगतले पनि आफ्नो सफलतामा इटा थपिएको उनी बताउँछन्।

पछिल्लो समय भने उनको गायनलाई पनि दर्शकले मन पराएका छन्। एक वर्षअघि मात्र उनले 'बालापन' बोलको गीत निकाले। यो गीतमा बाल्यकालको चरित्रलाई समावेश गरेका छन्। जुन दर्शकले मन पराइदिए।

उनी भन्छन्, 'म गाउन जन्मिएको होइन भन्ने लागेको थियो, बालापन गीत दर्शकले मन पराइदिनुभयो। अहिले भने सारंगी वादनसँगै गाउने लोभ पनि गरिरहेको छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.